
काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन्।
वंशाणुगत जन्डिस (कमलपित्त) को समस्याले ग्रसित नेता पुनको पुस ३० गते स्वास्थ्यमा फेरि समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको थियो। हाल स्वास्थ्यमा सुधार आएपछि नियमित फलोअपमा बस्ने गरी अस्पतालबाट डिस्चार्ज गरिएको उनको उपचारमा संलग्न चिकित्सक वरिष्ठ पेटरोग विशेषज्ञ प्रा.डा.युवराज शर्माले जानकारी दिए। ‘हाल उहाँको अवस्था स्थिर तर खतरामुक्त छ, हामीले नियमित फलोअपमा बस्ने गरी डिस्चार्ज गरेका छौँ’‚ डा. शर्माले भने।
डा. शर्माका अनुसार पुनलाई कलेजो प्रत्यारोपण गर्न सुझाव दिएको र त्यसअघि उनलाई खानपानमा विशेष ध्यान दिन समेत सुझाव दिएको छ। ‘अब उहाँको अन्तिम विकल्प भनेको प्रत्यारोपण नै हो, त्यसभन्दा अघि उहाँले खानपान र हिँडडुलमा विशेष सावधानी अवनाउनु पर्छ’‚ डा. शर्माले भने।
डा. शर्माले कलेजो प्रत्यारोपण कहाँ र कसरी गर्ने भन्ने सम्बन्धमा बिरामीसँग छलफल गर्ने समेत बताए। चीनमा उपचार गर्नुपूर्व गत वर्ष पनि रोगले च्यापेपछि उनको उपचार थाइल्यान्डमा गरिएको थियो।
कार्यक्रममा सहभागी हुन गृहजिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।