
१७ मंसिर, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिवद्ध भएर लागिपर्ने बताएका छन् ।
सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षा अनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको पनि धारणा राखे । शनिबार जनमत पार्टीले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै निराश हुन नदिने प्रतिवद्धता जनाए ।
एउटा व्यक्ति सांसद, मन्त्री वा प्रधानमन्त्री हुँदैमा केही गर्न नसकिने तर सबैको सहयोग पाए जनताको हितमा काम गर्न सकिने उनको भनाइ छ । अध्यक्ष राउतले जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढ्ने पटक पटक दोहोर्याए ।
हामीले सपना देख्यौं देशको समृद्धिको, समानताको, भाइचाराको । त्यसलाई आगामी दिनमा हामी पूरा गर्न प्रतिवद्ध रहनेछौं । आफ्ना एजेण्डाहरुप्रति इमान्दार रहनेछौं र, त्यही अनुरुप काम गर्नेछौं भन्न चाहन्छु । तपाईहरुले मलाई यहाँसम्म पुर्याइदिनुभयो, तपाईहरुको पनि काम सिद्धियो भन्ने होइन, यो त यात्राको नयाँ मोडको सुरुवात मात्रै हो । यहाँबाट तपाईहरुको सहयोग झन् बढी चाहिन्छ ।
अब काम गर्ने बेला आयो, काम गर्ने ठाउँमा पुग्यौं । यतिबेला तपाईंहरुको सहयोग झन् बढी हामीलाई चाहिन्छ । तपाईंहरु जुनसुकै वर्गको हुनुहोस् । विद्यार्थी हुनुहुन्छ, कर्मचारी हुनुहुन्छ, अधिवक्ता हुनुहुन्छ, पत्रकार हुनुहुन्छ, व्यवसायी हुनुहुन्छ । जुनसुकै वर्गबाट भए पनि तपाईहरुको व्यापक सहयोग हामीलाई आवश्यक पर्दछ । हामीले जुन एजेण्डा लिएर अगाडि बढेका छौं, जुन सपना देखेका छौं, जनताले जुन अपेक्षा हामीसँग राखेका छन्, त्यो अपेक्षा कति ठूलो छ भन्ने तपाईँहरुलाई पनि अनुमान छ, तपाईहरुले पनि बुझ्नुहुन्छ ।
कतिपयले त अन्तिम आशा समेत भन्नुहुन्छ । मलाई त्यो शब्द प्रयोग गर्दा एकदम डर लाग्छ । अन्तिम आशा हो भनिदिनु हुन्छ । अन्तिम आशा किन खतरनाक लाग्छ भन्दाखेरि हामीले यदि काम गर्न सकेनौ भने के हुन्छ ? अन्तिम आशा तोडियो भने के हुन्छ त ? देश निराशामा जान्छ । जनता निराशामा जान्छन् । त्यो भएर यदि जनताले हामीलाई अन्तिम आशाको रुपमा देखेका छन् भने हाम्रो पनि जिम्मेवारी त्यही स्तरको हुनु पर्दछ । हाम्रो पनि मनस्थिति डू एण्ड डाईको हुनुपर्दछ ।
त्यही भएर म तपाईहरुसँग पनि आग्रह गर्न चाहन्छु–तपाईहरु जहिले पनि हामीलाई सहयोग गर्ने अवस्थामा रहनुस् । सहयोग गर्न तयार रहनुस् । हामी तपाईलाई सहयोग गर्न जहिले पनि राति पनि आउन सक्छौं । दिउँसो पनि आउन सक्छौं । जतिबेला पनि आउन सक्छौं । तर यो तपाईंहरुको सहयोगले नै सम्भव हुनेछ । जनताले जुन अपेक्षा राखेका छन्, त्यो एक जना व्यक्तिले सांसद हुँदैमा, मन्त्री हुदैमा वा प्रधानमन्त्री हुँदैमा पनि पूरा हुने होइन ।
हामी सबै मिलेर जुन सपना हामीले देख्यौं, त्यसको लागि दिनरात काम गर्न सक्यौ भने मात्रै हामी जनअपेक्षामा खरो उत्रन सक्छौं । म तपाईहरुलाई विशेष आग्रह गर्न चाहन्छु–आगामी दिनमा पनि तपाईंहरुको सल्लाह, सुझाव जे छ, त्यो खुला हृदयले दिनुहोस् । म त्यसलाई लिइराख्छु, सुन्छु । त्यही अनुसार मनन गर्छु । काम गर्छु । र, हामीले कतै पनि बाटो बिराएको खण्डमा तपाईंहरु एकदम निर्धक्क भएर मलाई रोक्नुहोस् । किनभने मलाई बनाएको. नै तपाईहरुले हो ।