‘काठमाडौंले व्यवस्थाको परिवर्तन खोजेको होइन, असन्तुष्टि पोखेको हो’

राना परम्परा तोड्दै यसपालि काठमाडौं महानगरपालिकाले स्वतन्त्र उम्मेदवार बालेन्द्र  साह (बालेन)लाई विजयी गरायो । बालेन साहले जित्नुको कारण उनकै पुरानो तयारी र योजना त थियो नै साथमा काठमाडौंका नागरिकले पुराना दलहरुप्रति गरेको अविश्वास टुट्नु पनि हो ।

दलहरुबाट उम्मेदवार भएकाहरुको ‘कोर एरिया’ भनेर चिनिएका क्षेत्रमा समेत दलका प्रतिनिधिको मत अपेक्षाकृत बढेन । काठमाडौंको मनोविज्ञानबारे जानकारी राख्ने लेखक तथा विश्लेषक सुरेश किरणसँग काठमाडौंको फेरिएको जनमतबारेको कुराकानीको सम्पादित अंश :

काठमाडौंको मत परिणाम परम्पराभन्दा फरक आउनुको खास कारण के हुन सक्छ ?

काठमाडौं चाहिँ अब हामीले महानगर भन्छौं । महानगरको एउटा आफ्नै खालको चरित्र हुँदो रहेछ । जहाँ अक्सर राज्यसत्तासँग सधैं प्रतिपक्षी भावना हुन्छ । देशभर जुन खालको विद्रोह र असन्तुष्टि हुन्छ । त्यसलाई प्रतिकात्मक रुपमा प्रतिनिधिमुलक ढंगले पोख्ने ठाउँ राजधानी हुन्छ । किनभने राजधानीमा देशैभरीका मान्छे बसिरहेका हुन्छन् । काठमाडौंमा पनि देशैभरिका मान्छेहरु बसिरहेका छन् । त्यसले गर्दा पनि राजधानीले सधैं राज्यसत्ताले जे गरिरहेको छ त्यसको प्रतिरोधमा आवाज उठाएका हुन्छन् । अहिलेको परिणाम पनि त्यही हो । अहिलेसम्मको परिवर्तनले जनतालाई सन्तुष्टि दिन नसकेपछि त्यसको प्रतिरोधात्मक अभिव्यक्तिको रुपमा यो मत आएको भनेर हामीले विश्लेषण गर्न सक्दछौं ।

भन्न चाहिं के पनि भनिएको थियो भने राजधानीलाई राजनीतिसित उति धेरै चासो हुन्न, जसलाई राजनीतिसित जति चासो हुन्छ ती यहाँका मतदाता होइनन्, त्यसैले यहाँको परिणाम यहीँका कोर नागरिकमा भर पर्छ र त्यो मत निकटताका आधारमा जान्छ भनिन्थ्यो, त्यो पनि तोडियो नि यसपालि ।

खासगरी काठमाडौंको राजनीतिमा अहिलेको अवस्थामा हेर्दा काठमाडौंभन्दा बाहिरका मान्छेको प्रभुत्व रहँदै आएको छ । लिच्छविकालदेखि नै बाहिरबाट आएका मान्छेहरुले शासन गर्दै आएको पृष्ठभूमि छ । तर यसको अर्थ यो हैन नि राजधानीका स्थानीय बासिन्दामा राजनीतिक चेत छैन । तुलनात्मक रुपमा हेर्दाखेरि यहाँका स्थानीय बासिन्दाको राजनीतिक पहुँच, आधार, सक्रियता कम चाहिँ हो । योभन्दा अगाडि १९९७ को आन्दोलन होस् या सात सालको आन्दोलन या १७ को विद्रोह, या ४६ सालको आन्दोलन र ६२/६३ को आन्दोलन पनि यही भएको हो नि ।

यसपालि मतपरिणाम जसरी आयो, यो राजनीतिक सिफ्ट कसरी भयो र यहाँका मान्छेले यो पाँच वर्षमा के सोचे ?

काठमाडौं महानगरपालिकामा अहिले बालेन साहजीको जितलाई जसरी विश्लेषण गरिरहेका छौं, त्यसलाई राजनीतिक सिफ्ट भन्न अलि गाह्रो हुन्छ । यो खासगरी देशमा आइसकेको परिवर्तनबाट जनताले गरेको अपेक्षा महसुस गर्न पाएनन्, केही पहुँच भएका नेताहरुले मात्रै उपभोग गरे भन्ने कुरालाई विद्रोहको रुपमा धक्का दिइएको हो । यसको अर्थ काठमाडौं दलीय आबद्धता बाहिर गएको होइन । बालेन जीको जितले राजनीतिक दलहरुलाई सुध्रिन धक्का दिएको छ, उहाँहरुले यो अभिमतलाई बुझ्न जरुरी छ । यो क्रमभंग हो र दलहरुलाई सच्चिनका लागि धक्का दिएको छ ।

त्यो भनेको यहाँका जनताले दलहरुको विकल्प खोजेको भन्दा पनि असन्तुष्टि व्यक्त गरेको भनेर बुझ्ने हो ?

हजुर । दलहरुको विकल्प खोजेको भन्दा पनि सुध्रिनलाई सचेत गराएको रुपमा लिन सकिन्छ ।

काठमाडौंका स्थानीय, नेवार समुदायको मनमा यसपटक के थियो होला ? उनीहरु किन बदलिए ?

काठमाडौंवासीहरुको मनमा पनि देशमा आएको परिवर्तनले जुन खालको साशन सत्ता सुरु भयो, त्यसले रैथाने नेवारहरुलाई सुविधा दिएन, उनीहरुको हितमा काम गरेन भन्ने त छ नि । बाहिरबाट आएर शासन गर्छन्, दुई–चार वर्षमै आफ्नो अवस्था सुधार्छन् तर काठमाडौंलाई जस्ताको त्यस्तै छोड्छन् । उनीहरुले हेरेनन् भन्ने असन्तोष थियो, त्यो उनीहरुले बालेन साहलाई मत हालेर अभिव्यक्त गरेका छन् ।

काठमाडौंले सहन सकुन्जेल सहँदो रहेछ, अति भएपछि विद्रोह गर्दो रहेछ भनेर बुझ्ने हो ?

परिवर्तनलाई काठमाडौंले सधैं आत्मसाथ गरेकै छ । तर आफैंले समर्थन गरेको व्यवस्थाले अपेक्षा गरेअनुसार काम गर्न नसकेपछि त्यसका विरुद्ध फेरि आन्दोलन भएको छ । अहिले पनि आन्दोलनको छनक हो । यो प्रचलित व्यवस्थाका बहालवाला नेताहरुले बुझ्नुपर्छ ।

यहीँका रैथानेले पनि हेरेनन् भन्ने पनि होला नि हैन ? यसअघि त विद्यासुन्दर शाक्य नै यहीँको, केशव स्थापितले ०५४ सालदेखि नै रजगज गर्नुभएको हो, सिर्जना सिंह यहीँकै हुनुहुन्छ नि ?

काठमाडौं महानगरको काम गर्ने क्षेत्र फराकिलो भएकाले जति काम गरे पनि नदेखिने पनि हुन्छ । सम्भवतः बालेनजीलाई पनि त्यो समस्या महसुस हुन्छ होला । त्यसपछि केशव स्थापित, विद्यासुन्दर या सिर्जना सिंहको कुरा । यो व्यक्तिभन्दा पनि दलहरुको कामका विरुद्धको असन्तुष्टि हो । नत्र विद्यासुन्दर या केशव स्थापितमा नआएको भोट सिर्जना सिंहमा जानुपर्थ्यो तर गएन नि । त्यसैले दलहरुमाथिको असन्तुष्टि हो यो । यो व्यवस्थाको जुन सुन्दर पक्ष थिए, ती ओझेल परेर खराब पक्षमात्रै बाहिर आए ।

यसपालि कोर एरियामा पुगेपछि राजनीतिक दलका उम्मेदवारले जित्छन् भनिएको थियो, तर मत परिणामले त्यो देखाएन । कोर एरियाका, गुठीहरुका नागरिक बदलिनुको कारण के होला ?

कतिपय अवस्थामा व्यक्तिभन्दा पनि नीति हेरेर निर्णय गर्ने भन्ने हुन्छ । लहर चाहिं के रैछ भने बहुदल पछिका राजनीतिक दलका नेता र पार्टीले काठमाडौंलाई राम्ररी हेरेनन्, काठमाडौंवासीका कलासंस्कृति, भाषालाई राम्ररी हेरेनन् भन्ने लहर आयो काठमाडौंमा । अब केशव स्थापित या सिर्जना सिंह त व्यक्तिभन्दा पनि पार्टीहरुको प्रतिनिधि हुनुहुन्छ । दलहरुले नै केही गरेका छैनन् भन्ने मनमा लागेपछि त भोटिङ प्याटर्न चेन्ज भएको हो । यदि व्यक्तिमाथिको असन्तोष हुन्थ्यो र केशव स्थापित वा अरु टेस्टेड खराब हुन् भन्ने हो भने तर कांग्रेसको उम्मेदवार त नयाँ हुनुहुन्थ्यो तर जनताले दलहरुसँगको असन्तुष्टि पोखे ।

अर्काे चाहिं काठमाडौंका युवाहरुमा राजनीतिक सचेतना बढेको उदाहरण पनि त होला नि यो ?

केही वर्षअघिसम्म राजनीतिमा जतिसुकै परिवर्तन आए पनि यहाँका युवाहरुलाई मतलब हुँदैनथ्यो । तर अहिले पछिल्लो समयमा राजनीतिप्रति यहाँका स्थानीय युवाको सचेतना बढेको छ । अर्कोतिर विकासका नाममा काठमाडौंमाथि दमन गरियो, त्यसलाई युवाले बुझे । काठमाडौंका स्थानीय मानिसका विदेशमा पढ्ने छोराछोरीले समेत घरमा फोन गरेर भोट चाहिं बालेन साहलाई दिनू है भने । त्यसको अर्थ त काठमाडौंका युवा राजनीतिक रुपमा जागरुक भए भन्ने हो । तर महत्वपूर्ण कुरा चाहिं यहाँका युवा काठमाडौंको भाषा संस्कृतिलाई लिएर जागृत भएका हुन् कि या विकासको मात्रै कुरा हो भनेर बुझ्नुपर्ने हुन्छ ।

तपाईंले देखे–बुझेअनुसार यहाँका युवाहरुको जागरुकता के हो ?

अहिले दुबै हिसाबले काठमाडौं जागरुक छ । विकासका नाममा भएका विभिन्न गतिविधिले यहाँका मान्छेलाई भूमिबाट बेदखल गर्ने जुन खालका गतिविधि भए त्यसविरुद्ध उनीहरु जागरुक छन् । काठमाडौंका कोही नेवारहरु सम्पदा संरक्षणको नारा लिनुभएको छ, कसैले सडक बनाउने नाममा स्थानीय मानिसलाई घरबारविहीन बनाउन हुँदैन भन्नेहरु हुनुहुन्छ । यो सचेतना छ । तर राज्यसत्ताले स्थानीय समस्यालाई समस्याका रुपमा लिएको छैन । खाली फोहोरमुक्त हुनुपर्यो भन्ने छ  । सारा मानिसहरु विकासको नाममा विस्थापित हुँदैछन्, कला संस्कृतिको नाममा विस्थापित भएका छन् भन्ने पनि त एजेण्डा छ नि त ।

बालेन साहसँगै स्वतन्त्र उठ्नुभएका सुमन सायमीको मत हेर्नुपर्ने हुन्छ, उहाँले सम्मानजनक मत पाउनुभएको छ । उपमेयर सुनिता डंगोलले मत पाउनुभएको छ, त्यो पनि अभियानको पक्षमा आएको मत हो ।

फोटो : शंकर गिरी