नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्य बनाउन सकिन्छ : डा. रुइत

काठमाडौं : नेपालले गर्व गर्ने व्यक्तित्व हुन् डा. सन्दुक रुइत। ​मोतिबिन्दुका कारण आँखाको ज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखाको ज्योति फर्काइरहेका उनले विश्वका अन्य मुलुकमा पनि गएर सेवा गरेका छन्। विश्व समुदायमा नेपालको नाम चिनाउन त्यो पनि चिकित्सा प्रविधिमा उनले गरेको योगदानको मुक्त कण्ठले जति प्रशंसा गरे पनि थोरै हुन्छ।

मोतिबिन्दु उपचार गर्ने सरल विधि (इन्ट्राअकुलर लेन्स) को विकास गरेर अन्धोपन हटाउन उनले गरेको योगदानको कदर गर्दै हालै उनलाई अन्तरराष्ट्रिय पुरस्कार प्रदान गरिएको छ।

बहराइनका शेख हमद बिन इसा अल-खलिफाले सन् २००९ मा पूर्व सेख इसा बिन सलमान अल-खलिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टू ह्युमानिटी’ संस्थाले उनलाई ‘इसा अवार्ड’बाट सम्मानित गरेको छ। पुरस्कारको राशि १० लाख अमेरिकी डलर रहेको छ।

आफू पुरस्कृत भएको समाचार पाउँदा उनी उपचार गरिरहेका थिए। शुरुमा उनको मोबाइलमा एसएमएस आयो। त्यसपछि पुरस्कारबारे फोनबाट जानकारी दिइयो। अवार्डले आफूले ३५ वर्ष गरेको कामको कदर भएको अनुभूति भएको उनले बताए।

पुरस्कारले संसारको मानचित्रमा नेपालीले राम्रो काम गर्दा रहेछन् भन्ने देखाएको उनको भनाइ छ। आफ्नो क्षेत्रबाट नेपालीको आत्मसम्मान, प्रतिष्ठा बढाउन पाएकोमा उनी आफ्नो जीवन सार्थक ठान्छन्। 

उनले शुरुमा पुरस्कार पाउने समाचार सुन्दा आफूलाई विश्वासै नलागेको बताए। उक्त अवार्डका लागि १ सय ४५ व्यक्ति तथा संस्थाले मनोनयन दर्ता गराएका थिए। पुरस्कारका लागि उनले कुनै पनि मनोनयन दर्ता गराएका थिएन।

जुरी कमिटी (निर्णायक)ले नै उनले आँखा उपचारमा पुर्‍याएको योगदानलाई महत्व दिँदै छनोट चरणमा ६ जना व्यक्ति तथा संस्थालाई पुरस्कारको अन्तिम सूचीमा राखेपछि मात्रै उनलाई जानकारी दिइएको थियो।

प्रस्तुत छ उनीसँग राससले गरेको कुराकानीको अंश:

तपाईंले हालै अन्तरराष्ट्रिय स्तरको पुरस्कार पाउनुभएको छ, कस्तो महसुस गर्नुभएको छ?

– मलाई यो अवार्ड पाएको खबर पहिलोल्ट सुन्दा विश्वास पनि लागेन। पुरस्कारका लागि मैले नाम दर्ता गरेको पनि थिइनँ। पछि निर्णायक टोलीले नै नाम राखेछ।

नेपालमा बसेर काम गरिरहेको मान्छेले यत्रो ठूलो अन्तरराष्ट्रिय पुरस्कार पाउनु मेरा लागि भन्दा पनि देशकै गौरवको कुरा हो। पुरस्कारले मेरो जीवनभरिको लामो तपस्याको (३५ वर्ष) गरेको कामको संसारमा कुनै संस्थाले सम्झेकामा गौरवको अनुभव भएको छ। 

पुरस्कारको प्राप्तिको श्रेय कसलाई दिनुहुन्छ?

– तिलगङ्गा आँखा अस्पतालका मेरा सहकर्लामीई यसको पहिलो श्रेय दिन्छु। त्यसपछि मेरो परिवार र यतिका वर्षदेखि मलाई विश्वास गरेका बिरामीहरूलाई श्रेय दिन चाहन्छु। केही मात्रामा मेरा अन्तरराष्ट्रिय साथीहरूलाई यसको श्रेय जान्छ। 

आफ्नो कुन कामका लागि यो पुरस्कार दिइएको हो भन्ने लाग्छ?

– मलाई के लाग्छ भने अन्धोपन निवारणमा मैले खेलेको भूमिकाको कारणले पुरस्कार प्रदान गरिएको हो। नेपालजस्तो ठाउँबाट सङ्घर्ष गरेर आँखाको इन्ट्राअकुलर लेन्सको प्रणालीको विकास गरेबापत प्रदान गरिएको हो। अन्धोपन निवारण गर्न नेपालबाहिर अरू देशमा पनि हामीले सीपको विकास गरेका छौँ।

यो पुरस्कार अन्तरराष्ट्रिय योगदान नगरी दिइँदैन। पुरस्कारमा नै अन्तरराष्ट्रिय रुपमा प्रभाव पारेको हुनुपर्छ भन्ने लेखिएको थियो। पछाडि परेका समुदायमा पनि पहुँच, सर्वसुलभ तरिकाले पुगोस् भन्ने हिसाबले पनि हेर्ने गरिन्छ। यी विभिन्न मापदण्ड पूरा भएका कारण नै मलाई पुरस्कृत गरिएको हो जस्तो लाग्छ।

अन्धोपन हटाउन तपाईंले कस्तो खालको लेन्स बनाउनु भएको थियो?

– हामीले आधुनिक मोतियाबिन्दुको शल्यक्रियालाई सरलीकरण गर्‍यौँ। मोतिबिन्दुको शल्यक्रियालाई सरलीकरण गरेर देशबाहिर कैयौं देशमा हामीले पुर्‍याएका छौँ। त्यस्तै हामीले ‘इन्ट्राअकुलर लेन्स’ को विकास पनि गरेका छौँ।

तिलगङ्गामा आँखामा हाल्ने लेन्स अन्तरराष्ट्रियस्तरको ‘इन्ट्राअकुलर लेन्स’ हो। त्यो लेन्स शुरु गर्दा सन् १९९० को शुरुमा अमेरिकालगायत विदेशबाट बनेर आउने गर्थ्यो। यसको मूल्य एक युनिटकै २ सय डलरजति पर्ने गर्थ्यो। त्यसैले यो सर्वसाधारणको पहुँचमा थिएन।

हामीले यहाँ ६/७ वर्षमा धेरै मिहिनेत गरेर उत्पादन गर्न थाल्यौँ। त्यो लेन्सको दामलाई हामीले ५ डलरभन्दा कममा झार्न सक्यौँ। त्यो झार्नेबित्तिकै धेरै आँखाका बिरामीले सेवा पाएका छन्। लेन्स एकदमै विशेष खालको प्लास्टिकको सामग्री हो।

यो आँखामा राखिसकेपछि (इमप्लान्ट गरेपछि) मोतियाबिन्दुको शल्यक्रियापछि मोटो चस्मा लगाउनु पर्दैन। यसले आँखाको नजरलाई मोतियाबिन्दुको शल्यक्रियापछि राम्रो देख्न मद्दत गर्छ। यसरी हामीले तिलगङ्गामा नै लेन्स उत्पादन गर्छौं। बाहिर पनि उत्पादन हुन्छ। 

तपाईंले अन्धोपन हटाउन चलाउनु भएको अभियान कहाँ पुग्यो?

– हो‚ हामीले विश्वमा नै अन्धोपनबाट हटाउनका लागि अभियान नै सञ्चालन गरेका छौँ। आज अफ्रिका, एशियाका विकासोन्मुख देशमा नेपालमा विकास गरेको मोतिबिन्दु शल्यक्रियाको प्रणाली निकै प्रयोगमा आएको छ। हामीले त्यहाँका चिकित्सकलाई पनि तालिम गराएका छौँ।

विश्वमा नै अन्धोपनबाट हटाउने अभियानअन्तर्गत वर्षमा ७० हजारदेखि १ लाख मानिसलाई आँखा देख्नसक्ने बनाएका छौँ। हामीले घाना, इथोपियालगायत देशमा अभियान सञ्चालन गरिसकेको छौँ भने इन्डोनेशिया र लाओसमा गर्ने तयारीमा छौँ।

ती देशमा हामीले अन्धोपन हटाउन विकास गरेको प्रणालीका बारेमा अवगत गराएका छौँ। नेपालमा पनि ग्रामीण भेगमा गएर अन्धोपन निवारणका लागि विभिन्न शिविर सञ्चालन गरिएका छन्।

नेपालमा अन्धोपनको समस्या खासगरी कुन क्षेत्रमा धेरै पाउनु भएको छ?

– खासगरी ग्रामीण र विपन्न समुदायमा अन्धोपनको समस्या बढी छ। अज्ञानता र गरिबीले गर्दा आँखाको ज्योति फर्काउन सकिन्छ भन्ने थाहा नपाउने धेरै मानिस छन्।

त्यसमा पनि विशेषगरी कर्णाली प्रदेशमा यो समस्या अझ धेरै रहेको छ। त्यसैले हामीले सुर्खेत आँखा अस्पतालसँग मिलेर कर्णालीका विभिन्न ठाउँमा शिविर सञ्चालन गरेर वर्षौंदेखि मोतिबिन्दुका कारण अन्धोपनमा रहेका धेरैलाई पुनः देख्नसक्ने बनाएका छौँ। 

नेपालबाट अन्धोपन हटाउनका लागि तपाईंको अभियान सफल बनाउन राज्यले के गरिदियोस् भन्ने लाग्छ?

– देशबाटै अन्धोपन निवारण गर्ने कुरा एउटा व्यक्ति वा संस्थाको प्रयासबाट मात्रै सम्भव नहुने हुँदा यसमा सरकारको सहयोग आवश्यक हुन्छ। हामीसँग ज्ञान र प्रविधि भएकाले सरकारसँग हातेमालो गरेर अगाडि बढ्न तयार छौँ।

हामीले यहाँ बनाएको लेन्स नेपालमा प्रयोग गर्नका लागि सहज वातावरण बनाइदिन सरकारसँग हाम्रो आग्रह हो। प्रमाणीकरण नगरीकन बाहिरका लेन्स गैरकानुनी तरिकाले यहाँ आइरहेका छन्। त्यसले एकातिर विदेशी मुद्रा बाहिर गएको छ भने अर्कोतिर गुणस्तरहीन सामग्री आँखाजस्तो संवेदनशील अङ्गमा जथाभावी प्रयोग हुनु गम्भीर कुरा पनि हो। 

अझै पनि विपन्न र पछाडि परेका समुदायका मानिसमा अन्धोपनको समस्या धेरै छ। उनीहरूलाई आँखा देख्न सक्षम बनाउनु चुनौतीपूर्ण छ। सरकारले लेन्सको उत्पादन बढाउनका लागि अलिकति आर्थिक सहयोग (फन्ड) गरेमा ती विपन्न वर्गका मानिसलाई सेवा दिन सकिन्थ्यो।

लेन्सलाई देशको नमुना बनाएर नै हामी उत्पादन गर्छौं। लेन्सका लागि कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने हुन्छ। लेन्स हामी ठूलो परिमाणमा नै उत्पादन गर्न सक्छौँ। अहिले वर्षको लगभग ३ लाख उत्पादन गरिरहेका छौँ भने सरकारको सहयोग पाएमा १५ लाखसम्म उत्पादन गर्न सकिन्छ। यसको उपयोग नेपालमा मात्र नभएर बाहिर पनि पठाउन सक्छौँ। त्यसो भएमा लेन्स निर्यात गर्न सकिन्छ। 

आँखा उपचारको क्षेत्रमा नेपाल विश्वको कतिऔँ स्थानमा रहेको छ?

– अहिले नै त्यो भन्न गाह्रो हुन्छ। नेपालमा आँखाको उपचार पहिलेभन्दा धेरै नै विकसित भएको छ‚ तैपनि अझै ठूलो सङ्ख्यामा मानिसहरू मोतिबिन्दुलगायत आँँखाका सामान्य रोगबाट पनि अन्धकारमय जीवन बिताउन विवश छन्।

आँखा उपचार सेवा ग्रामीण क्षेत्रसम्म विस्तार गर्न सकेका छैनौँ। हामीकहाँ आँखाको उपचार सेवा सरल र सुलभ छ‚ अनि गुणस्तर पनि राम्रो छ। गुणस्तर राम्रो भएकाले नै विश्वका विभिन्न देशबाट नेपालमा आँखा उपचारका लागि आउने गर्छन्। नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्य स्थल बनाउन सकिन्छ भन्ने मेरो आत्मविश्वास छ।