चोरको स्वर : भागी विवाहको घतलाग्दो दृश्यान्तर

‘सेवारो ! तपाईंहरूको गाउँ-घरमा एउटा सुन्दर फूल फुलेको रहेछ । फूलको सुवास हाम्रो गाउँसम्म पुगेछ । त्यसलाई हाम्रो भमराले मन पराएछ । अनि त्यो फूललाई हाम्रो भमराले चुँडेर लगेछ ।’

बुढापाका भाँती र भाका पुर्‍याएर भन्छन्, ‘लौ है आदङ्वासेहरू ! केही गल्ती पो भयो कि ?’

‘अनि त्यो भमराचाहिं को हो ?’ अर्को पक्षमा उभिएका एक युवा झोंकिन्छन् ।

अँ, खै त भमरा ?

भमरा त आएकै छैनन् । भमरा अर्थात् दुलहा । चेम्जोङ गाउँका १९ वर्षे ती किशोर (दुलहा)ले भर्खरै एउटी किशोरीलाई भगाएर लगे । त्यसैले चेम्जोङ गाउँबाट बुढ्यौलीसहित आफन्त शेर्मा गाउँमा आएका छन्, चोरको स्वर बुझाउन ।

‘चोरको स्वर’ पूर्वेली लिम्बु समुदायमा प्रचलित यस्तो रीत, जुन भागी विवाहपछि दुलहीका परिवारलाई जानकारी गराउन र विश्वस्त तुल्याउन तय गरिन्छ । ‘तपाईंहरूको छोरी-चेली हामीसँग छ । हामी उनलाई दुःख, कष्ट दिने छैनौं’ भनी पक्का गरेपछि दुलही पक्षले स्वीकार्ने गर्छन् ।

तर, शेर्मा गाउँकाे दुलही पक्ष त्यति सजिलै कहाँ पग्लनेवाला छ र ? दुलही गाउँका पाकाहरू भन्छन्, ‘तपाईं र हाम्रो त माङ्गेना नै मिल्दैन ।’

स्थिति कस्तो छ भने, शेर्मा गाउँ र चेम्जोङ गाउँबीच खास मिलाप छैन । यसअघि चेम्जोङ गाउँका चेली ल्याउँदा ‘भ्याकुरा खेदे झैं’ लखेटेको द्वेष अझै आलै छ । आपसी दम्भले यी दुई गाउँबीच कठोर पर्खाल ठड्याइदिएको छ । त्यस्तो पर्खाल नाघेर कुटुम्बेरी साइनो जोड्नु कम्ती महाभारत छ ?

वल्लो गाउँ र पल्लो गाउँबीच फाटो ल्याउने अर्को कारण त विकास पनि हो । चेम्जोङ गाउँमा घर-घरसम्म मोटर बाटो छ । झलमल्ल बिजुली छ । तर, शेर्मा गाउँ ?

शेर्मा गाउँ अझै अन्धकारमै छ । यस्तो अँध्यारो गाउँमा छोरीचेली ल्याउँदा दुःख पो पाउने हो कि ? चेम्जोङ गाउँ ढुक्क छैनन् । त्यसैले गहिरो खोंचमाथि बनेको पुल नाघेर शेर्मा गाउँका तन्नेरीहरू चेम्जोङ गाउँसम्म नआए हुन्थ्यो भन्ने छ । एकताका त उनीहरूले आफ्ना चेलीबेटी भगाएर लगेको झोंकमा पुलको लट्ठा काट्नसमेत तम्सिएका थिए । त्यही बेलादेखि हो शेर्मा गाउँका तन्नेरी चेम्जोङ गाउँवासीसँग उल्कै रिसाएको ।

एकअर्काप्रति यति विघ्न वैरभाव बोकेका गाउँबीच कुटुम्बेरी सम्बन्ध कसरी जोडिन्छ ? आपसी दम्भ र अहंकारलाई त्यागेर कसरी सामाजिक रीतिथितिमा लयबद्ध हुन्छन् ?

थापागाउँस्थित मण्डला थिएटरमा जारी नाटक ‘चोरको स्वर’ले यसैको वृतान्त पस्किन्छ । लिम्बु समुदायमा प्रचलित भागी विवाहपछिका लफडाबाजी, नोकझोंक अनि हार्दिकता नै यस नाटकको सार हो । यद्यपि नाटकले आधुनिक समाजमा विलुप्त हुँदै गएको वैवाहिक रीत मात्र छर्लङ्ग पार्दैन । पूर्वी पहाडको थातथलोबाट लिम्बु समुदायको रहनसहन, बाेली-लवज, खानपान र सिंगो समाजलाई जस्ताको तस्तै टिपेर शहरको रंगमञ्चमा थपक्क राखिदिएको छ ।

यस्तो लाग्छ,त्यो स्वादिलो परिवेशमा हामी स्वयम् समाहित भइरहेका छौं । खाँट्टी लिम्बु गाउँमा पुगेर त्यहाँको जन-जीविकासँग साक्षात्कार गरिरहेका छौं । करिब-करिब दुर्लभ हुँदै गएको एउटा घतलाग्दो रीतिथितिको साक्षी बसिरहेका छौं ।

पूर्वी पहाडका घर-गाउँ, भू-बनौट, लत्ताकपडा, भाषा-लवजले नाटकलाई प्राण दिएको छ । यसको कोरियोग्राफी यति रचनात्मक छ कि, तपाईं नाटक हेरिरहेको छु भन्ने कुरा भुसुक्कै बिर्सनुहुनेछ । रंगमञ्चको त्यो आयताकार फ्रेमभित्र लिम्बु गाउँको दुरुस्त र सग्लो परिवेश उतारिएको छ, केही नबिराई ।

भगाएर ल्याएकी दुलहीलाई भित्र्याउन दुलहाको घरमा गरिने परम्परागत प्रबन्धसँगै सुरु हुने नाटकले बाँकी घटनाक्रमलाई सिलसिलाबद्ध पेश गर्छ । दृश्य-रुपान्तरणसँगै एउटा परिवेशबाट अर्को परिवेशमा फड्को मार्दा कहीं कतै अलमल हुँदैन । दुई फरक गाउँको परिवेश, परिस्थिति, प्रचलनले नयाँपन अनुभूत भइरहन्छ ।

विवाहको तामझाम, मासु र तोङ्वाको बन्दोबस्ती, जन्तकाे आतिथ्य, मान्द्रोले ढाकेर अनि पराल विछ्याइएर बनाइएको बस्ने ठाउँ । बेफिक्री पात्रहरु । सोल्टी र सोल्टिनीको नोकझोंक ।

चोरको स्वर’लाई बहुरंगी बनाउन यति नै काफी छन् । त्यसमाथि पूर्वी पहाडको भूगोल र बस्ती सम्झाउने सेट डिजाइन, सोही अनुरुपको प्रकाश संयोजनको तालमेलले नाटकलाई जति हेरेपनि हेरिरहुँ लाग्ने बनाएको छ । च्याब्रुङको ताल (लिम्बु समुदायको मौलिक बाजा)को पार्श्व संगीत अझ गजब छ ।

नाटकमा दृश्य संयोजन र संवाद निकै शानदार छ । ख्यालख्यालैमा गंभीर र संवेदनशील विषय उठाउँछ, ख्यालख्यालैमा जीवन र जगतका आयामहरु पस्कन्छ, अनि ख्यालख्यालैमा भावुक बनाउँछ । आवरणमा झोंकी, रिसाहा र बदलाको भावनाले चूर युवाहरु अन्तरात्माले आफ्ना छोरीचेलीप्रति कति संवेदनशील छन् ? कति मायालु छन् ? कति चिन्तित छन् ? ख्यालख्यालैमा थाहा हुन्छ ।

नाटकमा प्रशस्तै ख्यालठट्टा छन् । तपाईंलाई कहीं कतै पट्यारलाग्ने छैन । रमाइला पात्र र नौला परिवेशले रिझाइरहन्छ । उनीहरुको संवाद शैली रसिलो छ ।

नवीन चौहानले जति घतलाग्दो कथा टिपेका छन् उत्तिकै स्वादिला, चोटिला र संवेदनशील तत्वहरू पनि यसमा मिसाइदिएका छन् । लालमोहरको द्वन्द्वदेखि लिम्बुवानको राजनीतिसम्म यसमा उप्काइदिएका छन् । वैचारिक लडाइँ अनि विकासे योजनाले कसरी रैथाने संस्कृतिको दोहन गरिरहेको छ भन्ने पनि यसले प्रसंग उठाउँछ । बाटो बनाउने चक्करमा डोजरले चिहान डाँडा नै खन्न थालेपछि बुढापाकामा बढेको चिन्ताले वर्तमान समाजको विकासे अनुहार उदांगो बनाउँछ ।

गीत संगीतमा अविच्छिन्न सफलता बटुलिरहेको आर्टमान्डुले पहिलो पटक नाटकको तारतम्य मिलाएको हो । पहिलो पटक नै सही, अनिल सुब्बा र अन्वेश राई थुलुङको निर्देशन परिपक्व छ । कलाकारहरुको अभिनय, लवज, पहिरन शैली कम्ती सुहाएको छैन, स्वाभाविक पनि ।
एकमुष्ट भन्नुपर्दा ‘चोरको स्वर’ मनोरञ्जनको खुराक मात्र नभई एक सांस्कृतिक मञ्चन पनि हो । यसबाट तपाईं भरपुर आनन्द त लिनुहुनेछ नै, साथसाथै अनौठो रीतिथितिको साक्षी पनि बन्नुहुनेछ ।

निर्देशक : अनिल सुब्बा, अन्वेश राई थुलुङ

कथा : नवीन चौहान

कलाकार : अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङहाङ, इँगिहोपो कोइँच सुनुवार, संगीता थापामगर, बेदना राई आदि ।