सम्झौताअनुसार पानी नछोड्दा कृषक मारमा

वीरगन्ज । छिमेकी देश भारतले गण्डक नहरमा सम्झौताअनुसार पर्याप्त पानी नछोड्दा नहरको पानी वितरणमा समस्या भएको छ ।

भारतले हाल नहरका ४ समयदेखि ४ सय ५० क्युसेकसम्म मात्र पानी पठाइरहेको छ । जसका कारण सिँचाइ हुन नसक्दा धानखेत पटपटी फुट्न थालेको र धानबाली सुकेको किसानले दुखेसो पोखेका छन् । मागअनुरुप सिँचाइका लागि पानी वितरण गर्न नसकिएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर सुबोध कुशवाहाले बताउनुभयो ।

गण्डक सम्झौताअनुसार भारतले बर्सेनि धानबालीका लागि असार १५ र गहुँबालीका लागि पुस १० देखि नहरमा ८ सय ५० क्युसेक पानी पठाउनुपर्छ । नवलपरासीको भैंसालोटनस्थित नेपाल भारत सीमामा निर्मित ब्यारेजबाट भारतले नहरमा पानी छोड्ने गर्छ ।

भारतमै ९२ किलोमिटर यात्रा गरेर नहरको पानी पर्साको जगरनाथपुर गाउँपालिकाको जानकीटोलबाट नेपाल प्रवेश गर्छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।