सताब्दी पुरूष जाेसीकाे सम्झनामा सरकारद्वारा मंगलबार देशभर सार्वजनिक विदा

काठमाडौं : संस्कृतिविद् स्व. सत्यमोहन जोशीको शोकमा सरकारले मंगलबार देशभर सार्वजनिक विदा दिएको छ।

जोशीको निधनमा शोक व्यक्त गर्न एक दिन सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले सोमबार सूचना जारी गरी सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, विदेशस्थित कूटनीतिक नियोगहरूमा विदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि भएको जनाएको छ। 

संस्कृतिविद् जोशीको १ ०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो। 

को हुन् सत्यमोहन जोशी ?

 पिता शङ्करराज जोशी र माता राजकुमारीका सुपुत्रका रूपमा विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनुभएका सत्यमोहन जोशीको आज  २०७९ असोज ३० गते ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा निधन भएको छ । जोशीले विसं। २०१३ मा लोकसंस्कृति ग्रन्थमा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।

दोस्रो पटक नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थमा विसं २०१७ मा र ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि विसं २०२८ मा मदन पुरस्कार प्राप्त गर्नुभएका जोशी विसं २०१५ मा पुरातत्त्व र संस्कृति विभागका पहिलो निर्देशक हुनुभएको थियो ।

जोशीले विसं २०१६ मा पाँचौँ शताब्दीदेखि बिसौँ शताब्दीसम्मको मुद्राको विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशित गर्नुभएको थियो । 

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदर स्वरूप जोशीलाई सु प्रबल गोर्खा दक्षिण बाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्वविद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्र दीपले सम्मानित गरेको छ । तीन पटकसम्म ‘मदन पुरस्कार’ जित्न सफल जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित छन् ।

शताब्दी पुरुष जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलद्वारा लिखित ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा छ । यस कृतिमा उहाँको जीवनी, भाषा, साहित्य, लोकसंस्कृति अन्वेषणलगायतका विषय समेटिएका छन् ।

उहाँका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् । उहाँले दुई काव्य, पाँच कथा सङ्ग्रह, १० नाटक र केही नेवारी भाषाका कृति लेख्नुभएको छ । समालोचकले उहाँले ५० पुस्तक प्रकाशित भएको जनाएका छन् । तीमध्ये उहाँका २० पुस्तकलाई महत्त्वपूर्ण पुस्तक मानिएको छ ।

जोशीको एक सय वर्षको जन्मोत्सवमा नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले वाङ्मय शताब्दी पुरुष जोशीको तस्बिर अङ्कित चाँदीको सिक्का निस्काशन गरेको थियो । रु दुई हजार पाँच सयका २५ हजार थान, रु एक हजारका २५ हजार थान र रु एक सयका १० हजार थान सिक्कामा एकातिर जोशीको तस्बिर छ भने अर्कोतिर सगरमाथाको तस्बिर रहेको छ ।

काठमाडौँ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्राप्त गर्नुभएका वरिष्ठ साहित्यकार जोशीलाई विसं २०६९ मा ‘पद्म श्री साधना सम्मान पुरस्कार’ प्रदान गरिएको थियो । नेवारी परिवारमा जन्मिएका जोशीले १० वर्षसम्म नेपाली बोल्न जान्नुभएको थिएन । 

रासस