योग किन पढ्ने

योग शब्दको अर्थ जोड्नु हुन्छ। आत्माको परमात्मासँगको मेल वा जोडलाई योग भनिन्छ। योगले मानवीय चेतनाको अधिकतम विकास गरी सम्पूर्ण जगतको रहस्य सिकाउँदै आनन्दको उच्चतम अनुभूति गराउँछ।

भगवान शिव, गौतम बुद्ध तथा हजारौं मुनिको साधना भूमिका रूपमा रहेको नेपाल योगको उद्गमस्थल हो। हठयोगका विभिन्न साधना पद्धतिका विकास नेपालमै हुनु तथा योगीलाई राजवैद्यका रूपमा हेर्ने कुराले प्राचीन समयदेखि नै नेपाल योगभूमि हो भन्ने पुष्टि हुन्छ। प्राचीनकालदेखि ऋषिहरूले विकसित गरेको योग साधनाका साथसाथै चिकित्साको रूपमा पनि रहेको छ।

प्राचीन समयमा हठयोग, तन्त्रयोग, मन्त्रयोग, राजयोग, कर्मयोग, ज्ञानयोग जस्ता विभिन्न योग प्रमुख रूपमा रहेका थिए। वर्तमान समयमा विश्वमा यिनैबाट विकसित गरिएका भावातित ध्यान, विपश्यना ध्यान, सुदर्शन क्रिया, अष्टाङ्ग योग, विक्रम योग, विन्यास योग, आयङ्गर योग, कुण्डलिनी योग जस्ता अनेकौं विधिको बृहत् अनुसन्धान तथा उपयोग भैरहेको छ।

इन्टरनेशनल योग फेडेरेसनका अनुसार विश्वभरि ५५ करोड मानिसले योग अभ्यास गर्दछन्। अहिले विश्वमा अनेकन् भौतिक सुविधा थपिएका छन्। प्रविधिसँगै दैनिक जीवनयापन पनि सहज बन्दै गएको छ। तर पछिल्लो समय मानवजीवन थप तनाव र बेखुसीयुक्त बन्दै गएको छ। समाजमा हत्या, हिंसा, कुलत आदि फैलिइरहेका छन्। यी सबैलाई कम गरी खुशी र आनन्दित जीवन बनाउन योगको शिक्षा अत्यावश्यक छ।

अरु जुनसुकै विषयको अध्ययनपश्चात् पनि हामीलाई हाम्रो जीवनमा योग तथा अध्यात्मको आवश्यकता पर्दछ। सीधै योगको अध्ययनबाट योगको बृहत्तर ज्ञान हुनुका साथै आर्थिक, सामाजिक, मानसिक र शारीरिक रूपमा पनि फाइदा पुग्दछ।

विश्वमा अहिले धेरै अध्ययनका विषय एकदमै गहन हुँदै गइरहेका छन्। यसबाट विषयवस्तुको व्यापकता र प्रयोग बढेको छ। योसँगै आपसमा विभिन्न विषयवस्तुको जोडको आवश्यकता समेत महसुस भएको छ। यस्तो जोडलाई योगले सार्थकता प्रदान गर्दछ। आजभोलि विश्वमा मानव जीवनलाई कसरी खुशी र आनन्दित बनाउने भन्ने विभिन्न प्रयोग तथा अनुसन्धानहरू भइरहेका छन्। यो सँगै पूर्वीय विधाको योगको व्यापकता बढिरहेको छ। साथसाथै योगको व्यापकता बढेर पर्याप्त रोजगारीका अवसर समेत उपलब्ध छन्। सानातिना तालिमकै भरमा अन्तर्राष्ट्रियस्तरमा योग प्रशिक्षकहरूले काम गरिरहेको अवस्थामा योगमै विश्वविद्यालयस्तरमा योगका कोर्सहरू सञ्चालन हुनुपर्ने आवश्यकता पनि छ।

संयुक्त राष्ट्रसंघले जून २१ लाई विश्व योग दिवसका रूपमा घोषणा गरी मनाउन थालेको छ। योसँगै योगको विश्वव्यापीकरण हुनुका साथै योगमा रोजगारीको अवसर समेत वृद्धि हुँदै गइरहेको छ। योगका निम्न उपयोगिताहरूले योग किन पढ्ने भन्ने कुरालाई पुष्टि गर्दछन्:

योग पर्यटन:

प्राकृतिक सम्पदा र जैविक विविधताले भरिपूर्ण रहेको नेपालमा योग पर्यटनका प्रशस्त सम्भावना छन्। पर्वतीय क्षेत्रमा पर्यटकलाई कम अक्सिजनबाट उत्पन्न हुने विभिन्न नकारात्मक असरहरू न्यूनीकरण गर्दै चेतना तथा आनन्दको विस्तार गर्न योग निकै फलदायी हुन्छ। प्राकृतिक छटाले भरिपूर्ण, शान्त स्थलहरू नेपालमा प्रशस्त छन्, जहाँ योगका विभिन्न विधि प्रयोग गरी नेपाललाई साधनाको गन्तव्यको रूपमा विकसित गर्न सकिन्छ। जसबाट देशको विकास गर्न निकै सहयोगी हुन्छ।

त्यस्तै विदेशीलाई केन्द्रित गरेर नेपालमै योग रिसोर्ट चलाउन, योगका कोर्स संचालन गर्न समेत सकिने हुन्छ। विदेशमा समेत पर्यटनसँग सम्बन्धित होटल, रिसोर्ट, साधना केन्द्रमा योग प्रशिक्षणका राम्रा अवसर प्राप्त गर्न सकिन्छ।

योगले खेलजगतमा चाहिने शारीरिक सुगठन, मानसिक एकाग्रता तथा सन्तुलन, शरीरमा लचकता प्रदान गर्दछ। यसले गर्दा खेलमा सफलता मिल्नुका साथै खेलमा मित्रता बढ्दछ। योगले खेलमा हुने चोटपटकपछिको उपचार र दीर्घकालीन असरलाई समेत कम गर्दछ। योगलाई खेलकुदसँग जोडेर थप काम गर्न समेत सकिने अवस्था छ।

योग चिकित्सा:

विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा स्वस्थ हुनु हो। यो सबैको प्राप्तिको आधार नै योग हो। आधुनिक समयमा विज्ञानले गरेका खोज तथा प्रगतिले गर्दा विभिन्न सरुवा रोगहरू जस्तै प्लेग, क्षयरोग, झाडापखाला, निमोनिया आदिको महामारी कम भएको छ। तर नसर्ने रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, क्यान्सर, हृदयघात, मस्तिष्कघात, अम्लपित्त, मिर्गौलाको खराबी, दम, माइग्रेन, चिन्ता, डिप्रेसन, ढाड दुख्ने, उच्च बोसोपना, मोटोपना आदिको बिगबिगी छ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्कका अनुसार अहिले सर्ने रोगभन्दा नसर्ने रोगहरूबाट मृत्यु हुनेको सङ्ख्या बढी छ। अधिकांश नसर्ने रोगका कारणमा असन्तुलित खानपान, व्यायामको कमी, तनाव, कुलत जस्ता कुराहरू पर्दछन्। यी सबैलाई हटाई योगले सन्तुलित जीवन जिउन सिकाउनुका साथै रोगलाई निको पार्दछ। योग अभ्यासले क्यान्सर, मधुमेह, माइग्रेन, वाथरोग, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, दम, ढाड दुख्ने, मानसिक तनाव, डिप्रेशन, सिजोफ्रेनिया, मोटोपन, अम्लपित्त, कब्जियत जस्ता नसर्ने रोग रोक्न तथा भइसकेपछि निर्मूल पार्न सहयोग गर्दछ।

योग अभ्यासले सबै रोग तथा चोटपटकमा प्रतिरक्षा प्रणालीलाई मजबुत बनाई रोगसँग लड्न सहयोग गर्नुका साथै भविष्यमा रोग हुनबाट समेत बचाउँछ। योगले आनन्दमा आधारित जीवनशैली परिवर्तन सिकाउँछ, जुन सहज र दीर्घकालीन हुन्छ। त्यसैले समाजमा प्रतिष्ठित चिकित्सक वा योग चिकित्सकको निगरानीमा दीर्घ रोगको रोकथाम तथा व्यवस्थापनमा सहयोग गर्न सकिने हुन्छ।

साधनाको आधार:

योगका विभिन्न अभ्यास जस्तै आसन, क्रिया, सात्विक आहार, आसन, मुद्रा, प्राणायाम, ध्यान, स्वाध्याय, अनाश्रित कर्म आदिबाट मानव अस्तित्वका सबै कोषहरू सन्तुलित तथा उच्चतम विकसित हुन्छन्। योगबाट हामी लोभ, मोह, क्रोध तथा विकारहरूबाट मुक्त भई सधैंभरि आनन्दमा जिउँदै ब्रह्ममा लीन हुन सक्छौं। जसबाट हामीले सामान्य प्राणीबाट ईश्वरत्व प्राप्त गर्न सक्छौं। त्यसैले साधनासँगै रोजगारीको लागि योग शिक्षा उपयोगी हुन्छ।

योग पुनर्स्थापना:

पुनर्स्थापना भन्नाले रोग, चोटपटक, मानसिक असन्तुलन आदिबाट पुन: सामान्य अवस्थामा फर्काउनु अथवा सो हुन नसकेमा भइरहेको अवस्थामा अत्यधिक सहजता ल्याउनु भन्ने बुझिन्छ। योग पुनर्स्थापना विशेषगरी हृदयघात, मस्तिष्कघात, ठूला चोटपटक पछि हुने शारीरिक तथा मानसिक अक्षमता, मानसिक तनाव, क्यान्सर, कुलतमा रहेका बिरामीहरूलाई पुनः सामान्य अवस्थामा फर्काउनु अथवा उनीहरूका दैनिक गतिविधि सहज गराउन उपयोगी हुन्छ। वैज्ञानिक अध्ययनहरूमा सामान्य पुनर्स्थापनाभन्दा यौगिक पुनर्स्थापना बढी उपयोगी भएको पाइएको छ। योसँगै सम्बन्धित विशेषज्ञको निगरानीमा योगमा आधारित पुनर्स्थापना गराउन समेत सकिन्छ।

शिक्षा र अनुसन्धान:

योगले मानसिक चिन्ता हटाई स्मृति, ज्ञान हासिल गर्न सक्ने क्षमता बढाउँछ। विद्यार्थीमा गरिएको अनुसन्धानले विद्यार्थीमा परीक्षा अगाडिको तनाव कम गर्दै कार्यक्षमता समेत बढाउँछ। आजभोलि विद्यालय तथा विश्वविद्यालय, अनुसन्धानमा योग व्यापक बन्दै गइरहेको छ र साथै योग अध्ययनपछि विभिन्न विद्यालयमा योग शिक्षण, विश्वविद्यालयमा प्राध्यापन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्रमा अनुसन्धाताका रूपमा कार्य गर्ने अवसर समेत प्राप्त भइरहेको छ।

कार्यक्षेत्रमा योग:

कार्यक्षेत्रमा आजभोलि निकै नै तनावजन्य परिस्थितिसँग जुध्नुपर्ने अवस्था छ। योसँगै व्यक्तिको कार्यक्षमता समेत ह्रास आइरहेको छ। त्यसैले विश्वमा अहिले कार्यक्षमता राम्रो गराउन र तनावलाई कम गर्न कार्यक्षेत्रमा योग प्रशिक्षकको रोजगारीको अवसर समेत प्राप्त भइरहेको छ।

साधनाको विषयवस्तु भए पनि जीवनलाई सुख र आनन्दित बनाउन योगलाई आधिकारिक अध्ययनको विषय बनाउनुपर्छ भन्ने विश्वव्यापी मान्यता विकसित हुँदै गएको छ। यही कुरालाई मध्यनजर गरेर नेपालमा विश्वविद्यालय स्तरमा योगको डिप्लोमा र विद्यावारिधि सुरु भएको पनि छ। माथिल्लो तहमा मात्र सीमित नभई योगको विद्यालय तहमै अध्ययन तथा अध्यापनको प्रयास समेत भइरहेको छ। यस्तो अध्ययनमा पूर्वीय विधाको मौलिकतासँगै प्रविधि र अनुसन्धान जोड्नुपर्ने जरुरत पनि छ।

योगको अध्यापनलाई थप प्रविधिमैत्री, अनुसन्धानमूलक र सीपयुक्त बनाउने उद्देश्यले विज्ञान र प्रविधि शिक्षामा विशेष भूमिका निर्वाह गर्दै आएको काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलो पटक ब्याचलर इन योगिक साइन्स एन्ड वेलविङ कोर्स सुरु गरेको छ। विश्वविद्यालयले योग शिक्षाका माध्यमद्वारा ज्ञान र विज्ञानलाई पूर्वीय र पाश्चात्य दर्शनसँगै संयोजन गर्दै सकारात्मक सोच, नैतिक निष्ठा र विश्वमा आत्मीय सौहार्दपूर्ण वातावरण सिर्जना र परिपूर्ति गर्ने उद्देश्य लिएको छ। उच्च क्षमतायुक्त योग विज्ञ तथा अन्वेषकबाट अध्यापन हुने यो कोर्षको सम्पूर्ण व्यवस्थापन स्कुल अफ आर्टसले गरेको छ।

यसबाट योगको उच्च शिक्षालाई वैज्ञानिक खोजमूलक र आधुनिक प्रविधियुक्त बनाउन तथा मानव जीवनका अनेकन् पक्षको विस्तृत अध्ययन गर्न सहयोग पुग्नेछ। यसरी हरेक व्यक्तिको शारीरिक, मानसिक, भावनात्मक, सामाजिक र आध्यात्मिक कल्याणसँगै विश्वमा शान्ति र सौहार्दता कायम गर्न योग शिक्षाको भूमिका रहनेछ। योग शिक्षाले केवल जागिरमुखी जनशक्ति निर्माण गर्ने मात्र नभई नेपाललाई योग भूमिको रूपमा अन्तर्राष्ट्रियस्तरमा चिनाउन, वैदेशिक मुद्रा आर्जन गर्न, मौलिक संस्कृतिको विकास र संरक्षण गरी स्वस्थ र निष्ठावान समाज निर्माण गर्न सहयोग गर्नेछ।

अध्ययनको क्रममा विद्यार्थीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य गर्दै प्रयोगशाला, आरोग्य केन्द्र, आश्रम, गुरुकुल तथा योग संस्थामा प्रयोगात्मक प्रशिक्षण/इन्टर्नशिप तथा अनुसन्धान गर्ने अवसर प्राप्त गर्नेछन्। यो विषयको उत्पादित जनशक्तिले सहजै रूपमा नेपालका स्कुल तथा कलेजमा अध्यापन गर्ने, आफैं योग केन्द्र स्थापना गर्ने, योग रिट्रिट खोल्ने, योग अनुसन्धान कर्ता, अन्तर्राष्ट्रिय योग प्रशिक्षक, आरोग्य प्रशिक्षक, योग टुर गाइड बन्ने अवसरहरू प्राप्त गर्नेछन।

(लेखक काठमाडौं विश्वविद्यालयमा योगिक विज्ञानको फ्याकल्टी हुन्।)