नेता गिरिको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने, अन्त्येष्टि आजै

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार मेडिसिटी अस्पतालपछि पार्टी केन्द्रीय कार्यालय राखिने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका अर्पण गर्ने कार्यक्रम राखेको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा बिहान ९ बजेदेखि ११ बजेसम्म र त्यसपछि साढे ११ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय उनको शव राखिनेछ ।

पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि गिरिको आजै दिउँसो पशुपतिमा अन्त्येयष्टि गरिने मुख्य सचिव पौडेलले जानकारी दिए ।

७५ वर्षीय गिरिको शनिबार राति साढे ९ बजे उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

भारतमा क्यान्सरको उपचार गराएर फर्किएका गिरि स्वास्थ्यमा समस्या भएपछि साउनको दोस्रो साता मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।

गिरिको निधनबाट सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमायौं : राष्ट्रपति भण्डारी

५ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन् ।

उनले आज ट्वीट गर्दै सो कुरा बताएकी हुन् । राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ । उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं ।’ उनले गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेकी छन् ।

 

भारतमा क्यान्सरको उपचार गराएर फर्किएका गिरि स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य जटिल बनेको खबर पाएपछि राष्ट्रपति भण्डारी गिरिलाई भेट्न अस्पताल पनि गएकी थिइन् ।

गिरिको निधनबाट स्तब्ध भएँ : प्रधानमन्त्री देउवा

५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको निधनबाट स्तब्ध भएको बताएका छन् । गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको देउवाको भनाइ छ ।

ट्वीट गर्दै देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तव्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ ।’

देउवाले गिरिको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।