नेपालका लागि चीन एउटै छ जहिले पनि

चाहे हिजोका दिनमा होस् या आज, हामी नेपालीहरु एक चीनको पक्षमा छौँ । चीनले पनि नेपालबाट जहिले पनि त्यसप्रकारको सहयोग चाहेको छ ।

चीन नेपालको सम्बन्ध स्थापना गर्ने अवस्था देखिनै हामी त्यसको पक्षमा छौँ र त्यसको मुख्य बेला भनेको नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको समयमा देखिएको थियो ।

आज पनि चीनले त्यो समयको स्मरण गरिरहन्छ र हालै भएको चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियानछाउको सुन्दरीजल भ्रमणले पनि स्पष्ट पार्छ । स्मरणीय छ, सुन्दरीजलको तत्कालीन बीपीको जेलजीवनको स्मरणमा त्यहाँ बीपी संग्रहालयको स्थापना गरिएको छ र लिउले त्यहाँको अवलोकन गरेर बीपीप्रति श्रद्धा व्यक्त गरेका थिए ।

नेपाल एक चीनको पक्षमा सधँै रहेको छ । जुनबेलामा शक्तिशाली चीनको नाममा संयुक्त राष्ट्रसंघमा आफ्नो देशमात्र मुख्य चीन हो भनेर फर्मोसा या अहिलेको ताइवान सुरक्षा परिषद्को स्थायी सदस्यको रुपमा शक्ति राष्ट्र बनेर बसेको थियो, त्यो बेलामा नै नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले मुख्य चीनको प्रतिनिधित्व विना राष्ट्रसंघ अपुरो छ भनेर हुँकार गर्नु भएको थियो ।

त्यो बेलामा चीन तिब्बतको समस्यामा थियो, ताइवानको भूमिमा कोमिन्ताङ्को राज्य थियो र तिब्बती दलाई लामा भागेर भारतमा शरणमा थिए । नेपालले त्यो बेलामा जुन बेला चीन एउटा शक्तिराष्ट्रको रुपमा देखिने सुरसारमा थियो, नेपालले भन्दै आएको हो, चीनको आन्तरिक समस्याको कुरा चीनले मिलाउने हो, नेपालका लागि चीन एउटै छ ।

हिजो चीन र सोभियत संघ एउटै धुरीमा थिए, नेपाल चीनको पक्षमा नै थियो । चीन र सोभियत संघका बिचमा सम्बन्ध बिगँदा पनि नेपाल चीनको पक्षमा नै थियो ।

चीनले नेपालका लागि गर्ने जति पनि सहयोग छ, ती सबै निःस्वार्थरुपमा गर्छ भन्ने नेपालीहरुमा विश्वास छ । त्यसैले चीन र नेपालको सम्बन्ध , छिमेकीका रुपमा समेतको सम्बन्ध विवादरहित, समस्यारहित र स्वार्थरहित मानिन्छ ।

हामी नेपालीहरुमा भारतबाट हुने बेलामौकामा पेलान हुँदा हाम्रो असल साथीका रुपमा चीन छ नि भन्ने ढाढस पाइन्छ आफैँमा जबकि भारतसँगको सम्बन्ध भनेको भाषागत, संस्कृतिगत र रहनसहनगतका कारणले पनि अविच्छिन्न रहेको छ ।

अझ भनिन्छ, रोटी र बेटीको सम्बन्ध छ । त्यसो त शेर्पा समुदायको, उत्तरी भेगका बासिन्दाहरुको पनि चीनसँग रोटी बेटीको सम्बन्ध पक्कै छ होला र पनि भारतसँग खुला आवतजावतका कारणले त्यसो भनिन्छ ।

अरु त अरु, नेपालको नागरिकताको कानुन बन्दा पनि सबैभन्दा बढी बहस हुने भनेकै भारतबाट विवाह गरेर आउने बुहारीहरुको विषय चर्कोरुपमा आउने गर्छ र कतिवर्षमा उनीहरुलाई नागरिकताको प्रमाणपत्र दिने भन्नेमा नेपालमा सधैँ बहस हुन्छ जबकि कानुन बनाउने ठाउँमा नै भारतबाट नेपालमा आएका बुहारीहरुको पनि उपस्थिति देखिन्छ ।

भारतले नेपालमा सूक्ष्म व्यवस्थापन गर्छ भन्ने आरोप छ पहिलेदेखि नै । त्यसो त कुनै पनि कूटनीतिक सम्बन्ध भएको देशमा आफ्ना हितमा जुनसुकै देशले पनि त्यहाँ व्यवस्थापन गर्ने चलन स्वाभाविकै हो किनभने दौत्य सम्बन्धको कडी नै आफ्ना आफ्ना हितका लागि सम्बन्ध बढाउने हो ।

नेपालमा चीनको प्रभाव सकारात्मकरुपमा लिइन्छ । खासगरी सगरमाथा जस्तो विश्वको सर्वोच्च शिखरका बारेमा विवाद हुँदा चीनले नेपालको चुचुरो हो भनेर सम्झौता गरेर दिएकोमा हामी कृतज्ञ छौँ र त्यसका लागि तत्कालीन प्रधानमन्त्री बीपी कोइराला, चीनका तत्कालीन अध्यक्ष माओत्सेतुंग र प्रधानमन्त्री चाउएनलाईको सुझबुझपूर्ण निर्णयलाई हामी नेपालीहरुले नमन गरिरहेका छौँ सदैव ।

यता केही समयदेखि चीनले बढी नै नेपालबाट आफ्नो भूमिविरुद्ध कुनै काम कार्बाही नहोस् भन्ने कुराको प्रत्याभूति मागिरहेको बुझ्न सकिन्छ ।

भारतले पनि त्यस्तै प्रत्याभूति मागेको बुझिन्छ । चीनले कुन देशलाई बढी इंगित गरेको होला स्पष्ट नभने पनि आजको अति प्रतिस्पर्धीका विश्व राजनीतिमा रहेका अमेरिका र चीन, अमेरिका र रुस, चीन र भारत, चीन र जापान, चीन र अस्ट्रेलिया सतहमा देखिन्छन् । भर्खरै मात्र अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको औपचारिक भ्रमणले उत्पन्न गरेको तनावको प्रतिध्वनिले संसार नै तरंगित भएको छ ।

नेपालका लागि चीन एउटै हो । ताइवानको समस्या चीनको आन्तरिक समस्या हो । कुनै पनि रक्तरञ्जित विद्रोह विना नै ताइवान समस्याको समाधान होस् भन्ने नेपालीहरु चाहन्छन् । ताइवानले राज्यको मान्यता आधिकारिकरुपमा नै त्यसैदिन गुमायो विश्वका लागि जुन दिन चीनले संयुक्त राष्ट्रसंघमा सदस्यता प्राप्त ग¥यो र विवादमा रहेको अमेरिका —चीन सम्बन्धमा पनि अमेरिकाका लागि एउटै चीन हो भनेर अमेरिकी सरकारले अहिलेको विवादमा पनि स्पष्ट गरेकोले बुझिन्छ ।

शक्ति राष्ट्रहरुका कुरा बुझिँदैनन् । एउटा कुरा भन्छन् तर अर्कै काम गरेको पाइन्छ । नेपाल जस्तो देशले यस्ता कुराको पछि लाग्ने हो भने हाम्रो अस्तित्वमा सधैँ ग्रहण लाग्न सक्छ । आजको ताइवानको शक्ति भनेको पृष्ठभूमिमा अमेरिका नै हो र पनि ताइवान आफैँमा पनि एउटा शक्तिको रुपमा सम्झन्छ ।

विश्व रंगमञ्चमा, खासगरी ताइवानले खेलकुदको क्षेत्रमा चीनको एउटा अंगको रुपमा चाइनिज ताइपेइको रुपमा भाग लिइरहेको छ र पदकको संख्या जोड्दा चीनको नाउँमा जोडिन्छ । यसरी ताइवान एउटै देशको अंगको भन्ने प्रमाणित भएकै छ ।

नेपालले ताइवानलाई एउटा बेग्लै देश भनेर कहिल्यै मानेको छैन, मान्दैन । तर हामीलाई लाग्छ, चीनले पनि ताइवानको एकीकरणलाई महत्वका साथ लिनु पर्छ किनभने ताइवान एकपटक बेग्लै बसिसकेको छ, बेग्लै राजनीतिक संस्कार हुर्काएको छ , बेग्लै सुरक्षा संयन्त्र चलाएको छ र आर्थिक नीतिको पनि बेग्लै संरचना छ । त्यसो त हङकङ पनि एकीकृत भएको छ । अलि फरक देखिन्छ हङकङ र ताइवानको समस्या र पनि दुई राजनीतिक प्रणाली अभ्यासमा देखिन्छ ।

ताइवानले पनि एकीकरणका लागि आफूलाई तयारी गर्नुपर्छ किनभने ताइवानले चीनसँग भौतिकरुपमा युद्ध गर्न पनि मुस्किल छ ।

चीनले ताइवानलाई एकीकरण गर्ने प्रयासमा बल प्रयोग गर्ने भन्दा सम्झाउने, बुझाउने र ताइवानमा नै कति वर्षभित्र चीनमा एकीकरण गराउने भन्ने बारेमा छलफल गर्नु जरुरी छ । अमेरिकी सभामुखको भ्रमणले त यति विवाद र तनाव बढेको छ भने साँच्चै आफ्नै भूभाग एकीकृत गर्नका लागि चीनले युद्धको अभ्यास नै गरेमा विश्व राजनीतिमा ठूलो ध्रुवीकरण हुनेछ ।

त्यो ध्रुवीकरणले एसिया प्रशान्त क्षेत्रका लागि मात्र होइन कि विश्वमा नै तनाव आउने छ । त्यो बेलामा चीन र ताइवानको पक्ष विपक्षमा लाग्नेहरुका लागि निहुँ हुनेछ र विश्वमा फेरि एकपटक हतियारको होडबाजीले मौका पाउने छ ।

चीनजस्तो परिपक्व राजनीति र कूटनीति अभ्यास गर्ने देशलाई आजको विश्वको अवस्था थाहा छैन भन्ने होइन । त्यसैले उत्तेजनाका आएर ताइवानमा आक्रमण गर्दा र ताइवानलाई उत्तेजनामा ल्याएर चीनसँग भिड्न लगाउने दुवै काम खतरनाक हुन्छन् ।

नेपालीहरुको चाहना जहिले पनि एक चीनको पक्षमा हुन्छ र छिमेकी भएको नाताले चीनको आन्तरिक समस्या शान्तिपूर्वक तरिकाले समाधान होस् भन्ने चाहन्छौँ । बारम्बार नेपालले एक चीनको पक्षमा भनिरहँदा पनि चीनले एक चीनको र चीन विरुद्ध नेपालको भूमि प्रयोग नहुने प्रत्याभूति मागेको प्रसङ्ग यहाँ स्मरणीय छ ।

चीनले पनि नेपालको अन्य देशसँगको सम्बन्धमा धेरै वास्ता गर्नु हुँदैन र धेरै शंका उपशंका गर्नु हुँदैन किनभने हामी असंलग्न छौँ र कतै पनि संलग्न हुन सक्दैनौँ । कसैको सुरक्षा छातामा बस्न सक्दैनौँ ।

चीन र भारतको सम्बन्धका आधारमा, भारत र अमेरिकाको सम्बन्धका आधारमा र चीन र अमेरिकाको सम्बन्धका आधारमा नेपालले ती देशहरुसँगको सम्बन्ध बढाउने, घटाउने र विच्छेद गर्ने भन्ने हुँदैन ।