
१५ साउन, पोखरा । ६ महानगरपालिकाका प्रमुखहरुले संघीय संसदबाट महानगरपालिकाहरुका लागि छुट्टै ऐन जारी गर्न माग गरेका छन् । पोखरामा आयोजित महानगरपालिकाका मेयरहरुको बैठकपछि आज संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै महानगरपालिकाहरुका लागि छुट्टै ऐन माग गरिएको हो ।
‘…स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानूनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै महानगरपालिकाहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न समेत अनुरोध गर्दछौं,’ पोखरा घोषणापत्रमा उल्लेख छ ।
महानगरहरुबीच पारस्परिक सम्पर्क सञ्जाल प्रवर्द्धन गरी आपसी सहयोग र सहकार्यलाई ‘महानगर मञ्च नेपाल’ को माध्यमबाट संस्थागत गर्ने प्रण पनि मेयरहरुले गरेका छन् । महानगर मञ्च नेपालद्वारा प्रत्येक वर्ष पालैपालो महानगर सम्मेलन आयोजना गर्ने, हरेक महानगरमा नीति तथा योजना आयोग गठन गरी सञ्चालन गर्ने, संघीय तथा प्रदेश सरकारले अपनाएको व्यवस्था बमोजिम आवश्यक कानुनी प्रबन्ध गरी सबै महानगरको संगठन संरचनामा उपयुक्त संस्थागत व्यवस्था गर्ने पनि संयुक्त घोषणा पत्रमा उल्लेख छ ।
संयुक्त घोषणा पत्रमा काठमाडौं, ललितपुर, चितवन, वीरगञ्ज, विराटनगर र पोखरा महानगरपालिकाका मेयरहरुले हस्ताक्षर गरेका छन् ।