
२६ असार, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्ययन सुरु हुने भएको छ ।
समिति सचिवालयका अनुसार उपत्यका बाहिर रहेका समिति सदस्यहरू काठमाडौं फर्किइसकेका छन् । ‘शुक्रबार प्रतिनिधि सभाको बैठक छैन् । यसकारण पहिलो बैठक शुक्रबार नै राखौं भन्ने भएको छ । तर, कुन समयमा बस्ने तय गर्न बाँकी छ,’ समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टले जानकारी दिए ।
महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रतिनिधि सभाले २२ फागुनमा संविधानअनुसार महाअभियोग सिफारिस समिति बनाएको थियो । २९ फागुनमा प्रतिनिधि सभामा पेस भएको उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर २२ साउनमा महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।
बढीमा ३ महिनाको समय पाउने भए पनि ४ मंसिरमा तोकिएको प्रदेश र प्रतिनिधि सभाको चुनावमा कारण सिफारिस समितिले पूरै तीन महिना पाउने छैन ।
निर्वाचन आयोगका अनुसार २३ असोज उम्मेदवारी दर्ताको समय तोकिएकाले त्यसभन्दा अगावै महाअभियोग सिफारिस समितिको सिफारिस सहितको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएर, उक्त प्रतिवेदनमाथि छलफल भएर निर्णयार्थ पेस गरि महाअभियोगको छिनोफानो भइसक्नुपर्नेछ ।
समयको चाप भएकाले पहिलो बैठकबाटै समिति अध्ययनमा केन्द्रित हुने, कार्यविधिलगायतका कार्य सचिवालयले तयार गरिसकेकाले सामान्य छलफल गरेर पहिलो बैठकमा पारित गरिने समिति सदस्यहरू बताउँछन् ।
११ सदस्यीय महाभियोग सिफारिस समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।