एउटा प्रश्नबाट भयभीत ‘पुरुष’

मंसिर २६ को दिन बिहान मैले फेसबुकमा एउटा स्टाटस लेखेको थिएँ, ‘अर्काको श्रीमती, श्रीमानबीच भिडियो कलमा १०-१५ मिनेट या अझ घण्टौं भनौं न; होइन कुरा चाहिं के हुन्छ ?’

मैले यति एउटा प्रश्न के गरेकी थिएँ, धेरैलाई लागेछ, ठूला मान्छेको गम्भीर विषय पत्रकारको हात लागेछ । केही समयमै कोही राम्रै मान्छेको सामाजिक सञ्जाल कुनै खतरनाक कहानी (काण्ड) समाचार बन्दैछ । तर, सत्य यस्तो थिएन । विषय, सन्दर्भ फरक भए पनि यसले धेरै व्यक्तिका बीच तरंग उत्पन्न गराएछ । कैयन् पुरुष र महिलाहरूका मनमा त अलिअलि चिसो पनि पसेछ ।

स्टाटसमा मात्र ४४ वटा कमेन्ट आएका रहेछन् । एक जनाले शेयर र १३० जनाले लाइक गरेछन् । यो देखे–भोगेका कुरा व्यक्तिगत विचारका रूपमा फेसबुकमा बेलाबखत लेख्ने आदत हो । म पनि आफूलाई केही लाग्यो भने लेख्छु र अरूहरूले पनि यसैगरी फेसबुक या विभिन्न माध्यममा लेख्छन् होला ।

तर, यसपटकको एउटा स्टाटसले म स्वयंलाई पनि धेरै पटक सोचनीय बनायो । स्टाटसमा आएका लाइक, कमेन्ट भन्दा पनि बढी प्रतिक्रिया सार्वजनिक कार्यक्रममा भेट हुनेहरू, बाटोमा, पसलमा र कार्यालयहरूमा भेटिनेहरूबाट आयो ।

अहो ! बहिनी, कसको के गोप्य कुरा थाहा पायौ ? कसले फेरि के काण्ड घटायो ? तिमीले के लेखेको यार बहिनी, मेरो त घरमा झगडा नै पर्‍यो ! श्रीमतीले फेसबुकको पासवर्ड माग्न थालिन् । यी र यस्तै प्रश्न र सवालहरू प्रत्यक्ष–परोक्ष दैनिकजसो सुन्न परिरह्यो ।

यति मात्र कहाँ हो र ? हिजो आज समाचार संकलनको क्रममा पुरुष कार्यालय प्रमुख वा पुरुष सूचना अधिकारीलाई फोनमार्फत भेट्ने समय माग्दा होस् या प्रत्यक्ष भेट हुँदा पनि अधिकांशले अर्काको श्रीमान–श्रीमतीसँग धेरैमा कति मिनेटसम्म बोल्न मिल्छ म्याम भन्ने प्रश्नको समेत सामना गर्नुपर्‍यो । र, एउटा स्टाटस लेखेको मलाई त्यही स्टाटसमै सीमित रहन मनले सुख दिएन । फलतः यसलाई एउटा लेखकै आकार दिने निचोडमा पुगें म ।

मेरो प्रश्न कुनै एक, दुई पात्रप्रति लक्षित भन्दा पनि पछिल्लो समय देखिएको समग्र प्रवृत्तिमा केन्द्रित हो ।

फोन या सामाजिक सञ्जालमा हुने संवाद अन्यथा कदापि होइन तर, आवश्यक बाहेक घण्टौं फोनमा हुने कुराकानीले निसीखोलामा श्रीमान_श्रीमतीबीच भएको भयानक घटना जस्तै अरू घटना, दुर्घटना निम्त्याउन सक्छ ।

बाग्लुङ जिल्लाको निसीखोलामा २२ वर्षीया महिलाले असार २५ गते आफ्नै श्रीमानको हम्बरले टाउकोमा हानेर हत्या गरिन् । श्रीमान मरिसक्दा पनि उनको रिस मरेन, उनले मृत श्रीमानको टाउको खुकुरीले चुँडाइन्, अनि खोलामा बगाइदिइन् । प्रेमविवाह गरेका श्रीमानलाई मारेर टाउको समेत काट्नुपर्ने अवस्था किन आयो ?

उनले प्रहरीलाई जवाफ दिएकी छिन्, ‘श्रीमानले मेरै अगाडि अरु केटीसँग कुरा गर्थे, तँभन्दा यो राम्री, यसका आँखा राम्रा, रूप राम्रो, बानी व्यवहार र बोली राम्रो भन्ने । हरेक रात रक्सी पिएर आउँथ्यो, मसँग सुत्दा पनि अरू केटीको नाम लिन्थ्यो । त्यो राति पनि मसँग सहवास गर्दा अर्की केटीको नाम लियो, मैले आफूलाई सम्हाल्न सकिनँ, हम्बरले टाउकोमा हानेर मारिदिएँ । ऊ मरेपछि उसले मलाई गरेको व्यवहार सम्झिएँ, मलाई अझै रिस उठ्यो र खुकुरीले टाउको चुँडाइदिएँ ।’

जिल्ला अदालत बाग्लुङमा आर्थिक वर्ष २०७८/७९ मा सम्बन्धविच्छेद सम्बन्धी ३१९ वटा मुद्दा दर्ता भएका छन् । अंशबण्डाका १०२, बहुविवाहका १३, बालविवाहका ४, आत्महत्या दुरुत्साहनका ६, ज्यान मार्ने उद्योगका १३, जबरजस्ती करणीका २७, हाडनाता करणीका ५, जबरजस्ती करणी उद्योगका ९, बालयौन दुरुपयोगका ५, ठगी, अपराध, विश्वासघातका ३ र मानव बेचबिखन सम्बन्धी एउटा मुद्दा दर्ता भएको छ । श्रीमान–श्रीमती, सासूससुरा र पारिवारिक बेमेलका उजुरी जिल्ला प्रहरी कार्यालय बाग्लुङमा पनि प्रशस्त छन् ।

अदालत र प्रहरीमा बढ्दा मुद्दाहरूको चाङ भित्रबाट हामीले सभ्य परिवार, सभ्य समाज र सभ्य राष्ट्रको परिकल्पना गर्नु सम्भव छ ? पछिल्लो समय महिला माथि हुने हिंसाको प्रकृति फेरिएको छ भनेर अधिकारवादीहरूले गर्ने भाषण सुन्ने गरेका छौं । हिजो आजका श्रीमानले श्रीमतीलाई कुट्न, पिट्न छोडिसके रे ! महिलाहरू शारीरिक रूपमा भन्दा पछिल्लो समय मानसिक रूपमा हिंसा भोगिरहेका छन् । हो, हिंसा भोग्नेहरू महिला मात्र छैनन्, महिलाको कारणले धेरै पुरुषले पनि यस्तो हिंसा भोगेका छन् । तर, पुरुषको संख्या महिलाको भन्दा कम छ ।

मैले फेसबुकमा ‘अर्काको श्रीमती, अर्काको श्रीमानबीच भिडियो कलमा १०–१५ मिनेट, अझ घण्टौं भनौं न; होइन कुरा चाहिं के हुन्छ ?’ भन्ने प्रश्न गरेपछि र त्यसमा आएका प्रतिक्रिया हेरेपछि मलाई सार्वजनिक या सामाजिक सञ्जालमा यसरी प्रष्ट लेख्न र भन्न नसकेका पात्रहरू धेरै नै रहेछन् भन्ने बोध भयो ।

केही महिलाले आफैंले यो पीडा भोगिरहेको गुनासो गर्नुभयो । प्रायः पुरुषहरू रुष्ट हुनुभएछ । यसबीच अर्काका श्रीमान–श्रीमती बीच खास कुरा के हुन्छ भन्ने मानिस कोही भेटिएनन् । यसो भनुन् या भेटिउन् पनि कसरी ? त्यो पनि एक पत्रकारको परिचय बोकेकी मसँग ? तर, यसकै बहाना बनाएर बोल्न खोज्ने अर्काका श्रीमान भने भेटिए है !

समाजमा बढ्दो आपराधिक घटना, पारिवारिक बेमेल, सम्बन्धविच्छेद र बलात्कारका घटनाको कारक अर्काका श्रीमान–श्रीमती बीचको सम्बन्ध र संवाद बनेकोमा दुईमत छैन । जहिलेसम्म हामीहरू सम्बन्ध र सम्बन्ध बीचका सीमा छुट्याउन सक्दैनौं, तबसम्म समाजमा यस्ता घटना भइरहने छन् ।

र अन्त्यमा, एक स्टाटसका निमित्त मलाई प्रश्न, जिज्ञासा या व्यंग्यवाण तेर्स्याउनु भन्दा हर व्यक्ति र समाजले सम्बन्ध, संवादको सीमा निर्धारण गर्न सके त्यो सबैका लागि लाभदायक बन्नेछ । बस्, मेरो चिन्ता र चासो यतिका लागि मात्रै हो है !