बुढेसकालमा हड्डी भाँचिए जोडिन गाह्रो हुन्छ : डा. दीपेन्द्र पाण्डे

काठमाडौं । बालबच्चाको हातखुट्टा वा हड्डी भाँचिएको छ भने सामान्यतः त्यो चाँडै जोडिन्छ । तर बुढ्यौली उमेरमा हातखुट्टा वा हड्डी भाँचिएमा त्यस्तो अवस्था हुँदैन । चिकित्सकका अनुसार उमेर ढल्किंदै गएपछि हड्डी कमजोर हुँदै जान्छ ।

यस्तो अवस्थामा हातखुट्टा भाँचिए उनीहरुको उपचार कति छिटो गर्नुपर्ने हुन्छ ? हड्डी जोडिन कति समय लाग्छ ? यसै विषयमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. दीपेन्द्र पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंश :

बालबालिकाको हातखुट्टा भाँचिए त्यति धेरै समस्या हुँदैन, चाँडै जोडिन्छ पनि । तर बुढाबुढीको हातखुट्टा भाँचिए जोडिन समय लाग्ने हो ?

बुढाबुढी भइसकेपछि बुढ्यौलीपनको परिवर्तन आएजस्तै हड्डीमा पनि परिवर्तन आउँछ । हड्डीमा आउने परिवर्तनसँगै हड्डी मक्किने अर्थात् ओस्टियोपोरोसिस रोग लाग्ने हुन्छ । जसले गर्दा हड्डीकमजोर हुन्छ । त्यसैले सानै दुर्घटनाले पनि हड्डी भाँचिने हुन्छ । र, हड्डी भाँचिए पछि पुनः निको हुने सम्भावना न्यून हुन्छ ।

त्यसैले बुढापाकाको हड्डी भाँचिने जोखिम उच्च छ र भाँचिएपछि जोडिन कठिन छ । त्यसैले सम्भव भएसम्म हड्डी भाँचिन नै नदिनु उत्तम हो । साथै हड्डी बलियो बनाउन भिटामिनलगायत खानपानमा ध्यान दिनुपर्छ ।
भाँचिएको ठाउँ राम्ररी जोडिएन भने हिंडडुल गर्न कठिन हुन्छ । हड्डी बांगियो भने यसले गर्ने अन्य काममा समेत बाधा पुग्छ । धेरै समयसम्म पीडा भइरहन्छ । त्यसपछि भाँचिएको ठाउँ पुनः भाँचिन सक्छ ।

वृद्धावस्थामा ओस्टियोपोरोसिस कसरी हुन्छ ?

मानिसमा ३० वर्षको उमेरपछि हड्डीको घनत्व घट्दै जान्छ । ५०-६० वर्ष उमेरपछि घनत्व एकदमै कम हुन्छ । हड्डीमा नदेखिने सानो छिद्र पर्छ । जसकारण हड्डी एकदमै कमजोर हुँदै मक्किने अर्थात् ओस्टियोपोरोसिस रोग हुन्छ । यस्तो अवस्थामा हाच्छ्यूँ गर्दा सामान उचाल्दा पनि हड्डीहरु भाँचिने सम्भावना हुन्छ । वृद्धवृद्धा कुप्रिएको हामी देख्छौं, जुन सामान्य होइन । हड्डी ओस्टियोपोरोसिस भएपछि विस्तारै भाँचियो र त्यसको उपचार समयमा नभएपछि ढाड कुप्रिंदै जाने, शरीरको उचाइ घट्दै जान्छ ।

मेनोपज भइसकेपछि एस्ट्रोजोन भन्ने हर्मोन कम हुँदै जाँन्छ र यसले पनि हड्डी कमजोर बनाउँछ । मदिरा पिउने, धुम्रपान गर्नेहरुको बुढेसकालमा हड्डी कमजोर हुन्छ । यसरी हड्डी कमजोर भएपछि सामान्य ढंगले लड्दा पनि हड्डी भाँचिन सक्छ । सामान्य शारीरिक काम गर्दा, सामान उचाल्दा, शौचालयमा बसेर उठ्दा पनि हातको सपोर्ट लिन खोज्दा भाँचिने डर हुन्छ । कतिसम्म भने हाच्छ्यूँ गर्दा पनि हिपको हड्डी भाँचिन सक्छ ।

बुढेसकालमा कुनै कारणवस हात-खुट्टा वा शरीरको कुनै पनि हड्डी भाँचिएमा तत्काल के गर्ने ?

तत्काल हड्डी भाँचिएको छ भने कतै हिंड्न नदिएर आराम गराउनुपर्छ । नाडीको हड्डी भाँचिएको छ भने त्यसलाई सपोर्ट दिने वस्तु राखिदिनुपर्छ । आइसले सक्ने, नजिकैको स्वास्थ्य संस्थामा लगेर एक्सरे गराउनुपर्छ । ढाड र कम्मरको भाग भाँचिएको छ भने सुताएर नै अस्पताल लानुपर्ने हुन्छ ।

बुढापाकामा सबैभन्दा बढी भाँचिने र जोखिम हुने हड्डी के के पर्छन् ?

नाडीको हड्डी कमजोर हुने कारणले गर्दा कुनै पनि काम गर्दा, लड्दा वा कतै ठोक्किंदा  नाडीको हड्डी भाँचिने गर्छ । त्यसैले जुनसुकै क्रियाकलाप गर्दा पनि ध्यान दिएर गर्नुपर्ने हुन्छ ।

यसैगरी हिपको हड्डी पनि भाँचिन सक्छ । यसलाई बोन अट्याक पनि भन्ने गरिन्छ । यस्तो अवस्थामा उताउता चल्न, हिंड्न मिल्दैन । सुताएर आराम गराएर तुरुन्त अस्पताल लानुपर्ने हुन्छ । हड्डी भाँचिनासाथ हिंडाउने गरेमा नसा च्यापिन सक्छ ।

बुढेसकालमा ढाडको हड्डी भाँचिने डर उत्तिकै हुन्छ । यसले गर्दा ढाँड दुख्ने, उचाइ घट्दै जाने हुन्छ । लामो समयसम्म एकै ठाउँमा बसिरहँदा स्वास्थ्यमा थप जटिलता आउँछ ।

बुढो हड्डी भाँचिएपछि जोडिन्छ ?

बुढेसकालमा हड्डी त जोडिन्छ, तर समय बढी लाग्छ । सजिलै पनि जोडिंदैन । प्रायःको शल्यक्रिया गर्नुपर्ने हुन्छ । कुनै बिरामीको अन्य रोग छ भने शल्यक्रिया गर्न नै नमिल्ने पनि हुनसक्छ । जस्तो मिर्गौला, मुटुसम्बन्धी रोग छ वा औषधि खाइरहेको छ भने ढाँड भाँचिएको अवस्थामा शल्यक्रिया गर्न मिल्दैन । पूर्ण समय आराम गर्नुपर्ने हुनसक्छ ।

भाँचिएको हातखुट्टा वा हड्डीको उपचार के के हुन्छ ?

भाँचिएको हड्डीको उपचार भनेको प्लास्टर र शल्यक्रिया जस्ता दुई विधिबाट गर्न सकिन्छ । यसका लागि सबैभन्दा पहिले एक्सरे गरिन्छ र भाँचिएको ठाउँ अनि अवस्था पत्ता लगाइन्छ । सोही अनुसार शल्यक्रिया गर्ने हो वा प्लास्टर भन्ने निर्धारण गरिन्छ ।

बुढेसकालमा हातखुट्टा भाँचिएर उपचारपछि पनि फिजियोथेरापी गर्नुपर्ने हुन्छ । उनीहरुको मासु सुकेको र हड्डी कमजोर भएकाले फिजियोथेरापी अनिवार्य हो ।

शल्यक्रिया गर्नैपर्ने अवस्था कसरी आउँछ ?

कुनै पनि ठाउँको हड्डी भाँचिएपछि त्यो ठाउँबाट अलि बढी सरेको छ भने शल्यक्रिया एउटा विकल्प हो । हड्डी धेरै सरेको छैन भने प्लास्टर गर्दा पनि निको हुन्छ । प्रायः बुढापाकाको हड्डी भाँचिएपछि शल्यक्रिया नै गर्नुपर्ने स्थिति देखिन्छ । हिप र ढाडको हड्डी भाँचिएमा शल्यक्रिया गरिन्छ । ढाँडको शल्यक्रिया सम्भव नभएमा तीन महिनासम्म बेड रेस्ट गर्ने, बेल्ट लगाउने, फिजियोथेरापी गराउने, औषधि खाने गर्नुपर्छ ।

भाँचिएको हड्डीको उपचारपछि निको हुन कति समय लाग्छ ? 

यदि नाडीको हड्डी भाँचिएको छ भने उपचारपछि ६ सातासम्म लाग्छ ।  कम्मर, ढाडको हड्डी निको हुन ६ महिनासम्म लाग्छ ।

घरेलु तथा प्राकृतिक विधिबाट पनि यसको उपचार गरिन्छ नि, त्यो कति प्रभावकारी देखिएको छ ?

भाँचिएको हातको उपचार घरेलु वा प्राकृतिक विधिबिाट सम्भव छैन । कतिपय बिरामी हड्डी भाँचिने बित्तिकै विभिन्न जडिबुटी लगाएर सहन नसक्ने अवस्था भएपछि ढिला मात्रै अस्पताल आउनुहुन्छ । यसले भाँचिएको ठाउँको उपचार राम्रोसँग हुन पाउँदैन । त्यस्तै ब्यान्डेज टाइट लगाइरहने र अन्य जडिबुटी वा मलम लगाएर ढिलो आउँदा उपचार हुन नसकेर हात नै काट्नुपर्ने अवस्थाका केस पनि आइरहेका हुन्छन् ।

यदि भाँचिएको ठाउँमा राम्ररी जोडिएन भने के कस्ता समस्या आउँछन् ?

भाँचिएको ठाउँ राम्ररी जोडिएन भने हिंडडुल गर्न कठिन हुन्छ । हड्डी बांगियो भने यसले गर्ने अन्य काममा समेत बाधा पुग्छ । धेरै समयसम्म पीडा भइरहन्छ । त्यसपछि भाँचिएको ठाउँ पुनः भाँचिन सक्छ । ढाड, कम्मरको हड्डी भाँचिएको छ र पुनः उपचारपछि पनि राम्ररी जोडिएन भने थप बेड रेस्ट गर्नुपर्ने हुन्छ । धेरै अवधिसम्म एकैठाउँमा सुतिराख्दा ढाडमा घाउ हुने, छातीमा निमोनिया हुने जस्ता अन्य रोग लाग्ने र रगत जम्ने हुँदा रक्तसञ्चार हुन पाउँदैन । जसकारण मृत्यु समेत हुनसक्छ ।

हड्डीलाई स्वस्थ र बलियो कसरी राख्ने ?

हड्डीलाई स्वस्थ र बलियो बनाउन क्याल्सियम, भिटामिन डी प्राप्त हुने खानेकुरा बढी खानुपर्छ । माछा, मासु, अण्डा, ब्रोकाउली, च्याउ, भटमास, दही, पनिर, तोफु, सुन्तला, मेवा जस्ता खानेकुरा खानुपर्छ । तर खानपानले मात्र हड्डी बलियो हुँदैन । वृद्धावस्थामा मात्र होइन, अहिलेदेखि नै शारीरिक व्यायाम गर्ने, योगा गर्ने गर्दा हड्डीलाई स्वस्थ राख्न मद्दत गर्छ । वृद्धावस्थाका व्यक्तिले चहलपहल हुने बेलामा लठ्ठी वा परिवारका अन्य सदस्यको सहारामा भए पनि हिंडडुल गर्नुपर्छ । त्यस्तै मद्यपान र धुम्रपान गर्ने बानी हटाउनुपर्छ । यससँगै कुनै पनि औषधि सेवन गर्दा हड्डीलाई प्रभाव पार्छ कि पार्दैन भन्ने कुरा जान्न जरुरी छ ।

कुन समयको घाममा भिटामिन डी पाउन सकिन्छ ?

स्वस्थ हड्डीका लागि क्याल्सियम, भिटामिन डी अत्यावश्यक हुन्छ । भिटामिन डी सूर्यको किरणबाट प्राप्त गर्न सकिन्छ । १२ बजेपछिको घाममा भिटामिन डी बनाउने तत्व बढी आउने हुँदा वृद्धावस्था भएकाहरुले अनिवार्य र अरु उमेर समूहले पनि सकेसम्म १५ मिनेट जति घाममा बस्नुपर्छ । हरेक दिन सकिंदैन भने साताको तीन दिन घाममा बस्नैपर्छ ।

नेपालमा हड्डी भाँचिएको उपचार कस्तो छ ?

वृद्धावस्थामा हड्डी भाँचिएमा यसको सहज उपचार नेपालमा छैन । हात र खुट्टा भाँचिने भन्ने बित्तिकै हामी प्लास्टर र शल्यक्रियातर्फ मात्र लाग्छौं । तर वृद्धावस्थामा हड्डी कमजोर भएर नै भाँचिने गर्छ र भाँचिन नदिन अस्टियोपेरोसिस रोगको उपचार हुनुपर्छ भन्ने चेतना कम छ । अस्टियोपेरोसिस  रोगका कारण सबैभन्दा बढी हड्डी कमजोर गराउने र भाँचिने गर्छ ।

त्यसकारण अस्टियोपेरोसिस  रोग पत्ता लगाउन जरुरी छ । यस विषयमा चेतना फैलाउन पनि आवश्यक देखिन्छ । अस्टियोपेरोसिस रोग डेक्सा स्क्यानको मद्दतबाट पत्ता लाग्ने गर्छ । यो मेसिन देशका ठूला-ठूला अस्पतालमा समेत छैन । यो रोग अहिलेसम्म प्राथमिकतामै परेको देखिंदैन । एमआरआई, सिटिस्क्यान त छ, तर ज्येष्ठ नागरिकको लागि अति जरुरी हुने डेक्सा स्क्यान छैन । जुन दुःखद् कुरा हो । अस्टियोपेरोसिसको औषधि पनि सहज रुपमा उपलब्ध छैन ।

विकसित देशमा जसरी वृद्धाहरुका लागि डान्स क्लास, विभिन्न व्यायाम र खानपिनमा ध्यान दिन थालिएको छ, नेपालमा पनि यसलाई फलो गर्नु जरुरी छ ।

Onlinekhabar