कोरोनाको सुनामी आउनु भन्दा पहिले नै …….

हरिविनोद अधिकारी

कोरोना कहरको दोस्रो छालले विश्वभर नै अचानक छोपेको छ र फेरि हाम्रो स्वास्थ्य अवस्थालाई नंग्याउन थालेको छ । हाम्रो छिमेकी देश भारतमा त यसले ताण्डव नृत्य नै देखाउँदैछ र त्यसको प्रभाव नेपालमा पनि स्पष्टतः देखिन थालेको छ । सरुवा रोग विशेषज्ञहरुको अनुमान र तथ्यका आधारमा भन्ने हो भने भारतमा देखिएको कोरोना सुनामीको १५ दिनदेखि १ महिनाभित्रमा नेपालमा पनि त्यस्तै प्रभाव देखाउन सक्छ किनभने भारतमा बिचल्लीमा परेका र त्यहाँको अवस्था सहज नभएपछि आफ्नो घर आउने नेपालीहरु संगै विषाणु पनि आउन सक्ने सम्भावना देखिन्छ । नेपाल र भारतको भौगोलिक अवस्था र खुला सीमानाका कारणले आवत जावतमा जति कडाइ गरे पनि सम्भव हुन सक्दैन । सीमामा स्वास्थ्यको लागि व्यवस्था गर्न सकिन्छ तर घर आउने नेपालीहरुलाई रोक्न सकिँदैन र पोहोर अव्यवस्थित र विना तयारी रोक्दा झन त्यहीँ कोरोनाले नेपालीहरुलाई आक्रान्त पारेको थियो । सीमासम्म हिँडेर आएका नेपालीहरुको जिम्मा न त भारतीय पक्षले लियो, न त नेपालमा प्रवेश गर्न नसकेकाहरुको जिम्मा नेपालले नै लियो ।

वास्तवमा विश्वको जुनसुकै भागमा रहेका नेपालीहरुको जिम्मा त नेपालले लिनुपर्छ यदि जानकारी पाएमा । झन अहिलेको जस्तो वैश्विक समस्यामा त मानवीय कुरा हो , जसले पनि जहाँ पनि जहिले पनि एकअर्कालाई सहयोग गर्नुपर्छ र मात्र मानवताको रक्षा हुन्छ । तर अहिले भारतको अवस्था कस्तो छ भने दैनिकरुपमा करिब ४ लाख मानिसहरु कोरोनाबाट संक्रमित छन् र करिब ३ हजार मानिसहरुले ज्यान गुमाइरहेका देखिन्छन् । विश्वका देशहरु भारतलाई कसरी यो अवस्थामा सहयोग गर्न सकिन्छ भनेर तम्सिएका छन् । भारतको त्यो सुनामीको लक्षणले नेपाललाई पनि छोएको छ र अचानक देखिएको कोरोना कहरको कसरी व्यवस्थापन गरेर जनताको ज्यान बचाउने भन्नेमा लागेको देखिन्छ ।

एकप्रकारले भन्नुपर्दा हामी जनता पनि निस्फिक्री हुन थालेका थियौँ र सरकारले त पहिलेका भएका , तयार पारिएका आपतकालीन पूर्वाधारहरुको समेत जगेर्ना गर्न सकेको थिएन र फेरि कहिल्यै पनि कोरोना फर्कने छैन भनेर नयाँ तयारी पनि केही गरेको छैन । बालुवाटारबाट अस्पतालको शिलान्यास गर्दैमा न त आवश्यक अस्पताल निर्माण गर्न सकिएको थियो , न आउन सक्ने कोरोना सुनामी छालको कल्पना नै गर्न सकिएको थियो । नेपाली उखान छ—स्याल मार्न जाँदा बाघको शिकार गर्ने तयारी गर्नुपर्छ किनभने झाडीतिर त बाघ पनि भेटिन सक्छ या बाघ पनि स्यालको शिकार गर्नका लागि त्यतै झाडीतिर लुकेर बसेको हुनसक्छ ।

वास्तवमा यो पटक , दोस्रो छाल आउनु अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने वैश्विक अवस्थालाई समीक्षा गर्दै चेतावनी दिइरहेको थियो कि कुनै पनि बेलामा फेरि कोरोनाको कहर मुलुकले भोग्नुपर्छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी त कतिपय सरकारी भेलामा समेत जान छोड्नु भएको थियो किनभने उहाँको चेतावनीलाई अटेर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रमुख आतिथ्यमा कार्यक्रम हुने गरेका थिए र सदनमा पनि उहाँले पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई जबाफ दिँदै स्वास्थ्यको प्रोटोकल नमान्नेमा पूर्व स्वास्थ्यमन्त्रीसमेत देखिनु भयो अनि गगन थापाले सदनमा नै त्यसमा आफ्नो कमजोरी स्वीकार गर्नु भएको थियो । अर्थात् अहिले देखिएको कोरोनाको छालले सुनामीको रुप लिनसक्ने कुरामा अनुमान गर्न सकिन्छ र कसरी नेपाली जनताको स्वास्थ्य सुरक्षा गर्ने भन्ने योजनाको मूर्तरुपको कामना गर्न सकिन्छ ।

एकातिर स्वास्थ्य सुरक्षामाथि आएको प्राकृतिक र टार्न नसकिने चुनौतीले मुलुकलाई जर्जर पार्न थालेको छ भने यो बेलामा पनि गर्न सकिने स्वास्थ्य सुरक्षामा अझै सरकारको ध्यान पुग्न थालेको देखिँदैन । मानिसहरुलाई एकठाउँबाट अर्को ठाउँसम्म गएर रोग सार्न र रोग लिन नसक्ने त गरिन्छ लकडाउन वा सर्टडाउन गरेर , तर त्यसबाट पर्ने असरले दैनिक रोजगारीको अवस्थामा पनि कसरी मुखमा माड लगाउने भन्ने पनि छ । आर्थिक अवस्था जर्जर हुँदैछ वारम्बारको वैश्विक समस्याले । झन पोहोरदेखिको निरन्तर कोरोना कहरले गर्दा परेको मानसिक, सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक असरले बालक तथा बृद्धमा पर्ने मानसिक दबाबको लेखाजोखा गर्न सकिएको छैन । आत्महत्याको दर अचानक उकालो लागेको देखिन्छ र मानसिक विषादको पनि उस्तै समस्या देखिएको बताइन्छ ।

यसबिच शैक्षिक अवस्था झन विकराल भएको छ । करिब १ करोड मानिसहरु—बालबालिका , किशोर किशोरी तथा युवावस्थामा पदार्पण गर्न थालेका उमेरमा मानिसहरु— घरमै बसेर आफूलाई भविष्यको तयारी गरिरहेको अवस्था छ , जुन भविष्यको कुनै गन्तव्य देखिएको छैन । पढाइ, खेलाइ, कक्षा कोठाहरुको अन्तक्र्रिया र परीक्षाहरुको अवस्था अन्यौलपूर्ण भएको छ । विश्वविद्यालयहरुको पढाइको क्यालेन्डर चौपट भएको छ र भावी पुस्ताले आफ्नो शैक्षिक भविष्य अन्धकार देख्न थाल्नु मुलुकका लागि सबैभन्दा अन्धकारको विषय हुन थालेको छ । तर दोष कसैको पनि छैन तर मुलुकमा आउन सक्ने कोरोना कहरको तयारी गर्न नसक्नुमा अन्ततः दोष र उत्तरदायी त सरकारलाई नै मान्नुपर्छ । झन अहिले त सरकार पनि तीन तीन तहका छन् ।

अबको कोरोनाको उपचार भनेको तयारी हो कहीँ कतै पनि जनताले आफूलाई एक्लो महसुस गर्न नपाऊन् । अभिभावकविहीन जनताको रुपमा आफूलाई नपाऊन् । सबैलाई संवेदनशील भएर व्यवहार गरियोस् चाहे संक्रमित विरामीलाई स्याहार सुसार गर्ने कुरामा होस् या अग्रपंक्तिमा बसेर सेवा गर्नेहरुलाई दिइने सेवा सुरक्षाको प्रश्नमा होस् । फजुल खर्चमा मुलुकलाई ऋणको भार बोकाउनु भन्दा जनताको जीवनस्तर बचाउनका लागि जसरी पनि जहाँबाट पनि सहयोग लिन सकिन्छ र बचाउन सकिन्छ । राज्यले जनतालाई बचाएमात्र राज्यलाई पनि जनताले बचाउँछन् । जनताको जीवन बाँचेमात्र जनताले राज्यलाई दिने कर तिर्नेछन् र राज्यको ढुकुटी भर्नेछन् । मौकामा हीरा फोर्नुपर्छ । सरकारले खोपको सीमितरुपमा भए पनि गरेको व्यवस्थालाई जनताले सह्राएका छन् र आगामी दिनमा पनि स्वास्थ्यको वारेमा , शिक्षाका वारेमा र अन्य आधारभूत आवश्यकता पूरा गर्ने मामिलामा सरकार नचुकोस् ।

विद्यालय र विश्वविद्यालय तहका परीक्षाका वारेमा धेरै चिन्ता किन नलिउँ भने जसले अध्यापन गराएका हुन् , तिनले परीक्षाको असल व्यवस्थापन र मूल्याङ्कनको पनि ठिक व्यवस्थापन गर्न सक्छन् । अहिले सरकारको पहिलो कर्तव्य भनेको स्वास्थ्य मन्त्रालयले गरेको अनुमान अनुसारको दैनिकरुपमा करिब ११ हजारसम्मको संख्यामा संक्रमण हुन सक्ने कोरोना कहरका लागि तयारी गर्ने हो । अहिलेसम्म करिब २०लाख नेपालीले पहिलो खोप पाएका छन् र ३लाखजति नेपालीले दोस्रो खोप पाएका छन् । संसारको अहिलेका अवस्था हेर्दा तत्काल खोपको व्यवस्था सबैका लागि एकै ठाउँबाट होला , नहोला । विभिन्न देशहरुसँगको सहयोग र समन्वयबाट खोपको व्यवस्था जरुरी छ र बढ्दो संख्यामा देखिएका संक्रमितलाई स्वास्थ्य सुरक्षाको व्यवस्था अहिलेको मुख्य सरोकार भएको छ किनभने कुनै त्यस्तो ओखती अझै बनेको छैन जसले कोरोनाको ठ्याक्क ओखतीको काम गरोस् । पहिले जनताको जीवन जोगाऊँ अनि अरु विवादका कुराको छिनोफानो गर्दै गरुँला ।