
२७ चैत, काठमाडौं । नेपाल पुलिस क्लबले २०६६ सालमा आयोजना गरेको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा तत्कालीन नम्बर एक विकास श्रेष्ठ क्वार्टरफाइनलमै पराजित भए । विकासले हार्नुभन्दा उनलाई हराउने खेलाडीमा धेरैको नजर थियो ।
उनी थिए, कञ्चनपुरबाट पहिलोपल्ट काठमाडौं आएर राष्ट्रियस्तरको प्रतियोगिता खेलेका दीपेश धामी । राष्ट्रिय च्याम्पियनलाई अन्तिम ८ बाटै घर पठाएका दीपेशको यात्रा सेमिफाइलनलमा रोकियो । तर उनले त्यसबेला नै सोचेका थिए, कुनै दिन शीर्ष खेलाडी बन्नेछु । १३ वर्षपछि दीपेशको त्यो अठोट पूरा भयो ।
‘दुई वर्षअघि पहिलोपल्ट राष्ट्रिय च्याम्पियन बने जत्तिकै खुसी वरीयतामा शीर्ष स्थानमा पुगेपछि पाएको छु,’ दीपेशले अनलाइनखबरसँग खुसी साटे, ‘विकास दाइलाई हराएपछि सुरु भएको मेरो करिअरले अब सार्थकता पाएको छ ।’
ब्याडमिन्टनमा हरेक आधिकारिक प्रतियोगितामा पुरुषतर्फ उपाधि विजेताले १ हजार वरीयता नम्बर पाउँछन् । पहिलो चरणदेखि फाइनलसम्मको फरक–फरक वरीयता अंक निर्धारण गरिएको छ । संघले आयोजना गरेको राष्ट्रिय प्रतियोगितामा अतिरिक्त ५० अंक पाइन्छ । १३ वर्षको करिअरमा यही अंकहरु जोडिएर दीपेशको २८ हजार ८७० अंक पुगेको छ । दोस्रो स्थानमा झरेका रत्नजीतलाई उनले झण्डै १ हजार अंकले पछि पारेका छन् ।
नेपाल ब्याडमिन्टन एकेडेमी र काठमाडौं जिल्ला ब्याडमिण्टन संघले मंसिरमा आयोजना गरेको कर्पोरेट राष्ट्रिय टिम च्याम्पियनसिप ब्याडमिण्टन खेलेपछि शीर्ष वरीयताका रत्नजीत र विकास श्रेष्ठ युएस ओपनका लागि अमेरिका गए । उनीहरु अहिलेसम्म फर्किएका छैनन् ।
घरेलु प्रतियोगितामा रत्नजीतको अनुपस्थिति दीपेशका लागि शीर्ष स्थानमा पुग्न अनुकुल बन्यो । ‘ब्याडमिन्टन खेलेपछि एकपल्ट राष्ट्रिय च्याम्पियन बन्ने र शीर्ष वरीयतामा पुग्ने सपना सबैको हुन्छ,’ दीपेशले भने, ‘यो सफलता मेरो करिअरको कोशेढुंगा नै हो ।’
सफलता पाउन जति कठिन छ, त्यसमा टिकिराख्नु त्यति नै चुनौतीपूर्ण छ । यो बुझेका दीपेश अबको चुनौतीका लागि तयार छन् । २५ वर्षीय दीपेशले थपे, ‘जुनसुकै समयमा आफूलाई तयार राख्नुपर्ने हुन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा राम्रो गर्न शारीरिक र मानसिक रुपमा आफूलाई फिट राख्ने प्रयास गर्नेछु ।’
दक्षिण एसियाली खेलकुदमा पुरुष एकलतर्फ नेपालले अहिलेसम्म पाएको ठूलो सफलता कांस्य पदक हो । सन् २०१५ मा पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका दीपेशले १२औं दक्षिण एसियाली खेलकुदमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । नेपालमै भएको १३औं सागमा उनीसहितको नेपाल टिमले कांस्य पदक जितेको थियो ।
शीर्ष वरियता प्राप्त गरेपछि दीपेशको अबको लक्ष्य अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गर्नु हुनेछ । त्यसका लागि दक्षिण एसियालीस्तरमा आफ्नो प्रदर्शन सुधार गर्नुपर्नेछ । ‘अहिले नै स्वर्ण जित्छु त भन्दिन । किनभने भारत भनेको विश्व व्याडमिन्टनमै अग्रणी मुलुक हो । तर म नेपालको नतिजा सुधारको प्रयास गर्नेछु,’ उनले भने ।
एउटा जितले मोडिएको करिअर
नेपाल टेलिकमका जागिरे हरक धामी फिटनेसका लागि ब्याडमिन्टन खेल्थे । आँगनमै ब्याडमिन्टन कोर्ट थियो । बुबाले खेलेको देखेर दीपेश रहरले ब्याडमिन्टन र्याकेटको सम्पर्कमा पुगेका थिए ।
१० कक्षा पढ्दा काठमाडौंमा आयोजित राष्ट्रियस्तरको प्रतियोगितामा यू–१५ च्याम्पियन बनेका दीपेशले सिनियरतर्फ कांस्य जिते । क्वाटरफाइनलमा तत्कालीन राष्ट्रिय च्याम्पियन विकासलाई हराएपछि उनको करिअर व्यवसायिकतातर्फ मोडिएको हो ।
‘काठमाडौं आउँदासम्म ब्याडमिन्टन खेलाडी बन्छु भन्ने थिएन । त्यो प्रतियोगिता राम्रो भएपछि सबैले यसलाई निरन्तरता दिनुपर्छ भन्न थाले,’ दीपेश स्मरण गर्छन् ।
एसएलसी दिएपछि परिवारले नै प्रशिक्षणका लागि भारत पठायो । दुई वर्ष हैदरावादको प्रतिष्ठित एकेडेमीमा सिकेको सीपले दीपेशलाई अहिलेसम्म सहयोग पुगेको छ । भन्छन्, ‘छोटो समय त्यहाँ बसेँ तर, धेरै कुरा सिक्न पाएँ । सन्तुलित र वैज्ञानिक प्रशिक्षणले मलाई अहिलेसम्म प्रेरणा मिलिरहेको छ ।’
भारतमा प्रशिक्षण गरेपछि २०६८ मा सुदूरपश्चिममा आयोजित छैटौं राष्ट्रिय खेलकुदमा सिनियरमा एकलतर्फ उपविजेता बने । यतिबेला विकाससँग फाइनलमा पराजित रहे । त्यसयता दीपेशले राष्ट्रियस्तरका वरीयताप्राप्त प्रतियोगिता खेल्दै गए । रत्नजीत तामाङको अगाडि सधैं छायामा परेका उनी लगातारको असफलताले निराशाको क्षणसम्म पुगेको स्मरण गर्छन् ।
‘४/५ वर्ष त मलाई धेरै गाह्रो भयो । जति राम्रो खेल्दा पनि किन जित्न सक्दिन भन्ने लाग्थ्यो,’ चार वर्ष त्रिभुवन आर्मी क्लबबाट करारमा खेलेका दीपेशले भने, ‘हरेक प्रतियोगितामा सेमिफाइनल/फाइनलमा पराजित हुँदा कसलाई पो राम्रो लाग्थ्यो र !’
आठौं राष्ट्रिय खेलकुदअघि उनी अर्को विभागीय टोली एपीएफको जागिरे भए । त्यसपछि हो उनको प्रदर्शनमा उल्लेखनीय सुधार हुन थालेको । ‘सफलताका लागि एउटा लक्ष्यमा केन्द्रित रहनुपर्छ । राष्ट्रिय च्याम्पियन भइसकेपछि दबाव पनि हुने रहेछ । किरण थापा गुरुले पनि राम्रो सहयोग गरिरहनुभएको छ । यो स्तरमा आएपछि अझै राम्रो प्रदर्शन गर्ने हौसला मिलेको छ,’ उनले भने, हरेक प्रतियोगिता सकिएपछि राम्रो र नराम्रो पक्षको समीक्षा गरिरहेको हुन्छु । सबै कुराको सन्तुलनताले मात्रै राम्रो गर्न सकिने हो ।’
एपीएफ क्लबमा खेल्न थालेको एक वर्ष नहुँदै राष्ट्रिय च्याम्पियन बने । ब्याडमिन्टनका राष्ट्रिय प्रशिक्षक किरण थापाले उनलाई प्रशिक्षण दिन्छन् । थापाले नै सन्चालन गरेको कम्प्लिट ब्याडमिन्टन क्लबमा प्रशिक्षण गरिरहेका छन् । ‘स्म्यास, फोरह्याण्ड/ब्याकह्याण्ड र नेटमा उसले पहिलेदेखि नै राम्रो गर्दै आएको छ,’ प्रशिक्षक थापाले भने, ‘रक्षात्मक खेलमा सुधार गर्नुपर्नेछ ।’