स्थानीय तहको निर्वाचनमा ७७ जिल्लामा ४०० पर्यवेक्षक खटाइने

काठमाडौं : निर्वाचन पर्यवेक्षण समिति नेपाल (ई.ओसी नेपाल)ले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्यवेक्षण गर्ने भएको छ। यसका लागि समितिले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

आज (शनिबार) पत्रकार सम्मेलनको आयोजना गरेर समितिले स्थानीय तहको निर्वाचनका लागि आफ्नो संस्थाबाट ४० जिल्लामा ४० जना पर्यवेक्षकहरु लामो समयका लागि नियुक्त गरी परिचालनसमेत गरिसकेको जनाएको हो।

समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘निर्वाचन पर्यवेक्षण समिति नेपाल ई.ओसी नेपालले आसन्न २०७९ वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचनको पर्यवेक्षक परिचालन अन्तिम तयारीमा जुटेको छ। हालसम्म ई.ओसी नेपालले ४० वटा जिल्लामा ४० जना पर्यवेक्षकहरु लामो समयका लागि नियुक्त गरी परिचालन समेत गरिसकेको छ। लामो समयका पर्यवेक्षकहरुले लागि यहि वैशाख ८ र ९ गते प्रशिक्षण सम्पन्न गरी परिचालन गरेको हो। त्यसै गरी छोटो समयका लागि ७७ वटै जिल्लामा ई.ओसी नेपालले पर्यवेक्षण गर्ने छ। त्यसको लागि ४०० चार सयजना पर्यवेक्षकहरु परिचालन गर्ने योजना रहेको छ।’

ई.ओसी नेपालका अध्यक्ष प्रदीप पोखरेलले २०७० सालमा संस्था स्थापना भएको उल्लेख गर्दै संविधानसभाको निर्वाचन र त्यसपछि भएका निर्वाचनमा पनि आफ्नो संस्थाले पर्यवेक्षणको भूमिका खेलेको स्मरण गराए। स्थानीय तहको निर्वाचनको लागि संस्थाको पर्यवेक्षणको तयारी पूरा गरेको जनाए।

उनले ७७ जिल्लामध्ये ४० जिल्लामा लामो समयका पर्यवेक्षक पठाईसकेको जनाए। उनले भने, ‘उहाँहरुले एक महिना हेर्नुहुन्छ र प्रतिवेदन पठाउनुहुन्छ। ७७ वटै जिल्लामा ४०० सय जना छोटो अवधिका पर्यवेक्षकहरु खटाउँछौँ। उम्मेदवारी दिने दिनदेखि मत परिणाम आउने बेलासम्मको पर्यवेक्षण गरिनेछ।’

उनले निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार भएको गुनासो पोखे। निर्वाचनमा सबै पर्यवेक्षण संस्थाका गरेर २० हजार पर्यवेक्षकहरु खटिने आफूहरुले विश्वास लिएको उनको भनाई छ।