हात्तीको आक्रमणबाट गम्भीर घाइते

काठमाडौं : सिराहाको गोलबजार नगरपालिका ३ जरुवाका ३८ वर्षीय रामकुमार दनुवार हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका छन्।

घरबाहिर शौचालय जाने क्रममा आज बिहान करिब ५ बजे दनुवारलाई दुइ वटा जंगली हात्तीले आक्रमण गरेको सिराहाका एसपी अर्जुन तिमिल्सेनाले  जानकारी दिए।

हात्तीको आक्रमणबाट दनुवारको ढाड र शरिरको अन्य भागमा चोटपटक लागेको छ। घाइते उनलाई गोलबजारस्थित एक क्लिनिकमा सामान्य उपचारपछि लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको एसपी तिमिल्सेनाले बताए। 

जंगली हात्तीको समूहले हिजो र आज लहान र गोलबजारका सात घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।