सुरक्षा पोस्ट नजिकै खुला ठाउँमा गैंडा मारियो, निकुञ्जको लापरवाही

८ माघ, चितवन । शुक्रबार दिउँसो नारायणी नदीको भंगालोमा गैंडा मरेको खबर सुन्नेबित्तिकै कावासोतीका विष्णु अधिकारी दौडिदै पुगे ।

घटनास्थलमा उनले ह्दयविदारक दृश्य देखे । गैंडाका आमा र छोरा केही मिटरको दूरीमा मृत अवस्थामा थिए । १४ बर्षको पोथी गैंडाको खाग काटिएको थियो । खाग काटेको ठाउँबाट रगत बगिरहेको थियो । खाग नआइसकेको चार बर्षको केटो गैंडा पनि मारिएको थियो ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-२ नन्दपुर र सेरी गाउँको नजिकै नारायणीको सानो भंगालोको छिपछिपे पानीमा गैंडा मारिएका थिए । घटनाको प्रकृति हेर्दा गैंडा ठाउँको ठाउँ मारेर खाग काटिएको देखिन्थ्यो ।

अधिकारी भन्छन्, ‘मैंले संरक्षणमा लागेको २५ बर्षको अवधिमा यसरी गैंडा मारेको देखेको थिइनँ, करेन्ट लगाए पनि केही पर गएर गैंडा छटपटाएर, खोस्रिएर, घस्रिएर मरेको देखेको थिएँ तर यहाँ त गैंडाले खोस्रिएको वा गाह्रो भएर छटपटाएको कुनै संकेत थिएन, धेरै बेर हेर्न पनि सकिनँ ।’

झण्डै १५÷२० मिटरको जीआई तारमा हाई भोल्टको करेन्ट छाडेर गैंडा मारेको संरक्षणकर्मी अधिकारी बताउँछन् । तर, अचम्मको कुरा के छ भने, घटनास्थल वरपर विद्युतका कुनै पनि पोल र तार छैनन् । तर तस्करहरूले विल्कुलै नयाँ प्रविधि अपनाएर गैंडा मारेको देखिएको अधिकारी बताउँछन् ।

घटनास्थलको झण्डै ३५० मिटर पर नेपाली सेनाको सुरक्षा पोस्ट छ । निकुञ्जको कोर क्षेत्रमा अर्को सहरी पोष्ट छ । निकुञ्जको सुरक्षा नेपाली सेनाको खड्क दलले गर्दै आएको छ । सेनाको पोस्ट नजिकै खुला ठाउँमा गैंडालाई हृदय विदारक ढंगले मार्नुमा निकुञ्ज प्रशासनको उदासिनता प्रमुख कारण रहेको संरक्षणकर्मीहरु बताउँछन् ।

निकुञ्जभित्र गैंडा तस्करहरु सजिलै पसेर गैंडा मार्ने क्रम चलिरहेको यस घटनाले पुष्टि हुने अधिकारी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० मा १० वटा एक सिङ्गे गैँडा मरेका छन् । तीमध्ये सात वटा प्राकृतिक कारणले र तीन वटा गैंडा चोरी शिकारीले मारेका हुन् । निकुञ्ज विभागका उपमहानिर्देशक अजय कार्कीले खुला र सहज ठाउँमा गैंडा मारेर खाग काटेर लैजानुले व्यवस्थापकीय कमजोरी भएको देखिने बताए ।

‘यो कुनै अनकान्टार जंगलमा भएको घटना होइन, यसमा पक्कै पनि केही हाम्रा कमी कमजोरी छन्’ उपमहानिर्देशक कार्कीले भने, ‘सेना र निकुञ्ज प्रशासनका बीचमा केही न केही समन्वयमा कमी भएको हुनसक्छ, त्यस बारेमा बुझ्छौं ।’

निकुञ्जमा सेनाले एसआरपी, एलआरपी, एमआरपी जस्ता विभिन्न नामका गस्तीहरु गर्ने गरेको छ । त्यसको जानकारी निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई हुने र उनले जीपीएस ‘ट्रयाक’ गरेर हेर्ने पनि गर्छन् । तर, पछिल्लो समयमा सेना र निकुञ्जबीच समन्वय नभएको निकुञ्ज स्रोत बताउँछ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य १२ दिन विदा लिएर बेल्जियम भ्रमणमा छन् । आचार्य लामो समय विदामा रहेकै बेला तस्करले गैंडा मारेका छन् । चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत कमलजंग कुँवर कुनै पनि कुराको कमी वा बहाना बनाएर निकुञ्जको सुरक्षामा कमजोरी गर्न नपाइने बताए ।

‘२४ सै घण्टा, ३६५ दिन नै निकुञ्जकर्मी र सैनिकहरू अलर्ट पोजिसनमा हुनुपर्छ, यसमा दायाँबाँया गर्ने छुट हुँदैन’ कुँवर भन्छन्, ‘यो देशको मात्रै नभएर विश्व कै सम्पत्तिको सुरक्षा गर्ने जिम्मेवारी हाम्रो छ भन्ने सोचेर काम गर्नुपर्छ ।’

निकुञ्ज विभागमा उपमहानिर्देशक अजय कार्कीले सोमबार केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिको बैठक बसेर घटनाका बारेमा थप कदम चाल्ने बताउँछन् । निकुञ्जमा गैंडा मार्ने तस्करहरू पुनः सक्रिय हुनु निकै चिन्ताको विषय भएको पूर्व संरक्षण अधिकृत कुँवरको भनाइ छ ।

‘यस्ता घटना बढ्नुका पछाडि धेरै फ्याक्टरहरुले काम गरेको हुन्छ, निकुञ्जको सुरक्षा सक्रियता कत्ति पनि घट्न हुँदैन, गैंडा संरक्षण सामूहिक योजनाबाट सम्भव हुन्छ यो निकै चुनौतीपूर्ण काम हो’ कुँवरले भने, ‘चोरी शिकारीबाट गैंडा मार्ने क्रम फेरि सुरु हुनु पक्कै पनि हाम्रो कमजोरी कै कारण हो ।’

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ३७ गैंडा मरेका थिए । तीमध्ये दुई चोरी शिकारी र बाँकी प्राकृतिक कारणले मरेका हुन् । तर, चालु आर्थिक वर्षमा १० वटा गैंडा मर्दा तीन वटा चोरी शिकारीले मारेका छन् ।

निकुञ्जका एक पूर्व सहायक संरक्षण अधिकृत गैंडा मरेको यकीन तथ्यांक नै नआएको बताउँछन् । ‘निकुञ्जको गस्ती भए पो तथ्यांक आउँछ, गैंडा दलदलमा भासिएर, जुधेर, बुढो भएर मर्न छाडेका त हैनन् होला ?’ उनले भने । गैंडाको अवस्थाको यकीन विवरण बाहिर नआउनु व्यवस्थापकीय कमजोरी भएको उनको भनाइ छ ।

सन् २०२१ को गैंडा गणनाअनुसार नेपालमा ७५२ गैंडा रहेको पाइएको थियो । यीमध्ये ६९४ चितवनमा छन् । सन् २०१५ मा ६०५ र सन् २०११ मा ५०३ गैंडा नेपालमा रहेको तथ्यांक सार्वजनिक गरिएका थिए । प्राकृतिक कारणले गैंडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागले विभिन्न अध्ययन टोली खटाएर अध्ययन गरे पनि संरक्षणमा ठोस प्रगति भएको छैन ।