नवलपुरको निषेधाज्ञामा केही खुकुलो, खाद्यन्नको पसल खोल्न अनुमति

नवलपुर, वैशाख २७ ।
नवलपुरमा गत वैशाख २१ गते राति १२ बजेदेखि जारी निषेधाज्ञालाई थप खुकुलो बनाइएको छ । जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण तीव्र हुँदै जाँदा अत्यावश्यक पसल र व्यवसाय मात्रै संचालन गर्न यस अघि अनुमति दिइएको थियो । तर आज एक सूचना जारी गरेर जारी निषेधाज्ञा केही खुकुलो पारिएको छ ।
अवबाट प्रत्येक दिनको दुई घण्टा खाद्यन्नको पसल खोल्न अनुमति दिइएको छ । सूचनामा भनिए अनुसार विहान सात बजेदेखि विहान ९ बजेसम्म पसल खोल्न अनुमति दिइएको हो ।
 
यस अघि जारी आदेशमा ढुवानी साधनबाट ल्याइएका खाद्यन्न सामाग्रीहरु स्टोर गर्नलाई मात्रै अनुमति दिइएको थियो । पसल भने बन्दैनै गर्न आदेश जारी थियो । तर तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, औषधि र औषधि पसल व्यवसाय भने संचालनको अनुमति दिइएको थियो । अव भोलिबाट खाद्यन्नको पसल पनि संचालन गर्न पाइने भएको हो ।
 
गैँडाकोटमा आज मात्रै ७३ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै गैँडाकोटमा जिल्लाका आठ स्थानयि तह मध्य सर्वाधिक ३९२ जना संक्रमित पुगेका छन् ।
हालसम्म ६२ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । त्यस्तै नगरपालिकाले पितौजीमा तयार पारेको आइसोलेसनमा आज १२ जना संक्रमित उपचाररत रहनुभएको छ । अस्पतालका सूचना अधिकारी माधव आचार्यका अनुसार यस अघि ८ जना रहेकोमा आज थप ४ जना विरामी थपिएका हुन् । जसमध्ये चौविसै घण्टा अक्सिजन लगाउनुपर्नेमा ३ जना वाहेक अन्यलाई समय अन्तरमा अक्सिजन दिइरहनु परेको आचार्यले बताउनुभयो । आज थप हुनेमा एक जना स्वास्थ्यकर्मी समेत रहनुभएको छ ।
 
नवलपुर जिल्लाभर आज मात्रै १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका धनी सिँहले दिएको जानकारी अनुसार आज थपिनेमा गैँडाकोटका ७३ जना, देवचुलीका ५, कावासोतीका २९,मध्यविन्दुका १३, विनयी त्रिवेणीका ११, हुप्सेकोटका १ जनामा संक्रमण पुष्टि भएको हो । अन्य जिल्लाका ५ जनामा संक्रमण पुष्टि भएको छ । आथ थपिएका सहित जिल्लामा कोरोनाका संक्रिय संक्रमितको सख्या ८७६ पुगेको छ । जिल्लामा वैशाख १ देखि यतामात्रै १४ जनाको मृत्यु भएको छ भने १४९ जना निको भएका छन् ।