बजारमा झिलिमिलीको बत्ती अभाव

काठमाडौँ : तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतसम्मले वृद्धि भएको छ। नेपाल विद्युतीय व्यवसायी महासंघले गत वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य ८ देखि १० प्रतिशतले बढेको बताएको हो।

महासंघले अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैंकको नीतिको कारण बत्तीको मूल्य बढेर आएको महासंघले बताएको छ। तिहार नजिकिएसँगै बजारमा तिहार केन्द्रित वस्तुहरूको खरिदबिक्री बढ्न थालेको छ। फूल र झिलिमिली बत्तीको पर्वको रूपमा मनाइने तिहारका लागि बजारमा बत्ती, भाइमसला, फूलजस्ता वस्तुहरूको बिक्री तथा खरिद शुरु भएको छ। अन्य सामानसँगै तिहारमा सबैभन्दा बढी बिक्री हुने झिलिमिली बत्तीको बिक्री पनि बजारमा शुरु भएको महासंघले जनाएको छ।

महासंघका महासचिव कमल पोखरेलले बजारमा झिलिमिली बत्तीको माग बढे पनि विगतका वर्षको तुलनामा यो वर्ष बत्तीको आयातमा समेत केही कमी आउने बताए।

पोखरलले मंगलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेपाली मुद्रासँगको तुलनामा अमेरिकी डलरको मूल्य बढ्नाले मूल्य वृद्धि भएको जानकारी दिए।

उनले तातोपानी र रसुवागढी नाका सहजतापूर्वक सञ्चालन नहुँदा र प्रतीतपत्र (एलसी) खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्थाले आयात कम भएको बताए।

पोखरेलले गत वर्ष नेपालमा २५ देखि ३५ प्रतिशत अर्थात् करिब ४० करोडको विद्युतीय बत्ती आयात भएको भन्दै यो वर्ष करिब ३० करोड रुपैयाँ बराबरको आयात हुने अनुमान रहेको उल्लेख गरे। उनले कोभिड शुरु हुनुभन्दा अघि वि.सं. २०७६ मा तिहारको समयमा नेपालमा करिब ६० देखि ७० करोड बराबरको झिलिमिली बत्ती आयात हुने गरेकोमा कोभिडपछि २५ करोड बराबरको मात्रै झिलिमिली बत्ती आयात हुन थालेको बताए।

महासचिव पोखरेलले झिलिमिली बत्तीको आयातका लागि नेपालबाट व्यवसायीहरूले अर्डर दिनुपर्ने समयमा चीनका शहरहरूमा लकडाउन भएकाले अर्डर गरेका सामान समयमा नेपाल आई नपुग्दा बजारमा बत्तीको अभाव रहेको बताए।

उनले तातोपानीको नाका बन्द रहनु र रसुवागढीको नाका पनि सहजतापूर्वक सञ्चालनमा आउन नसक्नुले यो वर्षको झिलिमिली बत्तीको आयात प्रभाव परेको बताए।

पोखरेलले सामान आयात गर्न प्रतीतपत्र (एलसी) खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने हुँदा यो वर्ष धेरै सामान आयात नभएको स्पष्ट पारे।

त्यसैगरी विद्युतीय व्यापारीहरूले ग्राहकको माग अनुसार बजारमा तिहारका लागि आवश्यक झिलिमिली बत्ति नभएको बताएका छन्। काठमाडौंका विद्युतीय व्यापारी मनराज खतिवडाले बत्तीको मूल्य बढेर आएको बताए।

अर्का व्यापारी दुर्गा सापकोटाले महँगो भए पनि ग्राहकले खोजेको सामान नभएको बताए। नेपालमा सामान्य अवस्थामा विद्युतीय सामग्री तथा बत्ती नेपालमा वार्षिक १ अर्बभन्दा धेरैको आयात हुने गरेको छ। तीमध्ये आयात हुने झिलिमिली बत्तीको ८० प्रतिशत खपत तिहारको समयमा हुने महासंघले बताएको छ।

त्यसैगरी क्रिसमस, नयाँ वर्ष तथा विवाह भोजजस्ता कार्यक्रममा २० प्रतिशत आयातित बत्तीको खपत हुने गरेको महासंघका महासचिव पोखरेलले बताए। तिहारमा बजारमा सबैभन्दा धेरै एलइडी लाइट, एलइडी डिस्को लाइट, एलइडी फ्रेम लाइट, नेट झालर, दियो, स्ट्रिप लाइट अत्यधिक बिक्री हुने गर्दछ।