मन नमिले छुट्टिने कि परिवारै सिध्याउने ?

काठमाडौं : नेपाली समाजमा पति पत्नीको झगडालाई ‘लोग्नेस्वास्नीको झगडा परालको आगो’ भन्दै एकदमै सामान्य रुपमा लिने गरिन्छ। तर यो उखान बनेको वेलाको जस्तो समय अहिले छैन।

विस्तारै पाश्चात्य जीवन शैली अपनाउन थालेको अहिलेको हाम्रो समाजले पूर्वीय मूल्य मान्यता पनि चटक्कै छाड्न सकेको छैन र दुविधामा रुमल्लिएको छ।

दुविधामा हुनुको परिणामस्वरुप परिवार र समाजमा कहालीलाग्दो घटना हुन पुग्छन्। यस्तै घटनाको उदाहरण हो काठमाडौं उपत्यकाको काभ्रेस्थली पदमसालमा भएको एउटा परिवारको दुःखद अन्त्य।

उपत्यकामा सोमबार बिहान सिमसिम पानी परिरहेको थियो। तारकेश्वर नगरपालिका-२ मा पर्ने काभ्रेस्थली पदमसालमा पनि झरी परिरहेको थियो। विद्यार्थी पढ्न स्कुल जाने समय हुँदै थियो। गाउँलेहरू आ-आफ्नो काममा लागेका थिए।

पदमसालकी १३ वर्षीया आशिका पाण्डेलाई स्कुल लैजान उनको स्कुल बस आयो। सैनिक स्कुलमा पढ्ने उनी सधैँ समयमै स्टपमा आउँथिन् तर त्यस दिन उनी नआएकाले केही बेर पर्खिएका स्कुल बसका सहचालकले उनको सोधखोज गरे।

त्यसपछि गाउँलेले पनि सोधखोज गर्दै आशिकाको घरमा पुगे। स्कुल जाने समय भइसक्दा पनि घरको ढोका अझै बन्द थियो। घरका कोही पनि त्यति अबेरसम्म समेत उठेको जस्तो देखिएन।

आशिका र उनका बुवाआमा लगायतलाई बोलाइयो तर घरभित्रबाट कोही पनि बोलेन। धेरै बेरसम्म बोलाउँदा पनि ढोका नखुलेपछि प्रहरीलाई खबर गरियो।

प्रहरी आए र ढोका फोडेर घरभित्र पसे। भित्र पसेका प्रहरी त्यहाँको दृश्य देखेर स्तब्ध भए। आशिकासहित उनका बुवा ४१ वर्षीय दिनेश पाण्डे, आमा ३९ वर्षीया सुनिता, ८ वर्षको भाइ आशिक चारैजना रगतको आहालमा डुबेको अवस्थामा मृत भेटिए।

घटनास्थलमा पुगेका प्रहरी अधिकृतले भने, ‘बन्द कोठाभित्र उनीहरू सबैको शव भेटिएको थियो। बाबु नानीको शव ओछ्यानमा थियो भने बाबुआमाको भुइँमा लडेको अवस्थामा भेटिएको थियो।’

मृत अवस्थामा भेटिएको एउटा परिवारको सबै सदस्यको कसैले नृशंस तरिकाले हत्या गरेको हुन सक्ने प्रारम्भिक आँकलन प्रहरीले गर्‍यो। प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलनजिकै ८ पाना लामो सुसाइड नोट फेला पार्‍यो।

प्रहरीका अनुसार सुसाइड नोट दिनेशले लेखेका हुन्। दिनेशले लेखेको सुसाइड नोटमा पत्नी र छोराछोरीको हत्या गरेपछि आफूले आत्महत्या गर्ने उल्लेख गरेका थिए। छोराछोरीको टाउको तथा पेटका विभिन्न भागमा छुरा प्रहार भएको थियो भने दिनेशको पनि पेटमा छुरा प्रहार र नाडी काटिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

सुसाइड नोटमा दिनेशले वैवाहिक जीवनबाट आफू असन्तुष्ट रहेको खुलाएका छन्। साथै पत्नीले अन्य पुरुषसँग फेसबुक म्यासेन्जरमा गरेको कुराकानीको स्क्रिनसटको प्रिन्टसमेत उनले सुसाइड नोटमा नत्थी गरेर राखेका छन्। ​स्टिच गरिएका ती पेजमा दिनेशले बिहे अघिदेखिको सबै कुराहरू लेखेको प्रहरीले जनाएको छ।

यही घटनासँग मिल्दोजुल्दो अर्को घटना केही दिन अगाडि चितवनको भरतपुर महानगरपालिका-१० मा भएको थियो। भरतपुर महानगरपालिका-१० का कृष्णप्रसाद आचार्यले पत्नी रुस्मा घिमिरेलाई धारिलो हतियार प्रहार गरेर हत्या गरे र भाग्ने क्रममा छतबाट हामफालेर आफ्नो पनि ज्यान लिए।

यो हप्ता मात्र आएका उस्तै प्रकृतिका यी दुई घटनाले के पुष्टि भएको छ भने पारिवारिक समस्यालाई सहज ढंगमा शान्तिपूर्वक सल्टाउन नसक्दा व्यक्तिले आफूसँगै परिवार नै सखाप पार्न कति बेर लगाउँदैन।

यति मात्र नभएर यस्ता घटनाले सबैखाले समस्याको एकमात्र  समाधान मृत्यु हो भन्ने भाष्यसमेत निर्माण हुन थालेको देखाएका छन्।

‘वैदेशिक रोजगार विखण्डनको एकमात्र कारण नहुन सक्छ’

यी दुई घटनालाई ‘शंकाले जलाएको लंका’ का रूपमा लिन सकिन्छ भने हत्या गर्ने दुवैजना विदेशमा काम गरेर फर्किएका कारण वैदेशिक रोजगारले परिवारलाई विखण्डनतिर लैजाँदै गरेको हो कि भन्ने आशंका पनि जन्माउँछ।

सामाजिक सञ्जालमा यी घटनालाई वैदेशिक रोजगारले निम्त्याएको पारिवारिक विचलनका रूपमा पनि कतिपयले अर्थ्याएका छन्। 

दुवै घटनामा वैदेशिक रोजगारमा आर्जन गरेको कमाइ जोडिएको हिसाबले अधिकांशलाई वैदेशिक रोजगारले परिवारमा विकराल अवस्था सिर्जना गरेको हो कि भन्ने लाग्नु अस्वाभाविक होइन। तर यो नै मुख्य कारण मान्न नसकिने समाजशास्त्री दिनेश प्रसाई बताउँछन्। 

‘आधुनिक समाजमा श्रीमान श्रीमती सँगै बस्ने सम्भावना न्यून हुँदै गएको छ। यो आजको यथार्थ हो’, उनले भने, ‘आधुनिक समाजमा परिवारसँग नछुट्टिइकन जीवनयापन गर्नसक्ने अवस्था नै छैन। यो कुनै वैदेशिक रोजगारीको कुरामात्र होइन, देशभित्रै पनि श्रीमान श्रीमतीले एकै ठाउँमा बसेर रोजगार पाएका कति होलान्?’ 

तर कुनै मानिसले पूरै परिवार सिध्याएपछि आफूले समेत आत्महत्या गर्नुको कुनै एउटा मात्र कारण नहुने प्रसाईले बताउँछन्।

‘शंकाका अनेक कारण हुन सक्छन्। यौन एउटा विषय हुन सक्छ। सम्पत्तिका कारण, त्यस्तै अस्तित्व स्वीकार नगर्नु जस्ता कुरा पनि अन्य फ्याक्टर हुन्’, प्रसाईले भने, ‘परिवारले सहज जीवनयापन गर्ने कुरामा श्रीमान श्रीमतीबीचको अटुट विश्वास नै एउटा परिवार सुदृढ हुने मुख्य आधार हो। तर श्रीमान श्रीमतीबीचको विश्वासमा दरार पर्नु नै हो अहिले देखिएको पारिवारिक विखण्डनको मुख्य चुनौती।’

त्यसमाथि अहिले अनेकथरी सामाजिक सञ्जालले पारिवारिक विश्वास भत्काउने र पतिपत्नीबीच अविश्वास पैदा गराउने काम गरिरहेको उनको बुझाई छ।

‘हामीले प्रविधिलाई सही तरिकाले उपयोग गर्न नसक्नुले पनि आपसमा शंका उत्पन्न गराउने देखिएको छ। हाम्रोमा प्रविधिको पहुँच सहज भए पनि यसको प्रयोग कसरी गर्ने भन्ने विषयमा चेतनशील हुन भने नसकेको देखिएको छ’, उनले भने।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता रहेका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली पनि वैदेशिक रोजगारीलाई पारिवारिक बेमेलको एकमात्र मुख्य कारण मान्न नसकिने प्रसाईंको तर्कसँग सहमत छन्।

‘पारिवारिक जीवन सुन्दर बनाउन अवसरको खोजीमा हिँड्नु‚ केही पैसा कमाउनु र परिवार व्यवस्थापन गर्नु हरेक व्यक्तिको कर्तव्य हो। यस क्रममा परिवारको उचित व्यवस्थापन हुन नसक्नु, आर्थिक अपचलनको आरोप प्रत्यारोप हुनु र अन्तत: यसबाट निम्तिने असमझदारीले जघन्य अपराध बढिरहेका छन्’, प्रवक्ता एसपी मैनाली भन्छन्।

‘सम्बन्धविच्छेदलाई सहज ढंगले लिन नसक्नु’

नेपाली समाज परम्परागत सोच र आधुनिक जीवन शैलीको मझदारमा रहेको छ। अहिले हामी परम्परागत मूल्य मान्यता पूर्णतया छाड्न सकेका छैनौं भने आधुनिक जीवन शैली पूरै अपनाउन सकेका पनि छैनौं। 

केही समयअघि संयुक्त परिवार हुन्थ्यो। विवाहले एउटी नारीलाई एउटा पुरुषसँग मात्र नभएर एउटा सिंगो परिवारसँग जोड्ने गर्थ्यो तर अहिले त्यस्तो नभएको समाजशास्त्री प्रसाईं बताउँछन्।

प्रहरी प्रवक्ता एसपी मैनाली अहिले बिहे पनि हतारमा गर्नु, सामान्य समस्या पनि सुल्झाउन गर्न नसक्नु, निर्णय प्रक्रियामा पति पत्नी दुवैजना सामेल हुन नसक्नु र एकअर्काको अस्तित्व स्वीकार गर्न नसक्नुले खटपट शुरु हुने बताउँछन्। सामान्य खटपटलाई व्यवस्थित तरिकाले समाधान गर्न नसक्नुको परिणाम अन्तत: यस्ता कहालीलाग्दा घटना हुने देखिएको उनको बुझाई छ।

समाजशास्त्री प्रसाई भने नेपाली समाजमा सम्बन्धविच्छेद (पारपाचुके) लाई सहज  ढंगले लिन नसक्नुलाई परिवार सखाप पार्ने प्रवृत्ति बढ्दै गएको एउटा कारण मान्छन्। ‘विश्वासको कमी तथा पारिवारिक विचलन बढेको खण्डमा पारपाचुकेको बाटो पनि छ भन्ने तथ्यलाई हामीले सहज रुपमा लिन सक्नुपर्छ’, उनले भने।

परिवार बचाउन समाजको उत्तरदायित्व के? 

समाजमा दिनहुँजसो हत्या हिंसाका घटना बढ्दो छ। दुश्मनीका कारण हत्या गर्नु/हुनु अब नेपाली समाजमा पनि सामान्य हुन थालेका छन्। तर घरायसी विवादका निहुँमा परिवार नै सखाप पार्ने गरि विभत्स हत्या हुनुले समाज कुन दिशातिर जाँदै छ भन्ने देखाएको छ।

समाजका अगाडि एउटा सुन्दर परिवार एकाएक तहसनहस हुनु कुनै एउटा परिवारको मात्र विषय होइन। जसले कुनै सामान्य विवाद वा समस्याका कारण  कुनै पनि वेला आफ्नो पूरै परिवार तहसनहस गर्नसक्नेतर्फ हामी अघि बढ्न थालेको देखाएको छ।

अन्तत: यस्ता घटना र यसमा वैदेशिक रोजगारी जोडिएर आउनाले समाजमा एक किसिमको त्रास सिर्जना गरिदिएको छ। परिवारहरू समावेश भएर समाज निर्माण हुने भएकाले एउटा परिवार समाजसँग अभिन्न सम्बन्ध रहन्छ।

परिवारको झगडा अथवा पति पत्नीको आपसी कलहलाई समाजले एकदम सामान्य तवरबाट लिने गरेको छ। ‘बुढा बुढीको झगडा परालको आगो’ त हो भन्ने स्थापित पुरानो सोच अबको समयमा हटाउन अत्यन्त आवश्यक रहेको प्रहरी प्रवक्ता मैनाली सुझाउँछन्।

समाजशास्त्री प्रसाईले परिवारभित्रको समस्या अन्तत: समाजकै समस्या बन्ने भएकाले सामाजिक समस्याका रुपमा लिनुपर्ने बताउँछन्। समाजले श्रीमान श्रीमतीको झगडालाई गम्भिर रुपमा लिनुपर्ने उनको ठहर छ। श्रीमान श्रीमतीका कारण उनीहरूले सन्तानको  समेत हत्या गर्ने प्रवृत्ति बढेपछि समाजले श्रीमान श्रीमतीबीचको अविश्वास र विवाद हटाउन मध्यस्थता गर्नुपर्ने प्रसाईंको मत छ।

‘झगडा भए पनि समाजमा नलैजाने, भित्रभित्रै मिलाउने मान्यता अझै पनि छँदैछ। समस्या लुकाउने गरिन्छ। परिवारले आफ्नो समस्या अन्तिम समयसम्म लुकाएर राखेको देखिन्छ। यसले जटिल समस्या पैदा गरेको छ’, समाजशास्त्री प्रसाईंले भने, ‘समाजले पनि यो पारिवारिक समस्या मात्र हो भनेर नजरअन्दाज गर्नु पनि अहिले एउटा मुख्य समस्या हो।’

आफ्नो टोल वा समाजमा आँखाअगाडि परिवार नै तहसनहस पार्ने घटना हुनु छिमेकीलगायत अन्य गाउँलेका लागि पनि चिन्ताको विषय हो। बालबालिकाको मनोविज्ञानमा यसले गम्भीर समस्या देखिने सम्भावना हुने बताउँछन् समाजशास्त्री प्रसाईं।  समाजमा कस्ता प्रकृतिका घटना हुन्छन भन्ने कुराले बालबालिकाको मानसिक विकासमा ठूलो भूमिका खेल्छ। 

शहरमा जीवनयापन गर्ने प्रत्येक व्यक्ति र परिवार यतिसम्म एक्ला बनिसकेका छन् कि उनीहरू एउटै घरको अर्को कोठामा बस्ने वा छरछिमेकका कुनै अर्को व्यक्ति वा परिवारलाई चिन्दैनन्। कुनै एक परिवार वा व्यक्तिलाई समस्या पर्दा समाधान गरिदिने वा तत्काल सहयोग गर्ने अर्को व्यक्ति वा परिवार नै त्यहाँ हुँदैनन्।

एक घर वा परिवारको अर्को घर वा परिवारसँग समन्वय हुन नसक्नु भनेको समस्याका चाङ बढ्दै जानु हो। व्यक्ति व्यक्तिसँग, परिवार परिवारसँग समन्वय नहुँदा पनि काभ्रेस्थली पदमसालको जस्तो घटना बढ्ने गरेको प्रसाईं बताउँछन्।