एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थी बढे

काठमाडौं । नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या बढेको छ ।

चिकित्सा शिक्षा आयोगले सामेबार पत्रकार भेटघाटको आयोजना गरेर यस वर्ष २६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएको र यो संख्या गत वर्षको भन्दा ६ गुणा बढी रहेको जनाएको हो ।

चिकित्सा शिक्षाको पहुँच सामान्य मानिसहरूको पहुँचमा क्रमशः वृद्धि भइरहेको आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेले बताउनुभयो ।

उहाँले स्तरीकृत गरिएका मापदण्ड र सूचकको आधारमा विज्ञ समूहबाट चिकित्सा शिक्षा सञ्चालन गर्ने संस्थाहरूको सिट निर्धारण गर्ने पद्धति विकास भएको बताउनुभयो ।

काफ्लेले नेपालमा एमबीबीएस २१ वटा संस्थामा पढाइने गरेको र त्यहाँ १ हजार ८९५ विद्यार्थीले यो वर्ष पढ्न पाउने बताउनुभयो । यसवर्षस्नातक तहमा २ हजार २३२ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध रहेको उहाँको भनाइ छ ।

सदस्यसचिव काफ्लेले एमबीबीएसमा मात्रै ४३० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको बताउनुभयो । उहाँले विदेशी विद्यार्थीलाई नेपालमा करिव १३ सय सिट दिने गरेको उल्लेख गर्दै एमबीबीएसमा मात्रै ५५७ जनाले अध्ययन गर्न पाउने बताउनुभयो ।

कार्यक्रममा चिकित्सा शिक्षा आायेग अन्तर्गतको योजना, समन्वय तथा प्रज्ञिक उन्नयन निर्देशनालयका निर्देशक प्रा.डा. रमेशप्रसाद आचार्यले देशमा नर्सिङ पेशालाई व्यवस्थित बनाउन नसक्दा नर्स पढेर बेरोजगार बन्ने मात्रै काम भइरहेको बताउनुभयो ।

उहाँले नर्सिङ अध्ययन गर्नेले जागिर नपाएको भन्दै उहाँले यसलाई सरकारले थप चासोका साथ लिनुपर्ने बताउनुभयो । १० हजार नर्स बेलायत लगिँदैछ भनेर झुटो हल्ला फैलाएको पनि उहाँले बताउनुभयो ।

बेलायतसँगको सम्झौतामा स्वास्थ्य जनशक्ति क्रमशः लैजाने उल्लेख गरेको भन्दै यस्ता भ्रममा बस्न नहुने बताउनुभयो । नर्सिङ जनशक्तिको आवश्यक भए पनि गुणस्तर र सय शय्याको आफ्नै स्वामित्वको अस्पताल नभएको संस्थालाई नर्सिङ कार्यक्रम चलाउन नमिल्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै चिकित्सा शिक्षा आायेग अन्तर्गतको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक प्रा.डा. दिलिप शर्माले २०७९ सालमा हलसम्म एमबीबीएस अध्ययन गर्नका लागि १८८ जना नेपाली विद्याथी विदेश गएको बताउनुभयो ।

त्यस्तै बिएसी नर्सिङमा २९, एलाइट साइन्समा ६६ जना र फार्मेसी अध्ययनका लागि १७ जना विद्यार्थी नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएर विदेश अध्ययनका लागि गएको बताउनुभयो ।

निर्देशक शर्माले आधिकारिक रूपमा अनुमति लिएर विदेशिने ठूलो विद्यार्थीको संख्यालाई आयोगले कम गर्न सफल भएको दाबी गर्नुभयो । उहाँले अझै पनि एजेन्टको माध्यमबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या पनि ठूलो रहेको बताउनुभयो ।

निर्देशक शर्माले ६५ वटा चिकित्सा शिक्षा सम्बन्धी अध्ययन, अध्यापन गराउने क्याम्पसमा स्तरोन्नत्ति गरी सिट निर्धारण गर्ने सम्बन्धमा आयोगले चाँडै नै कतिवटा शैक्षिक संस्थालाई अनुगमन गरेर अध्ययनका लागि योग्य छन् भन्ने निर्णय गर्ने बताउनुभयो ।