पति र छोराछोरी सेतीको खोंचमा, एटीसी सरस्वती काठमाडौं टावरमा

८  माघ, काठमाडौं । पति र छोराछोरी निन्द्रामै रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकी एयर ट्राफिक कन्ट्रोल (एटीसी) अफिसर सरस्वती डुम्रे (शर्मा) ललितपुरको इमाडोलस्थित घरबाट ड्युटीका लागि विमानस्थल हिँडिन् । त्यसै दिन उनको परिवार पोखरा जाँदै थियो । निन्द्रा बिथोलेर ‘बाइ’ भन्नुभन्दा सुटुक्क हिँड्न चाहिन् सरस्वतीले ।

१ माघको त्यो दिन परिवारका सदस्यहरु विमानस्थलबाटै पोखरा जानेवाला थिए । तर विहानैदेखि ड्युटीको घन्चमञ्चमा फसेकी सरस्वतीलाई एकछिन फुर्सद निकाल्नै कठिन भयो । एक सहकर्मीका अनुसार उनी ‘राउन्ड म्यानेज’ गरेर परिवार भेट्न यात्रु प्रतीक्षालय जान चाहेकी थिइन् । त्यसै बेला पति युवराज शर्माले फोनमा भने, ‘अहिले नआऊ । तिमी नजाने भएपछि सानो छोरा रुन्छ ।’

सरस्वती टावरमै बसिरहिन् ।

विहान १०:३२ मा यति एयरलाइन्सको ‘९ एन-एएनसी’ विमान पोखरा उड्नेवाला थियो । उनी विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरको ‘हट सिट’मा थिइन् । एक एक घण्टामा भूमिका फेर्दै टावरका विभिन्न काममा संलग्न हुनु एयर ट्राफिक कन्ट्रोलर (एटीसी) हरुको हुनु दिनचर्या हो । संयोग, विमानस्थलको कन्ट्रोल रुममा बसेर परिवार सवार विमानलाई पोखराका लागि उड्न अनुमति दिने पालो उनैको भागमा पर्‍यो । सिट पेटी बाँधेर बसेका सन्तानको सुख हेर्दै उड्न नपाए पनि तीनलाई काठमाडौंबाट ‘शुभयात्रा’ भनेर पठाउनु उनका लागि सम्झनाको एउटा क्षण बन्दै थियो ।

विमान उडेपछि सरस्वती र उनको टिमको कमान्डमै काठमाडौंको एयर ट्राफिक कन्ट्रोलरले विमानको कम्युनिकेसन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिकलाई ‘ह्यान्डओभर’ गरेको थियो । बास छाडेका चराहरुले बरु फर्किने गुँड भेट्टाउलान्, तर यतीको त्यो जहाजले ओर्लिने जमिन भेटाउन पाएन । सबैभन्दा माया गरेका मानिसहरु सरस्वतीको जीवनमा फर्किएनन् ।

उनले तिनलाई कहिल्यै नर्फकनु भनेर ‘ह्यान्डओभर’ गरेकी थिइनन् । रमाई रमाई फर्किनु भन्दै पोखरा एयरपोर्टलाई विमान प्रस्थानको सूचना दिएकी थिइन् ।

अवतरणको अनुमति लिइसकेको अवस्थामा विहान १०ः५० यो विमान पोखराको  सेती खोंचमा झर्‍यो । सरस्वतीले यो दुःखद् विमान दुर्घटनामा उनले आफ्ना श्रीमान मात्रै गुमाउनुपरेन, आफ्ना २ कलिला छोरा-छोरीहरु र सासु आमा समेतको अन्तिम विदाइ गर्नुपर्‍यो । सासु जमुनासँगै सरस्वतीका श्रीमान युवराज, छोरी ११ वर्षीया आयुर्दी शर्मा र साढे २ वषर्ीय छोराको निधन भयो । युवराज अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड) मा अधिकृत थिए । माघे संक्रान्तिका दिन सरस्वतीलाई एटिसीको टावरमा एक्लै छाडेर यो परिवारले आफ्नै जीवनको मसान्त भोग्यो ।

जाने त गइगए । एक्लै बाँच्नेको शोक बयान गरिसाध्य छैन । सरस्वतीमाथि पति, पुत्र र मातृ शोकमा शोकको भूमरी यति बिघ्न छ मडारिएको छ कि देख्ने/सुन्नेको पनि मुटु काँप्छ । उनका सहकर्मीहरुका अनुसार सरस्वतीलाई अझै यो शोक सहन सक्ने शक्ति जुटाउन असाध्य परिरहेको छ ।

यो घटनाले सरस्वतीको जीवनमा ल्याएको अकल्पनीय क्षति सम्झिएर उनकै सहकर्मीहरु पनि भक्कानिन्छन् ।

विमान पोखराको एटीसीसँग जोडिएको केही मिनेटमै पोखरामा काठमाडौंबाट आएको विमान दुर्घटना भएको भन्दै पोखरा उडान रोक्न पोखराको एयर ट्राफिक कन्ट्रोलरले टेलिफोन गरेका थिए । काठमाडौंमा सो दुर्घटनाको सूचना सबैभन्दा पहिले पाउनेममध्ये सरस्वती पनि एक पात्र हुन् पुगिन्, जुन दुर्घटनामा परेको विमानमा उनको सिंगो परिवार नै यात्रारत थियो ।

सरस्वतीले त्यो समयमा कस्तो झड्का ब्यहोरिन् भन्ने अनुमान लगाउन पनि कठिन हुने उनका सहकर्मीहहरु बताउँछन् । शोक विह्वल उनलाई सम्हाल्नै कठीन भएको थियो । ‘दुर्घटना आफैंमा तनाबपूर्ण अवस्था हो, झन् काम गरिरहेकै एयर ट्राफिक अफिसरकै परिवार नै चढेको विमान दुर्घटना हुँदा त्यहाँ शून्यता बाहेक केही रहेन,’ उनका एक सहकर्मी भक्कानिंदै भन्छन्,’स्तब्ध त हामी यसै भयौं नै, त्यतिबेला हामी त्यो भन्दा धेरै बढी अरु केही भयौं ।’

बढुवाको लिखित प्रतिस्पर्धामा नाम निस्किएपछि अन्तरर्वार्ताको तिथि तोकिएको नहुँदो हो त सरस्वती पनि सोही विमानमा हुने थिइन् । ८औं तहमा एयर ट्राफिक अफिसर (उपप्रबन्धक) रहेकी उनी ९औं तह (प्रबन्धक) हुन चाहान्थिन् । तीन दिनपछि उनको ९औं हतको अन्तरर्वार्ता हुनेवाला थियो । त्यसैकारण उनी १ माघमा उनी परिवारसँग पोखरा जान पाइनन् ।

विमानस्थलकी कर्मचारी भएकाले उनले नै परिवारलाई पोखरामा पठाउने सबै बन्दोबस्ती मिलाएकी थिइन् । यो मुटु चुँडिने गरी भएको यो घटनाले सरस्वती मात्रै हैन, शर्मा परिवार र पर्वतको विहादी गाउँपालिका स्तब्ध छ ।

४ माघमा नै पर्वतको विहादी गाउँपालिका- ५मा रहेको सासु जमुना शर्माको माइतीघरमा उनका बाबुआमाको चौरासी पूजा राखिएको थियो । पूजामा सहभागी हुँदै आफ्नो गाउँघर र पोखराका विभिन्न ठाउँ घुम्ने योजना पनि थियो ।

‘सरस्वती म्याडम पनि जाने कुरा थियो, तर अन्तरवार्ताका कारण उहाँ जान पाउनु भएन,’ विमानस्थलका एक अधिकारीले भने,’तर, आफैं टावरमा बसेर उडानका लागि क्लेयरेन्स दिएको विमान अवतरणको क्रममा दुर्घटना हुँदा उहाँको परिवार गुम्यो ।’

निन्द्रा बिथोलेर ‘बाइ’ भन्न सकिनन्, तर हत्केलामा बसेको चरालाई भुर्र उड्न दिएझैं गरी एटिसी टावरमा बसेर निर्देशन दिएकी थिइन् सरस्वतीले । आफ्ना सबै मनप्रियहरु बोकेर रन-वेबाट छुटेको जहाज उनको जीवनमा कहिल्यै नफर्किने गरी यसरी ‘टेक अफ’ गर्‍यो ।

र, सधैंको लागि हरायो ।