नारायणगढ- मुग्लिन खण्डको विकल्प शक्तिखोर-फिस्लिङ तयार

नारायणगढ- मुग्लिन सडकमा कहिले मर्मत त कहिले पुल निर्माणका लागि सवारी आवागमनको समय निर्धारित छ। कतिबेला गाडीले चल्न पाउने, कतिबेला नपाउने भन्ने थाहा नहुने हो भने धेरैबेर पर्खनुपर्ने पालोमा परिन्छ। अब उक्त खण्डको विकल्पका रुपमा हेरिएको शक्तिखोर-फिस्लिङ सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत निर्माणाधीन उक्त खण्ड अब आवागमनका लागि छिटै औपचारिकरूपमा खुला हुने आयोजनाका इन्जिनियर सुरेन्द्र घिमिरेले बताए।

‘सानो गाडीहरु लिएर यो सडक हुँदै यात्रा गर्न कुनै कठिनाइ छैन,’ उनले भने, ‘यो सडकमा केही काम बाँकी भएकाले तत्काल हेभी गाडी चलाउन हुँदैन। साना तथा मझौला गाडीहरु राम्रोसँग चलाउन सकिन्छ। यो खण्ड सजिलो छ।’ 

अहिले नारायणगढ-मुग्लिन सडक खण्डमा पुल निर्माणको लागि फागुन मसान्तसम्म दैनिक ४ घण्टा आवागमन बन्द छ। यो समयमा शक्तिखोर-फिस्लिङ सडक प्रयोग गर्न सकिने घिमिरे बताउँछन्।

‘यो सडक हुदै पृथ्वी राजमार्गको कुरिनटार निस्किन लगभग ३ घन्टाको समय लाग्छ, ‘ उनले भने, ‘नारायणगढ-मुग्लिनमा सडक बन्द भएपछि यो सडक प्रयोग गर्ने बढेका छन्। ठुला सवारीका लागि भने यो सडक प्रयोग गर्न सकिदैन।’

यो खण्डले चितवनको शक्तिखोरदेखि कुरिनटारनजिक फिस्लिङ बजारसम्मको सडक सञ्जाललाई जोडेको छ। यसले गर्दा नारायणगढ-मुग्लिन हुँदै आउने साना तथा मझौला सवारीसाधनहरु अब यो रुट प्रयोग गरी काठमाडौं उपत्यका आउन सक्ने गरी सबै कालोपत्रे गरिएको घिमिरेले बताए।

‘हालसम्म यो सडकको लगभग ३० किलोमिटर सडक कालोपत्रे गर्ने काम सकिएको छ। अब कालोपत्रे गर्न बाँकी २ किलोमिटर मात्र छ,’ उनले भने, ‘एक्सेस सडकहरु, पहिरो आउने स्थान र कल्भर्ट बनाइएका ठाउँमा मात्र कलोपत्रे गर्न बाँकी छ। यसले गाडी चलाउन कुनै पनि बाधा पुग्दैन।’

यो सडकमा लाइनिङ, जेब्रा क्रसिङ, फुटेको नालीहरु मर्मत गर्ने काम मात्र गर्न बाँकी रहेको उनले बताए। साथै यसमा दुईवटा पुल निर्माण पनि भइरहेका छन्। यो पुल वर्षाको लागि मात्र प्रयोगमा आउने भएकाले अहिले गाडी चलाउन ती पुल आवश्यक नपर्ने घिमिरे बताउँछन्।

मुख्य पुल निर्माण गर्नुपर्ने रिद्धि खोलामा ठेक्का लाग्न बाँकी छ। उक्त पुल निर्माणका लागि पूर्व तयारीका कामहरु भइरहेका छन्। ‘अहिलेको निर्माण व्यवसायीले यो पुलको काम नगर्ने भएकाले पनि यसको नयाँ ठेक्का व्यवस्थापन गर्न बाँकी रहेको हो,’ उनले भने, ‘अन्य दुई वटा पुल भने निर्माणको चरणमा छन्।’

वर्षाको समयमा यो सडक संचालन गर्ने लक्ष्य अनुसार पुल छिटै निर्माण हुनु जरुरी रहेको उनको भनाइ छ। वर्षामा भने यो सडक हुँदै यात्रा गर्न कठिनाइ हुन सक्छ। यसका लागि पुल निर्माण पनि तीव्र रुपमा अगाडि बढाउनु पर्ने घिमिरे बताउँछन्।

उनका अनुसार यो सडक संचालनमा आएसँगै नारायणगढ-मुग्लिनमा हुने ट्राफिक जाम भने केही हदसम्म सहज हुनेछ।

घन्टौं जाम बस्नु पर्ने नारायणगढ- मुग्लिन सडक शक्तिखोरदेखि कुरिनटारनजिक फिस्लिङ बजारसम्मको सडक राम्रो विकल्पको रुपमा स्थापित हुने घिमिरेको भनाइ छ। यो वर्ष वर्षामा धेरै पानी परेका बेला गेग्रानसहितको लेदोले सडक बन्द गरेपछि दुई दिनसम्म मानिसहरु सडकमै रात बिताउन बाध्य भएका थिए। त्यस्तो समयमा पनि यो सडक राम्रो विकल्प हुने घिमिरेले बताउँछन्।   

चेपाङको जीवन र कृषिलाई बजारसँग जोड्दै

यो सडक पूर्ण रुपमा संचालनमा आएपछि यहाका स्थानीयको जीवन र कृषिको उत्पादनलाई बजारसँग सहजै जोड्ने घिमिरे बताउँछन्। घिमिरेका अनुसार यो सडक खण्डमा पर्ने १० किलोमिटर सडक क्षेत्रमा कृषिका उत्पादनहरु हुने गरेका छन्।

‘यो बाँसपुर भन्ने क्षेत्रमा खेतीपाती, काक्रो, सुन्तला, आलुलगायतका उत्पादनहरु धेरै हुने गरेको छ,’ उनले भने, ‘यसलाई बजारसम्म लाग्नको लागि यसभन्दा अघि एकदम कठिन अवस्था थियो। तर अब भने त्यस्तो कठिनाइ हुने छैन।’

त्यहाँका चेपाङ बस्तीको कमाइ खाने माध्यम नै कृषि पेषा रहेको छ। यो क्षेत्रमा बेमौसमी तरकारीहरुको राम्रो उत्पादन हुने गरेको छ।

यसले उक्त क्षेत्रमा रहेका चेपाङहरुको जीवन स्तरलाई आर्थिक रुपमा पनि सुधार्ने अपेक्षा गरिएको घिमिरे बताउँछन्। यस्तै ती मानसहरुलाई बजारसम्म पुग्नको लागि पनि राम्रो पहुँच मार्ग हुनेछ।

‘अहिले त्यहाँका बासिन्दा फिस्लिङ बजारसम्म आफ्ना उत्पादनहरु ल्याएर बिक्री गर्ने गरेका छन्,’ उनले भने, ‘बजारलगायत उनीहरुको बस्ती हुँदै जाने सडकमा पनि चहलपहल हुने गरेको छ। म अहिले प्राय यही सडक हुँदै चितवन जाने गरेको छु। पहिलेको भन्दा धेरै फरक भएको छ।’

यस्तै उनका अनुसार यो सडक संचालनमा आएसँगै गाडीमा सजिलै सहजै उपरदाङगढी पुग्न सकिन्छ। यसले गढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग पुर्‍याउने घिमिरे बताउँछन्।

एसियाली विकास बैंकको अनुदान ८० प्रतिशत र सरकारको २० प्रतिशत लगानीमा २०७५ साल बाट निर्माण थालिएको सडकको काम ४ वर्षपछि सम्पन्न भएको घिमिरेको भनाइ छ। यो अवधिमा २ महिनादेखि ६ महिनाको म्याद थप गर्दा ५ पटकसम्म म्याद थपिएको थियो। घिमिरेका अनुसार कोरोनाला गर्दा पनि दुई वर्ष काम सम्पन्न गर्न ढिला भएको हो।

यो सडकले फिस्लिङ-तोलाङ-बाँसपुर-ओर्लाङ-मायाटार-तेर्से-उपरदाङगढी-शक्तिखोर जोड्छ। केही वर्ष पहिले आरआरएनले १२ करोड खर्चेर यो सडकको ट्रयाक खोलेको थियो। शक्तिखोरदेखि फिस्लिङसम्मको दूरी ४५ किलोमिटर छ। तर, साढे ९ किलोमिटर सडकमा भने काम गरिएको छैन।

यो सडक निर्माणको जिम्मा साञ्जी एण्ड आशिष जेभीले पाएको थियो। कम्पनीले ७८ करोड ९६ लाख १७ हजार ३ सय ३६ रुपैयाँमा ठेक्का पाएको थियो। तर कामहरु थपघट हुँदा यसको ललगानी लगभग ८७ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको घिमिरे बताउँछन्।  

यो सडक ७.२५ मिटर चौडा पारिएको छ। शक्तिखोर-उपरदाङगढी, उपरदाङगढी-तेर्से र तेर्से-तोलाङसम्म तीन खण्डमा विभाजन गरी निर्माणको काम गरिएको थियो।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 28 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 21 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *