२८ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमै परीक्षा नलिने र नतिजा प्रकाशन नगर्ने हो भने नेपालको शिक्षा प्रणाली बेथितीमा जाने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजासम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न कारण देखाएर समयमै काम नगर्ने हो भने शिक्षा प्रणाली बेथितिमा जाने बताएका हुन् ।
मन्त्री पौडेलले इच्छाशक्ति भए सबै ठाउँमा शैक्षिक गुणस्तरको सुधार गर्न र विद्यार्थीलाई सक्षम बनाउन सकिने बताए ।
मन्त्री पौडेलले शिक्षा सेवाको क्षेत्र भएकोले सेवा सुविधा पाइनँ भनेर पढाउन छोडेर आन्दोलन गर्न जान नमिल्ने पनि बताए । उनले बाहिरबाट एसईई नतिजा सकारात्मक देखिए पनि भित्री पाटोबाट हेर्दा सन्तुष्ट हुने ठाउँ नरहेको दाबी गरे ।

