पर्यटकलाई सम्साँझै सुताइरहेछ भैरहवा

१९ भदौ, भैरहवा । लुम्बिनी पुगेर फर्किएका गोरखाका सुन्दर श्रेष्ठको टोली बिहीबार साँझ ८ बजे भैरहवाको मुख्य बजार घुम्न निस्किंदा सुनसान भइसकेको पाएपछि होटल फर्कियो ।

यो टोली बसेको पर्यटकस्तरको होटलले पनि ‘९.३० बजेसम्म खाना खाइदिन’ आग्रह गर्‍यो । त्यसपछि किचन बन्द हुने भएकाले उनीहरु खाना खाएर राति १० नबज्दै कोठा फर्किए । ‘आध्यात्मिक ठाउँ लुम्बिनीमा रातिसम्म बसेर चिसो बियर खान्छु भन्न पक्कै जायज हुन्न, त्यसबाहिरको भैरहवामा पनि रातको शीतलमा यसो रमाइलो गरेर बस्न पाइने अवस्था रहेनछ’ श्रेष्ठले भने, ‘पोखरा र चितवनपछि धेरै पर्यटक आउने भनिएको यो क्षेत्रमा पर्यटकहरुलाई आकर्षित गर्ने अरु गतिविधि रहेनछन् ।’

त्यही टोलीमा रहेका चितवनका शुभम् चौलागाईं भैरहवाका होटलहरुको आतिथ्य सेवा ठिकै भए पनि पाहुनालाई सम्साँझै ‘खाएर सुत’ भन्ने खालको वातावरण बेस्वादिलो भएको बताउँछन् । ‘गर्मी ठाउँमा कम्तीमा राति १–२ बजेसम्म अनुशासित रुपमा रमाइलो गर्ने अवस्था बनाउनुपर्ने हो’ उनले भने, ‘त्यसबाट कमाउने यहीका व्यवसायीले हो । कोही केही खर्च गर्छु भनेर आएको छ भने उसलाई त्यो वातावरण किन नदिने ?’

गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवा बेलुका ८ बजेपछि सुस्ताउँछ र १० बजेपछि बन्द नै हुन्छ । होटल–रेस्टुरेन्ट, सपिङ मल सबै बन्द हुन्छ । राति भैरहवा पुग्ने पर्यटक भोकै सुत्नुपर्ने अवस्था हुन्छ ।

गृह मन्त्रालयले देशभर होटल–रेस्टुरेन्ट, दोहोरी–डान्स क्लब, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णय २५ फागुन २०७८ मा गरेको थियो । यो निर्णयले विशेषतः काठमाडौं र पोखराको रात्रि व्यवसायलाई पुनर्जीवित गरे पनि गृहमन्त्री बालकृष्ण खाँणकै गृहजिल्ला रुपन्देहीको एउटा प्रमुख आर्थिक केन्द्र भैरहवा पहिले जस्तै सुनसान छ ।

पूर्वाधार छ, सेवा छैन:

भैरहवामा पर्यटकीय पूर्वाधारको अभाव छैन । लुम्बिनीसहित बुद्धसँग जोडिएका दर्जनौं धार्मिक–पुरातात्विक पर्यटन स्थल छन् । तिनलाई नै लक्षित अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएको छ ।

परासी–तौलिहवा हुलाकी सडक, भारतीय नाका जोड्ने बुटवल–बेलहिया ६ लेन सडक मात्र नभई सिद्धार्थनगर, बुटवल, तिलोत्तमा क्षेत्रमा बढ्दो सहरीकरण पनि यस क्षेत्रका पर्यटकीय पूर्वाधार हुन् । स्थलमार्गबाट सबभन्दा बढी पर्यटक नेपाल भित्रिने सीमा नाका हो बेलहिया ।

सन् २०१९ मा १२० मुलुकका १ लाख ७४ हजार पर्यटक लुम्बिनी आएका थिए । कोरोना महामारीमा शून्य बनेको विदेशी पर्यटक आगमन दर विस्तारै महामारी अघिकै संख्यामा पुग्दैछ । लुम्बिनी पुग्ने स्वदेशी–विदेशी पर्यटकलाई भैरहवामा अडाउने योजनामा भने खासै काम भएको छैन । भैरहवामा एक रात बस्ने पर्यटकले यो क्षेत्रमा बसाइ लम्ब्याउनुपर्ने अरु कारण भेट्दैनन् ।

लुम्बिनीमा ९० प्रतिशत पर्यटक एक दिन पनि नबिताई फर्किन्छन् । भारतबाट स्थलमार्ग हुँदै लुम्बिनी आउने पर्यटक पनि सोही दिन फर्किने गरेका छन् । पर्यटकलाई रोक्न आकर्षक प्याकेजहरु भएको रात्रिकालीन व्यवसाय जरुरी हुने व्यवसायीहरु बताउँछन् । यसलाई कार्यरुप दिन भने कोही सकृय भएको देखिंदैनन् ।

‘रात्रिकालीन पर्यटन व्यवसाय त चलाउनै पर्छ’ नेपाल टुर एन्ड ट्राभल्स एसोसिएसन, लुम्बिनी प्रदेश अध्यक्ष रहेका पर्यटन व्यवसायी सागर अधिकारी भन्छन्, ‘अन्तर्राष्ट्रिय विमानस्थल चलाएर सिंगै शहर सुत्न मिल्दैन ।’

अहिले एउटा विमान कम्पनीको सेवा रहेको विमानस्थलमा अरु कम्पनीहरु क्रमशः थपिंदै जानेमा उनी विश्वस्त छन् । राति विमानस्थलमा ओर्लने र उड्ने अन्तर्राष्ट्रिय हवाई यात्रुलाई सेवा दिन पनि भैरहवाका सेवा प्रदायकहरु जागा रहनुपर्ने अधिकारी बताउँछन् । ‘आन्तरिक पर्यटकलाई मात्र नभइ यस्ता यात्रुलाई पनि शहरमा रमाइलो गरी घुमेर केही समय कटाउने वातावरण त चाहिन्छ नै’ उनले भने ।

जागा बस्न सबै तयार:

सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ भैरहवामा रात्रिकालीन पर्यटन बजार सञ्चालन गर्न संघले तीन वर्षअघि नै निर्णय गरेको बताउँछन् । यसमा अब व्यवसायीहरु एक भएर एकीकृत प्रयास थालिनुपर्ने भैरहवाका पर्यटन व्यवसायी सञ्जय बजिमयले बताए । ‘त्यसको लागि रात्रिकालीन पर्यटन गतिविधि सञ्चालन मात्र होइन, सीमा नाका रातमा १२ बजेसम्म खुल्ला राख्ने, सबै दरका भारुनोट चलाउने एकीकृत पहल हुनपर्छ’ उनले भने ।

लुम्बिनी विकास कोषका सूचना अधिकारी हरिध्वज राई स्ट्रिट फुड, लाइभ कन्सर्ट, विविध जातीय–सामुदायिक सांस्कृतिक प्रदर्शनी, सपिङ, नाइट वाकिङ, डिस्को, क्यासिनो लगायत रात्रिपर्यटन गतिविधिका लागि भैरहवा उर्वर रहेको बताउँछन् । ‘आवश्यक सुरक्षा व्यवस्थासहित सेवाको मूल्यलाई तार्किक बनाएर भैरहवामा रात्रिकालीन पर्यटन व्यवसाय खुलाए अर्थिक चमत्कार हुने अवस्था छ,’ उनी भन्छन्, ‘सेवाको प्रकार र मूल्य निर्धारण गर्दा आन्तरिक तथा वाह्य पर्यटक दुवैलाई ध्यानमा राख्नु जरुरी छ ।’

भैरहवा–लुम्बिनी क्षेत्रमा दिउँसो धेरै गर्मी हुन्छ । पर्यटनसम्बद्ध व्यवसायहरु राति पनि खुले स्थानीयवासी पनि सपरिवार सेवा लिन निस्किने देख्छन्, पर्यटन विकास परिषद् लुम्बिनीका अध्यक्ष रामु जोशी । ‘आन्तरिक तथा वाह्य पर्यटकसँगै स्थानीय वासीन्दाले पनि रातको समयमा आरामदायी घुमाइसँगै विविध सेवा लिन सक्ने वातावरण बनाउन पहल हुनुपर्‍यो’ उनले भने ।

जोशीले अहिले त राति भैरहवा आइपुगेका पर्यटकले बास बस्न होटल पनि सहज रुपमा नपाउने अवस्था रहेको भन्दै अब चौबिसै घण्टा सहर खुला राख्नुपर्नेमा जोड दिए । उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवाली अहिले बेलहिया नाकाबाट भित्रिने पर्यटक सोझै काठमाडौं, पोखरा चितवन लगायत गन्तव्य पुगिरहेको बताउँछन् । उनीहरुको ध्यान तान्न भैरहवा खुल्नुपर्ने बताउँछन् ।

स्थानीय सरकार पनि भैरहवालाई साँझमै निदाउन दिन नहुने पक्षमा छ । सिद्धार्थनगर नगरपालिका आवासीय क्षेत्रमा असर नपर्ने गरी रात्रिकालीन पर्यटकीय गतिविधि सञ्चालनको पक्षमा छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले रात्रिबजार खोल्ने पहल स्थानीय व्यवसायीले गर्नुपर्ने बताए । रात्रिकालीन पर्यटन व्यवसाय सञ्चालन गर्दा व्यवसायीहरु जिम्मेवार र सचेत भने हुनुपर्ने उनको भनाइ छ । ‘सुरक्षा र सहजीकरणका लागि जिल्ला प्रशासन तयार छ’ उनले भने ।

उनका अनुसार, पछिल्लो समय बेलहिया नाकाबाट नेपाल भित्रने पर्यटक संख्या ह्वात्तै बढेको छ र जिल्ला प्रशासनले भैरहवा क्षेत्रका ५ वटा क्यासिनो सञ्चालनमा रोक लगाएको छैन । ‘गृह मन्त्रालयको आधारभूत निर्देशिकाका आधारमा मापदण्ड बनाएर रुपन्देहीमा रात्रिकालीन व्यवसाय चलाउन दिने तयारी नै छ’ प्रमुख जिल्ला अधिकारी पाण्डे भन्छन् ।

राति पर्यटक र व्यवसायीलाई आवतजावत सुविधा र सुरक्षा सुनिश्चित गरेर भैरहवा–बुटवल क्षेत्रलाई पर्यटकमैत्री बनाउने हुने उनले बताए । ‘पोखरामा राति पर्यटकीय चहलपहल हुन्छ भने भैरहवामा किन नहुने ?’ उनी भन्छन्, ‘यसका लागि सरकारी मापदण्डअनुसार काम गर्न व्यवसायी नै अग्रसर हुनुपर्‍यो ।’