कस्तो हुन्छ हाम्रो पेट ?

पेट राम्रो हुनु र नहुनुले सम्पूर्ण शरीरको अवस्था निर्धारण गर्छ । पेट सफा भएमा पाचन प्रक्रिया सहज हुन्छ । शरीरमा पोषक तत्व भरिपूर्ण हुन्छ । शारीरिक मानसिक रुपमा मान्छे तन्दुरुस्त हुन्छ । तर पेट खराब भएमा ?

मान्छे रोगी हुन्छन्, कुपोषित हुन्छन् । यसले मान्छेलाई शारीरिक र मानसिक रुपमा कमजोर बनाउँछ ।

पेटको संरचना र यसको कार्य:

पेट समग्र अंग्रेजी वर्णमालाको ‘जे’ आकारको अंग हो, जसलाई आमाशय भनेर बुझ्ने गर्छौं । पेट शब्द चलनचल्तीमा आएको शब्द हो । यसको बनावट तरकारी खाने बोडी जस्तै हुन्छ, जुन खानानली पछाडि रहेको हुन्छ । आमाशयपछि सानो आन्द्रा र त्यसपछि ठूलो आन्द्रा अवस्थित हुन्छ । पेटको आकार व्यक्तिपिच्छे फरक हुन्छ । पेट भरिएको बेला फैलिन्छ र खाली हुँदा खुम्चिन्छ । कति खानुभयो भन्ने आधारमा पेटको आकार फरक हुन सक्छ ।

आमाशयको मुख्य काम खाना पचाउने प्रक्रियामा लग्नु हो । पेटले खानेकुरालाई अस्थायी रूपमा भण्डार गर्छ । यसले इन्जाइमहरु र पाचन रस उत्पादन गर्छ । इन्जाइम र पाचन रसको यो मिश्रणले खानालाई मसिनो बनाएर सानो आन्द्रा त्यसपछि ठूलो आन्द्रा हुँदै अनावश्यक वस्तुहरु मलद्वारबाट बाहिर पठाउँछ ।

खानेकुरा पेटमा पुगेपछि के हुन्छ ?

पेटबाट नै पाचन पक्रियाको काम सुरु हुन्छ । मुखबाट चपाएको खानेकुरा निल्दै जिब्रोले खाना घाँटीतर्फ धकेलिन्छ । खानानलीको माध्यमबाट खाना पेटमा पुग्छ तब पेटले पाचन रस र इन्जाइमहरु उत्पादन गर्छन् ।

सानो आन्द्रामा खाली गर्न तयार नभएसम्म खाना रोकेर पनि राख्ने गर्छ । तयार भएपछि सानो आन्द्रामा खाना पुग्छ । त्यसको भित्ताले पोषकतत्व र तरल पदार्थ ग्रहण गर्छ । र, आवश्यक नभएको खानेकुरा ठूलो आन्द्रामा पठाउने गर्छ ।

ठूलो आन्द्राबाट आवश्यक नभएको तत्व दिसाको रुपमा मलाशयतर्फ धकेलिन्छ । मलाशय ठूलो आन्द्राको ठ्याक्कै तल्लो भागमा हुन्छ । यसबाट नै दिसा भण्डारण गर्छ र बाहिर पठाउने गर्छ ।

पेटमा जीवाणुहरु हुन्छन् ?

पेटमा दुई किसिमका जीवाणु हुन्छन् । राम्रो जीवाणु र नराम्रो जीवाणु । राम्रो जीवाणु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ, जुन ठूलो आन्द्राभित्र बसेको हुन्छ । ती जीवाणुहरुको मद्दतले खानेकुरा पच्न मद्दत गर्छ । त्यसमा शरीर बाहिरबाट आएको नयाँ जीवाणु पेटमा प्रवेश गरेपछि मात्र रोगहरु निम्तिन्छ । त्यसलाई नराम्रो जीवाणु भनिन्छ ।

पेटमा कस्तो खानेकुरा राम्ररी पच्छ ?

खानेकुरा आफैंमा खराब हुँदैन । व्यक्तिको शरीर अनुसारको माग हुन्छ । जसको तालमेल नमिल्दा वा भनौं सन्तुलित नहुँदा खानेकुरा शरीरले पचाउन सक्दैन । र, रोगहरु निम्तन सक्छ । फाइबरयुक्त खानेकुरा, दही जस्तो प्रोबायोटिक पाचनक्रियाका लागि सुपाच्य मानिन्छ । दहीमा हुने जीवाणुले पाचनतन्त्रलाई स्वस्थ राख्छ ।

त्यस्तै, गहुँजन्य खानेकुरा बढी खाँदा पच्न नसक्ने हुन्छ । त्यसबाहेक प्रोटिन र दूधजन्य पदार्थहरु अत्यधिक खाँदा नपच्न सक्छ । तर यी तत्व पनि शरीरलाई आवश्यक परेको हुँदा सीमित मात्रामा भने खान सकिन्छ ।

एसिडिटी कसरी हुन्छ ?

मुखमा एसिड आउँदा त्यसको स्वाद अनुभव हुन्छ । त्यसैगरी पेटमा पनि अम्लीयपन हुन्छ जुन बढ्दा मुखमा अमिलो पानी आएको अनुभव हुन्छ । मोटोपन, धुम्रपान गर्ने, अस्वस्थ र  अनियमित खानपानले एसिडिटी निम्त्याउँछ ।

अपच हुने गरी खानेकुरा एकैसाथ खाँदा, अमिलो, पिरो, तारेको, पोलेको खानेकुरा र दूधको चिया, कफी र वासी खानेकुरा पनि अम्लीयपन बढ्नुको कारण हुन सक्छन् ।

पेटलाई सफा राख्ने उपाय:

– पर्याप्त मात्रामा पानी पिउने

– सन्तुलित भोजन गर्ने

– खानेकुरा राम्रोसँग चपाएर खाने

– खाली पेट धेरै समयसम्म नबस्ने

– नियमित व्यायाम गर्ने

– प्रशोधित खानाहरूको सेवन सीमित गर्ने

– मदिरापान र धुम्रपानको प्रयोग बन्द गर्ने

(डा. कश्यपले भारतको मणिपाल विश्वविद्यालयबाट मेडिसिनमा एमडी र एम्सबाट ग्याष्ट्रोइन्ट्रोलोजीमा फेलोसिप गरेका छन् । उनीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)