सम्झनामा ‘राम्रो रचना मीठो नेपाली’

‘राम्रो रचना मीठो नेपाली’ कृति ३० को दशकमा अधिक चर्चामा रह्यो, जसले नेपाली भाषाको व्याकरण लेखनलाई निकै सहज बनाएको थियो । त्यो परम्परागत व्याकरण भए पनि नेपाली व्याकरण अध्ययन गर्न र सिक्नका लागि धेरै सहज थियो । किनभने त्यस कृतिमा रचनाहरूको अध्ययन गर्दै व्याकरण पनि सिक्ने सकिने गरी तयार गरिएको थियो । अझै पनि चर्चामा रहेको यस कृतिका रचनाकार हुन् कृष्णप्रसाद पराजुली । यही कृतिका कारण कतिपयले उनलाई ‘राम्रो रचना मीठो नेपाली’समेत भन्ने गर्छन् । 

१९९२ असार २४ गते जन्मिएका पराजुली वितेको करिब ९ वर्ष भैसक्यो । तर नेपाली भाषा–साहित्य जगतमा उनको चर्चा जीवन्त छ । उनको राम्रो ‘राम्रो रचना मीठो नेपाली’ ले धेरैलाई नेपाली व्याकरण सिकाएकाले धेरैले उनको सम्झना गर्छन् । 

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा करिब १२ वर्ष कृष्णप्रसाद पराजुली र आफूले सँगै पढाएको सम्झन्छन् प्राडा माधव पोखरेल । ‘एकदमै मिजासिलो, सबैसँग मिल्ने, आँखामा हाल्दा पनि नबिझाउने खालका थिए पराजुली । त्यसैले सबैको प्रिय थिए,’ पोखरेल भन्छन् । 

‘तत्कालीन समयमा पराजुलीको यो कृति निकै चर्चित र महत्त्वपूर्ण थियो । नयाँ शिक्षा योजना लागू भएपछि यसको माग झन बढेको थियो,’ पोखरेल अगाडि भन्छन्, “त्यतिबेला म महेन्द्र क्याम्पस धरानमा पढाउँथे । परीक्षाको सञ्चालनको सिलसिलामा विराटनगरबाट भाषाविद् बालकृष्ण पोखरेल धरान आउनुभयो र नेपाली विषयको प्रश्न बनाउन एउटा कुनै आधार सामग्री ल्याउनुहोस् भनेर मलाई भन्नुभयो ।” तर उनलाई कुन सामग्री ल्याउने भन्नेमा अलमल भयो । कुन चाहिँ सामग्री ल्याऊँ भन्दा राम्रो रचना मीठो नेपाली ल्याउनुस् भनेको सम्झन्छन् उनी । राम्रो लेख्न सिकाउने भन्ने कुरामा कृष्णप्रसाद पराजुलीको राम्रो रचना मीठो नेपाली बराबर अर्को किताब छैन भनेर त्यतिबेलै बालकृष्ण पोखरेलले भनेको माधव पोखरेल बताउँछन् । 

कृष्णप्रसाद पराजुलीमा विशेष प्रतिभा निहित रहेको माधव पोखरेल ठान्छन् । त्यही भएर नै त्यतिबेला त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहलाई पढाउन पराजुली र रमेश विकललाई दिइएको थियो भन्छन् उनी । जबकि स्नातकोत्तर उत्तीर्ण नभएकालाई सो तहमा अध्यापन गर्न दिने व्यवस्था नै थिएन। “अध्यापनका अतिरिक्त उनीहरूलाई एमएको थेसिसको गाइड गर्न दिइएको थियो । कृष्णप्रसाद पराजुलीले क्लास नै लिनुहुन्थ्यो,” माधव पोखरेल भन्छन्, “तर रमेश विकलले चाहिँ पढाउने र स्नातकोत्तर तहको थेसिसको गाइड गर्नुभएन ।” त्यतिबेला कृष्णप्रसाद पराजुलीले थुप्रै लोकसाहित्यका, कविताकृतिका, गीतबारेका शोधपत्रको निर्देशन गरेका थिए । त्यो एउटा अनपेक्षित घटना थियो भन्छन् पोखरेल । 

कृष्णप्रसाद पराजुली भोटेबहालबाट सानेपा सरेपछि माधव पोखरेल छिमेकी जस्तो भएका थिए । पराजुली प्रायः उनको घरमा पुगिरहन्थे । “एक दिन मकहाँ आएर जगदम्बाश्री पुरस्कारका लागि मेरो नाम सिफरिस गरिदिनुस् न भन्नुभयो, अनि सिफारिस पनि गरेँ ।” उनले भने, “सिफारिसमा बालकृष्ण पोखरेलले भनेका कुरा, राम्रो रचना मीठो नेपालीका विशेषताहरू, अरू अरू सिर्जनामार्फत् नेपाली भाषासाहित्यमा उहाँले गरेका योगदानलाई आधार देखाएर सिफारिस गरँे ।” उनले गरेजस्तो योगदान अरूले नगरेको हुनाले पराजुलीले २०६४ सालको जगदम्बाश्री पुरस्कार पाएका थिए । त्यो मूल्याङ्कन सही भएको थियो भन्ने उनका पछिल्ला योगदानहरुले पनि प्रामाणित गरिरहेका छन् ।  

कसरी चर्चित बन्यो व्याकरण ?

भाषा व्याकरण आफैँमा निरस विषय हो । व्याकरणकै पुस्तक लेख्न र अध्ययन गर्न रुचिकर नहुने नै भयो । तर पनि लेखन क्षेत्रमा लागेका पराजुलीलाई कसरी उत्कृष्ट तरिकाले लेख्न सकिन्छ भन्ने लाग्यो । यो कृति रचना गर्दाका रहर र पाएका दुःखबारे पराजुलीले आफ्नो आत्मकथा ‘शिखरयात्रा’मा पनि उल्लेख गरेका छन् । “मलाई भाषाप्रतिको चाख आफ्नो लेखनयात्राको आरम्भदेखि नै हुँदै आएको हो । पछि त यसप्रति झन् बिछट्टै प्रेम लाग्न थाल्यो । भाषाप्रति कति चाख, कति प्रेम थियो भने यसमा लाग्दा मैले रात भनिनँ, दिन भनिनँ ।” सो पुस्तक लेख्दा उनले श्यामप्रसाद शर्मा, भैरव अर्याललगायतलाई भेटेर आवश्यक सामग्री सङ्कलन गरेको बताएका छन् । “नेपाली रचना राम्रो पनि होस् र मीठो पनि होस् भन्ने म चाहन्थेँ । त्यसैका निम्ति यो पुस्तक लेखेको हुँ ।” “काठमाडौंमा भन्दा वाराणसी (बनारस) मा छपाइ छिटो र राम्रो हुन्थ्यो । त्यसैले, यसको प्रथम संस्करण बनारसमा मुद्रित भएको थियो । 

यो कृति प्रकाशनपछि नेपाली व्याकरणको मानक कृति हुन पुग्यो । यसका धेरै प्रति बिक्री भए । यस सन्दर्भमा प्रगतिशील लेखक संघका अध्यक्ष प्राडा मधुसुदन गिरी भन्छन्, “राम्रो रचना मीठो नेपाली पुस्तकले त एक पटक बजारै पिटेको थियो । उहाँले मसँगको भेटमा यसै पुस्तकको आयले घरसमेत बनाएँ भन्नुहुन्थ्यो ।” आफ्नो समयमा त्यो एकदमै चलेको पुस्तक भएको बताउँछन् गिरी । 

राम्रो रचना मीठो नेपाली नेपाली व्याकरण परम्परामा नयाँ कृति थिएन । त्यसअघि पनि नेपाली व्याकरणका पुस्तकहरु प्रकाशन भइसकेका थिए । तर ती परम्परागत तरिकाले आएका थिए । राम्रो रचना मीठो नेपालीभन्दा अगाडि रचनाका आधारबाट सबैभन्दा बढी चलेको गोपाल पाँडे असीमको ‘रचना केशर’ हो भन्छन् माधव पोखरेल । “किनभने गोपाल पाँडेले मात्रै उच्च शिक्षासम्म नेपाली माध्यमबाट शिक्षा दिन थाल्नु भएको थियो । ‘रचना केशर’को कार्यान्वयन गर्ने क्रममा उहाँले एसएलसी सरहका थुप्रैलाई पास गराउनुभयो,” पोखरेल भन्छन्, “कृष्णप्रसाद पराजुली गोपालप्रसाद पाँडे असीमको नेपाली शिक्षा परिषद्को पहिलो ब्याचमा प्रथम श्रेणीमा उत्तीर्ण हुनुभएको विद्यार्थी हो । गोपालप्रसाद पाँडे असीमकै चेला हुन् कृष्णप्रसाद पराजुली । त्यसैले रचनाको माध्यमबाट व्याकरणको उपयोग र रचनाको उपयोगबाट व्याकरण सिकाउने प्रेरणा गोपालप्रसाद पाँडे असीमबाटै कृष्णप्रसाद पराजुलीलाई मिलेको हुनुपर्छ ।” 

गुरुलाई उछिनेका छन् पराजुलीले । राम्रो रचना मीठो नेपाली प्रकाशनमा आएपछि रचना केशर धेरै बिकेन, राम्रो रचना मीठो नेपाली नै बढी बिक्यो भन्छन् पोखरेल । पराजुलीले आफ्ना गुरुलाई पनि हराए । हरेक गुरुको चाहना पनि चेलाले मलाई जितोस् भन्ने हुन्छ । “जुन चेलाले गुरुलाई जित्न सकेन, त्यो चेलाले गरिखाँदैन,” उनी भन्छन्, “योग्य चेलो त्यो हो, जसले गुरुलाई उछिन्छ ।” कृष्णप्रसाद पराजुलीले आफ्ना गुरु गोपालप्रसाद पाँडेको रचनाबाट व्याकरण सिकाउने प्रविधिलाई विस्तार गर्दै माथिल्लो तहमा पुर्याउने काम गरे ।

अझै पनि सान्दर्भिक

अब कृष्णप्रसाद पराजुलीको राम्रो रचना मीठो नेपालीलाई नमुना बनाएर अझ विस्तार गर्नुपर्ने आवश्यक रहेको ठान्छन् प्राडा माधव पोखरेल । खास गरी २०३४ सालदेखि त्रिभुवन विश्वविद्यालयमा अनिवार्य नेपाली विषय अध्यापन सुरु भएपछि बल्लभमणि दाहाल, बालकृष्ण पोखरेल, चूडामणि बन्धुहरू भाषाविज्ञान  पढेर नेपाली भाषालाई भाषावैज्ञानिक आधारमा सिकाउने परिपाटी सुरु गरे । “भाषावैज्ञानिक अध्ययनका आधारमा कृष्णप्रसाद पराजुलीको राम्रो रचना मीठो नेपाली अलि दुब्लोजस्तो भयो । उहाँले पछि केही परिमार्जन गर्नुभयो,” पोखरेल भन्छन्, “उहाँको विशेष आधारभूत शिक्षा विज्ञानबाट नभए पनि पहिलेकै मौलिक प्रभाव पछिसम्म कायम भयो ।” तर उहाँले जुन किसिमको मीठो नेपाली रचना गर्नुभयो, त्यसको आवश्यकता आज पनि देखिन्छ तर भाषावैज्ञानिक पारा र प्रविधिको उपयोग चाहिँ त्यसभित्र गर्नुपर्छ भन्छन् पोखरेल । गोपाल पाँडेले आफ्नो चेलो भेट्टाए तर कृष्णप्रसाद पराजुलीले विश्वविद्यालयका थुप्रै चेलाहरूलाई पढाए पनि आफ्नो असल चेलो भेट्टाएनन् । त्यसैले त अरू कोही राम्रो रचना मीठो नेपालीकै सन्तान अथवा उत्तराधिकारी बन्न सकेनन् । 

पराजुलीले जुन समयमा त्यो कृति लेखे, त्यतिबेला उत्कृष्ट त थियो नै, त्यही नमुना अझै पनि सान्दार्भिक छ । त्यही मीठो नेपालीमार्फत् कसरी व्याकरण सिकाउने भन्ने कुरा अझै पनि सान्दर्भिक छ । “तर व्याकरण सिकाउने जुन चिज हो, त्यो त भाषावैज्ञानिक आधारमा नै सिकाउँदा प्रभावकारी हुन्छ,” पोखरेल भन्छन्, “कृष्णप्रसाद पराजुलीको व्याकरण परम्परागत नै बढी भएकाले त्यसभित्र अझै भाषावैज्ञानिक आधार हाल्नुपर्छ । भाषावैज्ञानिक भर हालेर त्यही नमुनाको व्याकरण बनाउन आवश्यक छ ।”  

भाषाका क्षेत्रमा उनका अन्य पुस्तक पनि प्रकाशित छन् । ती सबै पाठकलाई सम्झन सहज होस् भनेर सरल तरिकाले लेखिएका छन् । उनले नेपाल प्रज्ञा प्रतिष्ठानको बृहत् नेपाली शब्दकोश निर्माणमा पनि विशेष योगदान दिएका थिए । प्राडा. गिरी भन्छन्, “शब्दकोश लेखनमा पनि उहाँ त्यतिकै सक्रिय हुनुहुन्थ्यो । २०४० सालको नेपाली बृहत् शब्दकोशको सम्पादक मण्डलमा रहेर काम गर्नुभएको हो ।  बालकृष्ण पोखरेल, वासुदेव त्रिपाठी, कृष्णप्रसाद पराजुलीको त्यत्तिकै योगदान छ ।” 

लोकसाहित्यमा पनि त्यतिकै योेगदान

पराजुली बहुआयामिक व्यक्तित्व हुन् । उनले व्याकरणमा मात्र नभएर लोकसाहित्यमा पनि उत्तिकै योगदान दिएका छन् । उनको ‘नेपाली लोगगीतको आलोक’ २०५७ सालमा प्रकाशित छ । यो कृतिमा लोक साहित्यका सिद्धान्त, लोकगीतका विधाहरु, लोकगीतको परम्पराबारे विस्तृत चर्चा छ । “नेपाली लोकगीतका आवाज २०५७ सालमा लेख्नुभयो, त्यतिको आधिकारिक पुस्तक अर्को छैन,” प्राडा मधुसूदन गिरी भन्छन्, “त्यस पुस्तकमा सिद्धान्त, सङ्कलन, विश्लेषण र प्रयोग छ ।” त्यही लोकगीतको आलोकमा लोक साहित्यको सिद्धान्त, लोकगीतको सिद्धान्त, लोकगीतको परम्परा र इतिहास पनि छ । अनि विविध प्रकारको लोकगीतको सङ्कलन गरेर त्यसको विश्लेषण गर्ने, सत्यापान गर्ने काम पनि उनले गरेको प्राडा गिरीको भनाइ छ । 

त्यस क्रममा उनले पूर्वदेखि पश्चिमसम्मका सबै क्षेत्रको लोकगीत सङ्कलन गरेका छन् । यी सबै सङ्कलन व्यक्तिगत रूपमा गरेका थिए, त्यसमा कुनै संस्था संलग्न नरहेको बताउँछन् प्राडा गिरी । 

“चाँचरी, धमारी, बालुन, सोरठी, घाटु, भारतलगायत लोकगीत सङ्कलन गर्नुभएको छ,” प्राडा. गिरी भन्छन्, “डोटी, कनक क्षेत्रका लोकगीत, डोटीका देवगाथा पनि सङ्कलन गर्नुभएको छ ।” यस क्रममा उनले राई, लिम्बू, शेर्पाहरूमा प्रचलित लोकगीत पनि सङ्कलन गरेका छन् । ती सामग्री जति चर्चामा आउनुपथ्र्यो, त्यति नआएको तर आधिकारिक, मानक र महत्त्वपूर्ण किताब भनेको नेपाली लोकगीतको आलोक २०५७ हो भन्छन् प्राडा. गिरी । यो कृति लोकसाहित्य विधाको निकै उच्च कोटिको र आधिकारिक पुस्तक मानिन्छ । उनले २०४४ सालमा गाउँखाने कथा कृति पनि प्रकाशित गरेका छन् । 

त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्न आउँदादेखि नै पराजुलीसँग नजिक रहेको बताउँछन् प्रडा. गिरी । “२०४६ सालमा कीर्तिपुरमा हामीले अध्ययन गर्दाखेरि साहित्य कुञ्ज स्थापना गरेका थियौँ, कविता प्रतियोगिता हुन्थ्यो, मैले पनि भाग लिएको थिएँ,” उनी भन्छन्, “त्यसको निर्णायक मण्डलमा कृष्णप्रसाद पराजुली र कुमारबहादुर जोशी हुनुहुन्थ्यो ।” त्यस प्रतियोगितामा आफू दोस्रो भएर पराजुलीसँग नजिकएको बताउँछन् प्राडा गिरी । 

बालसाहित्यमा विशिष्ट योगदान

भाषा–व्याकरण, लोकसाहित्यमा मात्र नभएर पराजुली बालसाहित्यमा पनि त्यतिकै सशक्त थिए भन्ने कुरा उनका बाल साहित्यसम्बन्धि कृतिहरुले प्रष्ट्याएका छन् । उनले सुनकेस्रा, जूनतारालगायतका बालकाव्य, बाल निबन्ध रचना गरेका छन् । हिमाली डाँफे भन्ने सर्वाधिक चर्चित बाल कविता सङ्ग्रह हो । चरी आयो भन्ने बालकविता सङ्ग्रह पनि उत्तिकै चर्चित भन्छन् प्राडा. गिरी । 

यसरी नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व कृष्णप्रसाद पराजुली विशेष गरी भाषा–व्याकरण, लोकसाहित्य, बालसाहित्य मुख्यतः तीन क्षेत्रमा चर्चित भए । उनी गीत, कवितालगायत सिर्जनाका क्षेत्रमा पनि त्यतिकै सशक्त छन् । उनका छोरा शास्वत पराजुली उत्तराधिकारीझैं बालसाहित्यलाई भने डोर्याएका छन् ।

साहित्य सिर्जना र उपलब्धि

काभ्रेपलाञ्चोकको भ्रमरकोटमा जन्मिएका पराजुलीले साहित्यरत्न (बीए) पूरा गरेका थिए । अधिकांश समय प्राध्यापन पेसा अपनाएका उनले परोपकार शीर्षकको कविता २०११ सालमा गोरखापत्रमा प्रकाशन गरी सार्वजनिक साहित्यिक यात्रा तय गरेका थिए । यसपछि उनको कलम ७९ वर्षको उमेर हुँदासम्म कहिल्यै रोकिएन । 

उनले आफ्नो जीवनकालमा सिर्जिएका अन्य पुस्तक निम्न छन्– पन्ध्र तारा र नेपाली साहित्य (जीवनी सङ्ग्रह), नौबेली (कथा सङ्ग्रह), सय थुँगा फूल (कविता सङ्ग्रह), आँखाभरि सपना मुटुभरि गीत (गीत सङ्ग्रह), भाषाको माया (भाषिक अनुसन्धान), नेपाली अध्ययन तथा अभिव्यक्ति (भाषा), प्रयोगात्मक भाषात्व नेपाली (व्याकरण), नेपाली उखान र गाउँखाने कथा सङ्ग्रह, पूर्व एक नम्बर (स्थान परिचय), बादलका बुट्टाहरू (कविता सङ्ग्रह), फूलपात (निबन्ध र पत्र परिचय), जूनतारा (बालकाव्य), सुनकेस्रा (बालकथा सङ्ग्रह), सुनौला तीन कुरा (बालकथा सङ्ग्रह), रमाइला नानी (बाल कविता सङ्ग्रह), हिमाली डाँफे (बालकथा सङ्ग्रह), सात गेडीको कथा (कथा सङ्ग्रह), नेपाली व्यावहारिक व्याकरण (व्याकरण) ।  

यस्ता विविध सिर्जनाले उनले जीवनमा धेरै माया र सम्मान पाएका थिए । तीमध्ये केही पुरस्कार, मान–सम्मानमा राष्ट्रिय बालकोष पुरस्कार, बालहितकारी पुरस्कार, कविता प्रतियोगितामा स्वर्ण पदक, नेप्रप्रद्वारा आयोजित कविता महोत्सवमा पुरस्कृत, झपट पुरस्कार, हरिहरशास्त्री सावित्री देवी पुरस्कार, ‘जगदम्बा–श्री २०६४’, विभिन्न व्यक्ति, सङ्घ, संस्थाद्वारा अभिनन्दनसमेत गरिएको थियो । आजीवन नेपाली भाषासाहित्य जगतमा निरन्तर समर्पण रहँदै विसं २०७० चैत २० गते ७९ वर्षको उमेरमा काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उनको निधन भयो ।