कुन दलले कति सिट जित्ला ? सम्भावित ४ दृश्य

२७ कात्तिक, काठमाडौं । चुनावी नतिजाको पूर्वानुमान आमचासोको विषय बनेको छ । तर नतिजालाई प्रभाव पर्ने अनेक कारण हुने भएकाले पूर्वानुमान सजिलो छैन । नतिजाको पूर्वानुमानमा सबैभन्दा कठिन पक्ष भनेको मतदाताको बदलिने मनस्थिति हो । त्यही कारणले धेरै ‘एक्जिट पोल’हरु असफल भएका प्रशस्तै उदाहरणहरु छन् ।

तर निकट विगतको चुनावी नतिजा र चुनावका क्रममा बनेको राजनीतिक समीकरणलाई आधार मानेर पूर्वानुमान गर्न सकिन्छ । जसरी कुनै खेलमा खेलाडी र उसको टिमको पृष्ठभूमिलाई आधार मानेर नतिजाबारे पूर्वानुमान गर्ने प्रचलित विधि छ ।

४ मंसिरमा हुने चुनावको नतिजा आंकलन गर्न स्थानीय चुनावको नतिजा र दलहरुबीच बनेको राजनीतिक समीकरणको विश्लेषण एउटा बलियो विधि हो । किनकि ३० वैशाखमा देशका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा पनि दलहरु गठबन्धन र तालमेल गरेर नै चुनावी प्रतिस्पर्धामा थिए । यद्यपि त्यो बेला सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेतिर लागेको छ भने त्यसबेला कतिपय ठाउँमा एमालेसँग तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सत्ता गठबन्धनतिर लागेको छ ।

साथै, स्थानीय चुनावपछि गठन भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र हाम्रो नेपाली पार्टी (लौरो अभियान) को केही क्षेत्रमा राम्रो प्रभाव देखिन्छ । नयाँ पार्टीहरुले प्रतिनिधिसभाको केही निर्वाचन क्षेत्रको जित हारमै प्रभाव पारे पनि समग्रमा कांग्रेस र एमाले नेतृत्वको दुई गठबन्धनकै प्रतिस्पर्धा हुने देखिन्छ ।

यो आलेखमा दुई गठबन्धनमा आवद्ध दलहरुले स्थानीय निर्वाचनमा (वडाध्यक्षका उम्मेदवारहरु) ले पाएको मत, गठबन्धनभित्र मत स्थानान्तरण (ट्रान्सफर) र त्यसअनुसार आउने सम्भावित परिणामबारे चर्चा गर्नेछौं ।

पहिलो : १३४ र ३० को आंकडा

सबभन्दा पहिला दुबै गठबन्धनमा आवद्ध दलले वडाध्यक्षमा पाएको मतका आधारमा आउने नतिजा हेरौं ।

सत्ता गठबन्धनमा आवद्ध दलका वडाअध्यक्षका उम्मेदवारले पाएको मत जोड्दा जसको बढी आउँछ, त्यसले जित्छ भन्ने मान्ने हो भने कांग्रेस नेतृत्वको गठबन्धनले १३४ र एमाले नेतृत्वको गठबन्धनले मात्र ३० निर्वाचन क्षेत्रमा चुनाव जित्ने छ । भक्तपुर क्षेत्र नम्बर १ मात्रै यस्तो एउटा क्षेत्र हो, जहाँ दुबै गठबन्धन जित्ने छैन । त्यहाँ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सबभन्दा धेरै भोट छ ।

यो आंकडाअनुसार, सत्तारुढ र एमाले दुवै गठबन्धनले शतप्रतिशत सफलता पाउँदाको स्थिति हो । तर यस्तो नजिता आउने सम्भावना अत्यन्तै न्यून हुनेछ ।

दोस्रो : ८५/७९ को आंकडा

सत्तारुढ कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको छ । लोसपासँग प्रदेश २ मा मात्र गठबन्धन हो भने अरु दलसँग देशभर । स्थानीय निर्वाचनको पहिलो दल र तेस्रो दलले देशभर तालमेल गर्नु र त्यही गठबन्धनमा अरु दल पनि थपिनु सत्ता गठबन्धनका लागि चुनावी अनुकलता हो ।

तर एउटा पार्टीको समर्थकको मत अर्को पार्टीका उम्मेदवारमा जानु (मत ट्रान्सफर) उनीहरुका लागि चुनौती हो । एउटा दलले पाएको मत अर्को दलका उम्मेदवारलाई दिलाउन सजिलो कुरा होइन । किनकि निकै कम मत भएको पार्टीका उम्मेदवारलाई ठूलो मत पाएको पार्टीले समर्थन गरेको अवस्था छ ।

यदि सत्ता गठबन्धनको उम्मेदवारले गठबन्धनकै अर्को सहयात्री दलबाट ५० प्रतिशत मात्र मत पायो र बाँकी मत अर्को गठबन्धनका उम्मेदवारलाई गयो भने नजिता हेरफेर हुनेछ । गठबन्धनको मत ५० प्रतिशत पनि ट्रान्सफर भएन भने १३४ को आंकडा घटेर ८५ मा झर्नेछ र, एमाले नेतृत्वको गठबन्धनको सिट ३० बाट बढेर ७९पुग्नेछ । र नेमकिपाको एक सिट कायमै रहनेछ ।

यो अवस्थामा गठबन्धनमा रहेका दलहरुले समानुपातिक पद्धतिमा पाउने सिटका आधारमा बहुमतको सरकार बनाउन सक्छन् । चुनावी अंकको विश्लेषण गरिरहेका कांग्रेस नेता डा. मिनेन्द्र रिजाल भन्छन्, ‘८५ ठाउँमा मात्रै चुनाव जिते समानुपातिक जोड्दा गठबन्धनको बहुमत पुग्छ, सरकार बनाउने आधार बन्छ । तर त्यति थोरै ठाउँमा अपेक्षित सफलता प्राप्त नभएकोमा एकअर्का प्रति औंला उठाएर नयाँ गठबन्धन निर्माण गर्ने बाटोको खोजी गर्ने सम्भवना हुनसक्छ ।’

मत ट्रान्सफर सत्तारुढ गठबन्धनको मात्र होइन, एमाले गठबन्धनको पनि टाउको दुखाइको विषय हो ।

किनकी एमालेले झापा, रुपन्देही र बाँकेमा राप्रपासँग तालमेल गरेको छ भने जसपासँग तराई–मधेसका १४ जिल्लामा तालेमल गरेको छ । राप्रपा नेपालसँग मकवानपुरमा र जनता प्रगतिशील पार्टीसँग नवलपरासीमा तालमेल गरेको छ । यो गठबन्धनमा अरु दलको तुलनामा जसपा र एमालेको मत ट्रान्सफर सजिलो हुनेछैन । किनकी उम्मेदवारी दर्ताको दुई दिनअघिसम्म जसपा सत्तारुढ गठबन्धनमै थियो र एमालेसँग तिक्ततापूर्ण सम्बन्ध थियो ।

सत्तारुढ गठबन्धनमा जस्तै एमाले गठबन्धनमा पनि ५० प्रतिशत मात्र मत ट्रान्सफर भयो, र बाँकी मत अर्को गठबन्धनका उम्मेदवारलाई गए नतिजा बदलिनेछ । यो अवस्थामा कांग्रेस गठबन्धनले १०६ सिट जित्नसक्छ भने एमाले गठबन्धन ५७ सिटमा खुम्चिन सक्छ ।

तेस्रो : ९८/६६ को आंकडा

सत्ता गठबन्धनको मत ट्रान्सफरको दर ५० प्रतिशतबाट बढेर ६० पुग्ने हो भने नतिजा कस्तो होला ? स्थानीय चुनावको नतिजाको आधारमा भन्न सकिन्छ, सत्ता गठबन्धन ९८ सिटमा पुग्छ भने एमाले गठबन्धन ६६ मा झर्छ । अझ एमाले गठबन्धनमा पनि मत ट्रान्सफरको समस्या देखियो भने सत्ता गठबन्धनले १०० कटाउनेछ ।

यो तथ्यांकअनुसार, सत्ता गठबन्धनको कांग्रेसले ५८ सिट जित्नेछ भने माओवादीले २७ (स्वतन्त्रसहित), एकीकृत समाजवादीले १०, लोसपाले ३ सिट जित्नेछ । अर्को गठबन्धनबाट एमालेले ५२, जसपाले १०, राप्रपाले ३ र जनता प्रगतिशीलले १ सिट जित्नेछ । नेमकिपाको खातामा पनि एक सिट हुनेछ ।

चौथो : १११/५३ को आंकडा

सत्ता गठबन्धनको मत ट्रान्सफर अझ बढ्यो र ८० प्रतिशत पुग्यो । बाँकी २० प्रतिशतमध्ये १० प्रतिशत अर्को गठबन्धनका उम्मेदवारले पाए र बाँकी अन्यत्र गयो भने ? यो अवस्थामा सत्ता गठबन्धन १११ सिट भन्दा अगाडि हुनेछ । कांग्रेसले ६२, माओवादी केन्द्रले ३० (स्वतन्त्रसहित), एकीकृत समाजवादीले १३, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले २ सिट जित्नेछ ।

एमाले गठबन्धनसँग ५३ सिट हुनेछ । जसमा एमालेको ३९, जसपाको १०, राप्रपाको ३ र जनता प्रगतिशील पार्टीको एक सिट हुनेछ । भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टी नै हुनेछ ।

र, नतिजा प्रभावित पार्ने पक्षहरु

यी सबै आंकडा निकालिरहँदा दलहरुभित्रको असन्तुष्टि र बागी उम्मेदवार बिर्सन मिल्दैन । गठबन्धन गरेकै कारण असन्तुष्ट नेताहरुले पार्टीकै निर्णयविरुद्ध बागी दिएका छन् । चितवन ३, सर्लाही १, पर्सा १, सुनसरी १ जस्ता क्षेत्रमा बागीको असर पर्न सक्छ । जसले स्थानीय चुनावको नतिजा र गठबन्धनको समीकरणका आधारमा गरिएको नतिजा पूर्वानुमान बदलिन सक्छ ।

अर्काे पक्ष, नयाँ दल र स्वतन्त्र उम्मेदवारीप्रति मतदातामा देखिएको रुझानले चुनावी नतिजामा असर पार्नेछ । काठमाडौं–८ लगायत कतिपय क्षेत्रमा हाम्रो नेपाली पार्टी (लोरो अभियान) र चितवन २, ललितपुर ३ सहित शहरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको राम्रो प्रभाव देखिएको छ ।

तराई–मधेसका जिल्लामा जनमत पार्टी र मोरङ–३, चितवन–३ लगायत क्षेत्रमा राप्रपाले पाउने मतले पनि यी पूर्वानुमान बदलिनेछ ।

विशेष गरी यहाँ प्रस्तुत गरिएको पूर्वानुमानलाई असर पार्ने महत्वपूर्ण पक्ष भनेको राजनीतिक दलहरुको एजेण्डा र उम्मेदवारको व्यक्तिगत पृष्ठभूमि हो । राष्ट्रिय राजनीतिक घटनामा उक्त दलले खेलेको भूमिका र प्रस्तुत अभिव्यक्ति (प्रतिवद्धतापत्र) ले मतदाताको मन बदलिन सक्छ । चुनावी प्रचारकै क्रममा पनि राजनीतिक नेतृत्व वा उम्मेदवारले आफ्नो पक्षमा माहोल ल्याउन सक्छ ।

निकट विगतको नजीर र अहिले आमवृत्तिमा भइरहेको छलफलका आधारले पनि उम्मेदवारको पृष्ठभूमिले चुनावी नतिजामा असर पर्नेछ । कमजोर संगठन र दलको टिकटबाट पनि चुनाव जितेको, अनि बलियो संगठनका उम्मेदवार पनि हारेको प्रशस्त उदाहरण हामीसँग छ । त्यसको पछाडि उम्मेदवारको पृष्ठभूमिले काम गरेको छ । आउने चुनावमा यो पक्षको असर देखिनेछ ।

(ग्लोबल इन्ष्टिच्युट फर इन्ट्राडिसिप्लिनसरी स्टडिजको टिमको सहयोगमा )