संकटमा प्रधानमन्त्री ओली , एमाले विवाद मिलाउन राष्ट्रपति भण्डारी पनि सक्रिय

काठमाडौं, वैशाख २४ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी विभाजन रोक्न चाहने दोस्रो तहका नेताहरुसँग संवाद बढाउनु भएको छ ।

आफ्नो अहंका कारण पार्टी विभाजन पनि हुने र प्रधानमन्त्री पद पनि खुस्किने अवस्था सृजना भएपछि उहाँ कार्वाही गरेर निकालेका माधव नेपालसहितका नेतालाई सम्मानजनक स्थान दिनेगरी संवादमा जोडिनुभएको हो ।

पार्टीलाई विभाजनबाट रोक्न ओली र नेपाल पक्षमा रहेका दोस्रो तहका नेताहरुले केही दिनयता घनिभूत छलफल चलाइरहेका छन् । उनीहरु कसैगरी आज ओली र नेपालबीच निर्णयक संवाद गराउने गरी जुटेका हुन् । विहीवार ओली र नेपालबीच टेलिफोन संवाद भएको थियो ।

यसै सिलसिलामा प्रधानमन्त्री ओलीसँग नेपाल पक्षीय नेता घनश्याम भूषाल र योगेश भट्टराईले लामो संवाद गर्नुभएको छ । नेताहरु सुवास नेम्बाङ, ईश्वर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट पनि यसैका लागि दौडधूपमा हुनुहुन्छ ।

 

एमालेभित्रको विवाद मिलाउन राष्ट्रपति विद्या भण्डारी स्वयं अग्रसर हुनुभएको छ । नेता नेपालले विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सघन संवाद थालेपछि राष्ट्रपति भण्डारी आफै अग्रसर हुनुभएको हो ।

विहीबार मात्र राष्ट्रपति भण्डारीले नेता नेपालसँग आफ्नै निवास शितलनिवासमा लामो संवाद गरेर पार्टी विभाजनमा नलैजान सम्झाउनुभएको हो । त्यसका लागि आफूले अध्यक्ष ओलीलाई राखेरै सहमति गराउने बचन दिनुभएको दाबी स्रोतले गरेको छ । उहाँले प्रधानमन्त्री ओलीसँग पनि यसबारेमा संवाद गर्नुभएको छ । त्यसलगत्तै दोस्रा तहका नेताले प्रधानमन्त्री ओलीसँग लामो वार्ता गरेका हुन् ।

वाग्मती प्रदेशका लागि रिक्त राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयनको समय भएपनि एमालेले अझै उम्मेदवार तय गरेको छैन । सकेसम्म एकीकृत एमालेको एकल उम्मेदवारी दिने प्रयासमा नेताहरु रहेका छन् ।

यसअघि, प्रधानमन्त्री ओलीले नेपाल पक्षलाई कार्वाही गर्ने लक्षण देखाएपछि नेपाल पक्षले कांग्रेस र माओवादी केन्द्रसँग मिलेर डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

देवकोटा नेपाल पक्षका मानिनुहुन्छ । ओली पक्षले भने यसअघि नै माओवादी छाडेर एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउने जनाएको भए पनि जीत सुनिश्चित नभएपछि उम्मेदवारी घोषणा गर्न सकेको छैन ।

माधव नेपाल पक्षले २०७५ जेठ २ अघिको एमालेको केन्द्रीय कमिटी बैठक बस्नुपर्ने र त्यही कमिटीहरु सक्रिय बनाइनुपर्ने अडान राखेको छ भने अध्यक्ष ओलीले माहाधिवेशन कमिटीको बैठक राख्ने पक्षमा हुनुहुन्छ ।