नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

२४ साउन, काठमाडौं । नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको बारेमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालले प्राविधिक राखेर अध्ययन समिति बनाउने भएका छन् ।

नर्भिकलाई सार्वजनिक जग्गाको संरचना हटाउन २४ घन्टे अल्टिमेटम दिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) मंगलबार निर्देशन पालन भए नभएको हेर्न नर्भिक अस्पतालमा पुगेका थिए ।

नर्भिकले आफूले कानून अनुसार जग्गा भाडामा लिएको र त्यहाँ अस्पतालका लागि अत्यावश्यक अक्सिजनसहितका सामग्री भण्डारणमा रहेको बताएको थियो । त्यसपछि महानगर र अस्पताल प्राविधिकसहितको समिति बनाउन सहमत भएका थिए ।

प्राविधिकसहितको समितिले प्रतिवेदन बुझाएपछि मात्र नियमानुसार भत्काइने भन्दै महानगरका मेयर बालेनसहितको टोली फर्किएको छ ।

नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको महानगरको भनाइ छ ।