काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उम्मेदवार बनाएर देखाउन अन्य राजनीतिक दललाई चुनौती दिनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेकपा एमालेले काठमाडौं महानगरपालिकामा २९ वर्षको उपमेयर बनाएको उल्लेख गर्दै अन्य पार्टीलाई २९ वर्षका युवालाई उम्मेदवार बनाउने हिम्मत गरेर देखाउन चुनौती दिनुभएको हो ।

अध्यक्ष ओलीले आफ्ना नयाँ युवा शक्तिहरुलाई अघि सारेर ज्येष्ठ नागरिकका कुरा सुनेर अघि बढ्नुपर्ने बताउनुभयो ।

देशमा हिंसा सिर्जना भएका कारण युवाहरु परिवार पाल्न विदेश जानुपरेको बताउनुभयो । उहाँले यो क्रम माओवादी जनयुद्ध सुरू भएपछि युवाहरु विदेश पलायन भइरहेको बताउनुभयो ।

उहाँले विदेश पलायन हुने युवाको अवस्था भयावह रहेको बताउनुभयो ।

याे पनि पढ्नुहाेस ।

एमालेभित्र टिकट वितरणमा कुनै विभेद हुँदैन : ओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्र टिकट वितरणमा कुनै विभेद नहुने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो भाइलाई राजदूत वा सांसद बनाउने कुनै मनसाय नरहेको बताउनुभयो ।

आफूले भाइ, बहिनी श्रीमती वा सालोप्रति कुनै पदका निम्ति मरिहत्ते नगरेको बताउँदै एमालेभित्र टिकट वितरणमा कुनै विभेद नहुने प्रतिवद्धता जनाउनुभयो ।

‘एमालेभित्र टिकट वितरण क्षमतावानलाई हुनेछ । योग्यता पुगेकाहरूले टिकट पाउनेछन् । कसैप्रति भेदभाव हुनेछैन,’ उहाँले भन्नुभयो ।

एमाले सन्तुलित र दीगो विकासका एजेन्डा लिएर चुनावमा अघि बढ्ने उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले बिरामी भइहाले उपचार गराउने पैसा आफूसँग नभएको पनि बताउनुभयो । आफूले व्यक्तिगत सम्पत्ति राज्यलाई दिएको उहाँले बताउनुभयो ।