
१९ फागुन, चितवन । राजधानी काठमाडौं छिर्ने र बाहिरिने मुख्य नाकाका रुपमा रहेको मुग्लिन नागढुंगा सडकखण्ड विस्तारको काम सुरु भएको छ ।
९५ किलोमिटर सडकखण्डलाई तीन वटा प्याकेज बनाएर विस्तारको काम अगाडि बढेको छ । नागढुंगा सुरूङ्ग मार्गदेखि नौबिसेसम्मको १२ किलोमिटर सडकलाई पहिलो खण्ड बनाएर विस्तारको
नागढुंगादेखि मुग्लिनसम्मको सडकलाई बजार क्षेत्रमा ४ लेन, अन्य ठाउँमा ३ लेन र कठिन भूगोल र पहिरोको उच्च जोखिम भएका ठाउँमा डेडिकेडेट २ लेन बनाउने गरी निर्माण थालिएको हो ।
ठेकेदार कम्पनीले भित्ता काट्ने, रिटेनिङ्गवालहरु लगाउने जस्ता कामहरु भर्खरै सुरु गरेको छ । यो खण्डमा पर्ने पुलहरु मध्ये ३ वटा पुलको काम सुरु भएको आयोजना प्रमुख रिजालले बताए ।
यस्तै मलेखुदेखि मुग्लिनसम्मको सडक विस्तारको काम भने सर्भे कै चरणमा छ । ४० किलोमिटर लामो यो खण्डको निर्माणको जिम्मा शर्मा जेडआईसीजीले पाएको छ । गत पुस १५ गतेबाट फिल्डमा काम सुरु गरेको यो कम्पनीले ५ किलोमिटर सर्भे पास गरेर निर्माणको पूर्व तयारी गरेको आयोजनाका प्रमुख किरण कार्कीले जनाए ।
भ्याटसहित ४ अर्ब ८० करोडको लागतमा सडक विस्तारको काम ३ वर्ष भित्र सक्ने गरी ठेक्का सम्झौता भएको छ । यो खण्डमा ६ बटा नयाँ पुलहरु बनाउनुपर्ने छ भने २ वटा पुल मर्मत गरिने आयोजना प्रमुख कार्कीले जानकारी दिए । उनका अनुसार अहिले सडकका खाल्डाखुल्डी पुर्ने, सम्याउने लगायतका काम भैरहेका छन् । यो खण्डको १९/२० किलोमिटर धादिङ्ग खण्डमा र बाँकी चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने भएकोले दुबै जिल्ला र स्थानीय पालिकाहरुसँग समन्वय गर्नुपर्ने अवस्था रहेको प्रमुख कार्कीले बताए ।
यो खण्डमा बन्ने २१ वटा नयाँ पुलहरु सबै चार लेनका हुनेछन् । ९५ किलोमिटर लामो मुग्लिन नागढुंगा सडकखण्डमा १२० भन्दा धेरै घर टहरा भत्काउनुपर्ने छ । त्यसको मुअब्जाको रकम ठेक्का भित्र समेटिएको छैन, तर खानेपानी, विद्युत र वनको भने ठेक्का रकम भित्र नै समेटिएको छ ।
सडक विस्तारका क्रममा भत्किने घर टहराका लागि स्थानीय पालिकाहरुसँग समन्वय भैरहेको र चालु आर्थिक वर्षमा भत्काउन सुरु गर्ने लक्ष्य रहेको मुग्लिन मलेखु सडक आयोजनाका प्रमुख कार्कीले बताए ।
घर टहराका लागि १२ करोड जति मुअब्जामा खर्च हुनेमा चालु आर्थिक वर्षमा जम्मा ३ करोड रुपैयाँ मात्र छुट्टाइएको छ । रुख कटानको स्वीकृत लिन ढिलाइ भएको र पुनः ईएनपी गर्दा समय लागेको नागढुंगा मलेखु आयोजनाका प्रमुख इश्वर रिजालले बताए ।
यो खण्डमा सुरुमा २५ सय जति रुख काट्नुपर्छ भनिए पनि फेरि सर्भे गर्दा २२ सयदेखि २३ सय रुखहरु काट्नुपर्ने देखिएको छ । सडक सिमा क्षेत्रमा रहेका विद्युतका पोल सार्नका लागि विद्युत प्राधिकरणसँग पटकपटक अनुरोध गरिएको र प्राधिकरणले लागत इष्टिमेट तयार गरेको आयोजना प्रमुख रिजालले बताए ।
यो खण्डमा पर्ने विद्युतका पोल सार्नका लागि प्राधिकरणले १२ करोड ११ लाख रुपैयाँको लागत तयार गरेको छ । तर, आयोजनाले जम्मा ७ करोड रुपैयाँ छुट्टाएको छ । ‘उहाँहरुले विद्युत पोल सार्ने मात्रै नभई अपग्रेड पनि यहीँ बेलामा गर्ने गरी लागत तयार गर्नुभएको छ, त्यसलाई बसेर मिलाउन बाँकी छ’ आयोजना प्रमुख रिजालले भने, ‘विद्युत प्राधिकरणको समेत खर्चमा शेयरिङ्ग रहने गरी सहमति गर्ने र टेण्डरमा जाने प्रकृया चाँडै अगाडि बढ्छ । यो खण्डमा खानेपानीका पाइप सार्ने समस्या भने त्यति ठूलो छैन ।’
विश्व बैंकको सहुलियतपूर्ण ऋणमा विस्तार गर्न लागिएको सडक बनेपछि राजधानी आवतजावतमा सहज हुने विश्वास गरिएको छ । अहिले राजधानी जाने मुग्लिन नारायणगढ सडक विस्तार भैसकेको छ भने पोखरा मुग्लिन सडकखण्ड विस्तारको क्रममा छ ।