आज तीन प्रदेशमा भारी वर्षा, काठमाडौंको तापक्रम ३१.५ डिग्री सेल्सियस

काठमाडौं : बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै प्रदेश १, बागमती र गण्डकीका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

विभागले आगामी २४ घण्टामा प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। ती भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन\यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २०.५ डिग्री र अधिकतम तापक्रम ३१.५ डिग्री सेल्सियस छ।