डेंगुको लक्षण देखियो भनेर आफूखुशी औषधि नखानुस् : लक्षणअनुसार गर्नुपर्छ उपचार

काठमाडौं : देशका ७२ जिल्लामा डेंगु संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाको विवरण अनुसार यो वर्ष हालसम्म देशभर चार हजार १०४ जनामा डेंगु देखिइसकेको छ। सबैभन्दा धेरै संक्रमण ललितपुरमा देखिएको छ। यहाँ हालसम्म एक हजार ६०० जनामा संक्रमण देखिएको छ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। एडिस जातको पोथी लामखुट्टे रातमा भन्दा दिउँसो धेरै सक्रिय हुने हुँदा मानिसमा यस लामखुट्टेको टोक्ने सम्भावना धेरै हुने चिकित्सक बताउँछन्।

डेंगु संक्रमण के हो? समयमा उपचार गरिएन भने यसले मानव शरीरमा के कस्ता जटिलता निम्त्याउँछ? यसबाट बच्ने उपाय के–के हुन्? लगायत विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोगका सम्पर्क व्यक्ति डा.गोकर्ण दाहालसँग गरिएको कुराकानी-

डेंगु के हो?  यो कसरी लाग्छ?

डेंगु ‘एडिस एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस्‌’ प्रजातिका लामखुट्टेको टोकाइबाट लाग्ने संक्रमण हो। एडीस जातका लामखुट्टेले प्रायः दिउँसो टोक्ने गर्छ। विशेषगरी, घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनु भन्दा दुई घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुने हुनाले सो समयमा बढी सचेत हुनुपर्छ।

यसले सफा जमेको थोरै पानीमा पनि फुल पार्छ। खासगरी पानी जम्ने टिनका डब्बा, प्लास्टिकका बोतल, प्लास्टिकका खोल, टायर, सिसी, अण्डाको बोक्रा, ड्रम, बाटा, बाल्टिन, फूलदानी, गमला, पानीका ट्यांकीजस्ता भाँडा तथा छाना, कौसी, बरण्डा, ढल, नाली, कुलो आदि स्थानमा फुल पार्छ र यहीँ हुर्किन्छ।

यसले टोकेकोपछि कति समय पछि डेंगुको लक्षण देखाउँछ?

हाम्रो समुदायमा डेंगु गराउने भाइरस बोकेको एडिस जातको लामखुट्टेले टोकेको चारदेखि सात दिनसम्म शरीरमा डेंगुको लक्षण देखिने गरेको पाइएको छ। डेंगुको लक्षण भने सबैलाइ एकैखालको हुन्छ भन्ने हुँदैन। कसैलाई सामान्य र कसैलाई जटिल खालको लक्षण देखिन्छ।  

डेंगुका कस्ता लक्षण देखिए छिटो चिकित्सकको सम्पर्कमा पुग्नु पर्छ?

एडिस जातको लामखुट्टेले टोकेपछि हुने डेंगु संक्रमणमा बिरामीलाई ज्वरो आउने,आँखाको गेडी दुख्ने,टाउकोको अगाडि र पछाडिको भाग दुख्ने, जोर्नी दुख्ने, आलस्य हुने डेंगुका सुरुवाती लक्षण हुन्।

तर कसै कसैलाई वाकवाकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, शरीरमा रगतको रातो रातो धब्बा देखिने, नाकबाट रगत आउने, गिंजाबाट रगत बग्ने, रक्तचाप एकदमै कम हुने डेंगुका जटिल लक्षण हुन्। अहिले डेंगु संक्रमण बढिरहेको बेलामा यस्तो खालको लक्षण देखिएको छ भने जतिसक्दो चाँडो स्वास्थ्य संस्था वा चिकित्सकको सम्पर्कमा पुग्नुपर्छ।

डेंगु संक्रमण भएपछि समयमै उपचार गरिएन भने के कस्ता स्वास्थ्य जटिलता देखाउँछ?

डेंगुको उपचार बिरामीको लक्षण र अवस्था अनुसार हुने गर्छ। डेंगु पुष्टि भएको छ र बिरामी बेहोश हुने, नाकबाट रगत आउने, शरीरमा रातो धब्बा देखिएको छ भने प्रत्यक्ष चिकित्सको निगरानीमा बसेर उपचार गर्नुपर्छ। डेंगु संक्रमणले विशेषगरी बिरामीको रगतको ‘प्लेटलेट’ कम गराउने हुँदा यसले थप जटिल अवस्था सिर्जना गराउँछ। शरीरमा प्लेटलेटको संख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने लक्षण देखा पर्न सक्छ।

यस समयमा नै उपचार गरिएन भने शरीरमा धेरै रक्तश्राव हुने, रक्तचाप कमहुने र ‘मल्टी अर्गान’ फेल हुने सम्म जटिलता हुने भएकाले डेंगु र यसको लक्षणको आधारमा सजगता अपनाउनु पर्छ।

डेंगु संक्रमितको उपचार कसरी गरिन्छ?

डेंगु संक्रमण देखि सकेपछि बिरामीमा देखिएको लक्षणको आधारमा उपचार गर्नु पर्छ। यदी बिरामीमा जटिल खालका लक्षण देखिएको छ र परिक्षण गर्दा प्लेटलेट कम भइसकेको छ भने चिकित्सकले सोही अनुसारको उपचार गर्छन्।

तर सामान्य लक्षण देखिएको छ भने सिटामोल लिने, झोलयुक्त खानेकुरा खाने र आराम गर्ने गर्दा केही दिनमा सञ्चो हुन्छ।

तर पछिल्लो समय डेंगुको लक्षण देखियो भनेर स्वास्थ्यकर्मीको सल्लाहविनै जथाभावी नदुख्ने औषधी खाने गरेको पाइएको छ। डेंगु संक्रमण धेरै देखिएको क्षेत्रमा मानिसहरुलाई ज्वरो आइरहेको छ भने स्वास्थ्यकर्मीको सल्लाहबिनै आइब्रुफेन, डाइक्लोफिनाक, एस्प्रिन जस्ता औषधी सेवन गर्नु हुँदैन।

यसले सञ्चो हुने हैन झन थप जटिलता थप्छ। यदि ज्वरो आएको छ डेंगुको लक्षण देखिएको छ भने यस्तो अवस्थामा चिकित्सको सल्लाहविना सिटामोलबाहेक अन्य औषधी सेवन गर्नु हुँदैन।

किन वर्षातको मौसममा डेंगु ज्वरोका बिरामी बढ्ने गर्छन्?

पानी पर्ने मौसममा डेंगु गराउने लामखुट्टे धेरै सक्रिय हुने हुँदा यस समयमा संक्रमण बढ्ने हो। यो मौसममा पानी परिरहने र धेरै ठाउँमा पानी जम्ने र सो ठाँउमा डेंगु गराउने लामखुट्नेको उत्पत्ति सहज हुने भएकाले बर्खायाममा बिरामी बढ्ने गरेको हो।