नेपाली राजनीतिमा वर्ष २०७८ (फर्केर हेर्दा)

काठमाडौं । विक्रम संवत २०७८ साल नेपाली राजनीतिमा उतार चढावकैबीच नेपालीहरूको घर आँगनबाट बिदा हुन लागेको छ ।
२०७६ सालको अन्त्यबाट विश्वब्यापी रुपमा फैलिएको कोरोनाको त्रास अझै पनि छ । यद्यपि कोरोना विरुद्धको खोपको पनि विकास भएकाले २०७८ मा नेपालीहरुले खोप लगाउने अवसर पाए । वर्ष २०७८ मा नेपाली राजनीतिमा केही उल्लेख गर्न योग्य घटना समेत भए । अनेक उतारचढावका बीच आज मध्यरातिबाट २०७८ साल बिदा भएर नयाँ वर्ष २०७९ साल लाग्दैछ । प्रतिनिधि सभा पुनःस्थापना, शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री, केन्द्रमा झण्डै दुई तिहाइको सरकारको नेतृत्व गर्नु भएका केपी शर्मा ओलीको सरकार ढल्नु,प्रदेशमा समेत एमालेले सत्ता गुमाउनु,संसदको सबैभन्दा ठूलो दल एमाले र मधेशकेन्द्रित दल जनता समाजवादी पार्टीको विभाजन, सबै राजनीतिक दलको महाधिवेशन,स्थानीय तह निर्वाचनको घोषणा,संसदबाट एमसीसी पास जस्ता घटनाहरु २०७८ मा चर्चित रहे ।

२०७८ बैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभामा विश्वासको मत लिन असफल हुनुभयो । ओलीको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो । ओलीलाई त्यतिबेला एमालेकै २८ सांसदले मत दिएनन् । ओली बैशाख ३० गते संसदमा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा अल्पमतको सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभयो ।

जेठ ७ गते राती तत्कालीन प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधि सभा बिघटन गर्नुभयो । त्यसबिरुद्ध शेरबहादर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै बहुमत सांसदहरुले सर्वाेच्च अदालतमा रिट निवेदन दिए ।

असार २८ गते सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत दियो । राष्ट्रपति भण्डारीले असार २९ गते देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभयो । झण्डै दुई तिहाइको सरकारको नेतृत्व गर्नुभएका ओली सत्ताबाट बाहिरिनु भयो । ओलीको बहिर्गमनसंगै एमालेका नेताले नेतृत्व गरेका प्रदेश सरकार पनि धमाधम ढल्न थाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार भने २९ जेठमा नै ढलेको थियो ।

२०७४ को आम निर्वाचनपछि एमालेले सुदुर पश्चिम र मधेश प्रदेश बाहेक सबैमा मुख्यमन्त्री पाएको थियो । तर २०७८ कात्तिकसम्म आइपुग्दा उसले सबै तिर मुख्यमन्त्री गुमायो ।

सर्वाेच्चले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि २०७८ असोज ८ गते एमाले र जनता समाजवादी पार्टी औपचारिक रुपमा फुटे । एमाले फुटेर माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी बनेको छ । अहिले उ सरकारमा छ । त्यसैगरी जनता समाजवादी पार्टी फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ ।

राजनीतिक अस्थिरता र उतार चढावकैबीच देशका प्रमुख राजनीतिक दलहरुको महाधिवेशन पनि बर्ष २०७८ मै सम्पन्न भए । राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक अरु पार्टीका पुरानै नेतृत्व आयो । कांग्रेसमा पुनल् शेरबहादुर देउवा सभापति बन्नु भयो भने,केपी शर्मा ओली एमालेको अध्यक्ष बन्नु भयो । त्यसैगरी माओवादी केन्द्रमा पुष्पकमल दाहाल पनि पार्टी नेतृत्वमा नै रहनु भयो । राप्रपामा भने राजेन्द्र लिङदेश अध्यक्षमा निर्वाचित हुनुभयो । कमल थापा पराजित हुनुभयो । पराजित थापाले अहिले राप्रपा नेपाल ब्युताएर अध्यक्ष बननु भएको छ ।

२४ माघ २०७८ मा सरकारले २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भनेर घोषणा गर्यो । निर्वाचन नजिकिदै गर्दा अहिले सबै राजनीतिक दलहरु निर्वाचन केन्द्रित भएका छन् । सत्ता गठबन्धनमा सहभागी ददहरुले निर्वाचनमा अवस्था हेरेर तालमेल गर्ने घोषणा गरेका छन् भने नेकपा एमालेले कमल थापा नेतृत्वको साप्रपासँग चुनावी तालमेल गरेको छ । वर्षको अन्तिम दिन चैत ३० गते थापा नेतृत्वको राप्रपा र एमालेबीच एमालेकै सूर्य चिन्ह लिएर निर्वाचनमा जाने सहमति बनेको छ ।

२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पल्ट प्रतिनिधि सभा बिघटन गरेपछि अस्थिर बनेको नेपाली राजनीतिले अझै स्थिरता पाउन भने सकेको छैन । २०७८ भदौदेखि सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर प्रतिनिधि सभा अवरुद्ध गरेको एमालेले त्यसपछि संसद बैठक निरन्तर अवरुद्ध गरिरह्यो । यद्यपि एमालेको अवरोधका बीच प्रतिनिधि सभाबाट अमेरिकी सहयोग संझौता (एमसीसी) भने संसदबाट पास गरियो ।