ओलीलाई कांग्रेसको प्रश्‍न : अब के मुखले भोट माग्‍नुहुन्छ?

काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दाबी गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीले नचाहे पनि लोकतन्त्रलाई बलियो बनाउन, संविधानलाई बलियो बनाउन सत्तारूढ गठबन्धन सँगसँगै अघि जाने बताए। 

प्रवक्ता महतले भने, ‘केपी ओली सबै कोणबाट असफल भइसकेका छन्। अब के मुखले उहाँले भोट माग्ने? पाँच वर्षका लागि निर्वाचित सरकार साढे ३ वर्षमै दुईपटक हात उठायो। उहाँले बर्बाद गरेपछि सरकारले नेतृत्व कांग्रेसले लिनुपर्‍यो। अब उहाँले सुशासनका कुरा, कानुनी शासनको कुरा, संविधानको कुरा, विकासको कुरा, भ्रष्टाचारमुक्त शासनको कुरा गर्न मिल्छ? कमिसनको पखाईमा रहँदा कोभिडको बेहाल स्थिति बनाइयो। अहिले व्यवस्थापन भएको छ।’ 

उनले सत्तारूढ दलमा आबद्ध अन्य दलहरूले पनि ओलीलाई साथ दिने कुनै सम्भावना नरहेको बताए। सुशासन, कानुनी शासन, संविधानको रक्षा र मुलुकको विकास कुनै पनि अर्थमा ओली असफल भएको उनको भनाइ छ। 

स्थानीय कोणबाट हेर्दा कांग्रेस नै बलियो भएको दाबी गरे। ओलीले असार १६ गतेसम्ममा गठबन्धन विभाजन हुन्छ भनेर मतदाता प्रभावित पार्ने बोलेको बताए। 

‘राष्ट्रिय कोणबाट हेर्दा पनि नेपाली काँग्रेसको नेतृत्व नै ठिक देखिन्छ। हामी जबरजस्ती तन्त्र चल्न दिँदैनौँ। यो लोकतान्त्रिक यात्रामा अगाडि बढ्नुहुनेछ भन्ने हामीलाई लागेको छ’ उनले भने, ‘कुनै पनि मानेमा ओलीजीले फेरी पनि मत माग्ने आधार छैन। स्थानीय निकायकै कुरा गर्ने हो भने पनि १० वटा उत्कृष्ट कार्य सम्पादन मध्ये ६ वटा हाम्रो उत्कृष्ट छ। बाँकी ३ वटामा पनि अन्य सहयोगी दलहरू एउटा मात्रै उहाँको उत्कृष्ट देखिएको छ।’

निर्वाचनको शिलशिलामा रुकुम पश्चिम, महोत्तरी, नुवाकोट, सिन्धुपाल्चोकसहितका जिल्लाहरुमा आफ्ना पार्टीका कार्यकर्ताहरूमाथि आक्रमण गरेको भन्दै आपत्ति जनाए। उनले ओलीलाई निर्वाचन आचारसंहिताको पालना गर्न सचेत गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराए। 

कांग्रेसको सभापतिको हैसियतले प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचनमा प्रचार गएकाले उनले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्न नमिल्ने पनि बताए।