स्ववियु निर्वाचन – जितेर के गर्ने ?

सुदिप चापागाईं : स्ववियु निर्वाचन नजिकिएसंगै त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा विधार्थी संगठनहरुको सक्रियता बढेको छ । त्रिभुवन विश्वविद्यालयले चैत्र ५ गते स्ववियु निर्वाचनको घोषणा गरेपछी क्याम्पसहरुमा आफ्नो संगठनलाई विजयी गराउन प्रचारप्रसार तथा भेटघाटका कार्यक्रममा विद्यार्थी नेताहरु सक्रिय रुपमा लागेका छन ।

निर्वाचन कार्यतालिका जारी भैसक्दा पनि विगतका नजिर नियाल्दै यो पटक स्ववियु निर्वाचन हुने वा नहुनेबिचको अन्यौलताबिच विधार्थी निर्वाचनमा होमिन आफ्नो माहोल सृजना गर्दै छन । निर्वाचन घोषणा गरेर पनि विधार्थी संगठनकै विविध कारणले निर्वाचन रोकिएका विगतका उदाहरण धेरै विधार्थीमा सर्ववितितै छ ।

म यहाँ स्ववियुको हिजोको अवस्था भन्दा पनि अबको गन्तव्यको विषयमा चर्चा गर्दैछु । कुनै पनि वर्तमान अवस्थाका स्रोत र साधनका विगत यस्का पुर्वधारहरु हुन । जसरी भौतिक विकासका पुर्वाधारले देशको नयाँ संरचना बनाउछ त्यसरी नै राजनैतिक र सामाजिक विकासका पुर्वाधारले मुलुकको व्यवस्थामा नयाँ आयाम सृजना गर्दछ ।

विगतको स्ववियु र अहिले यस्का प्रभाव भनेको तिनै पुर्वाधारहरुले तयार परेको राजनैतिक र सामाजिक संरचनाको स्वरुप हो । स्ववियु निर्वाचनले विगतमा व्यवस्था बदल्न पटकपटक गरेको योगदानको चर्चा पटक पटक भैरहन्छ । यद्यपि यस्को औचित्यमै प्रश्न पनि बेलाबेला उठने गरेको छ ।

इतिहासका कालखण्डमा नेपाल विभिन्न राजनैतिक समस्याबाट उल्झिरह्यो । तर यतिबेला मुलुक शान्त छ । हामीले प्राप्त गर्न पर्ने धेरै कुरा हासिल गरेका छौ । माथि चर्चा गरे जस्तै पुर्वाधार तयार भएर अब काम गर्नसक्ने अवस्थामा छन ।

मुलुकको समृद्धि शिक्षाबाट मात्र सम्भव छ भन्ने कुरा आम जनमानसमाको मानसपटलमा स्थायी रुपमा बसेको छ । असल शिक्षाले दक्ष जनशक्ति तयार पार्छ ती दक्ष जनशक्तिले कालान्तरमा मुलुकको हरेक क्षेत्रको विकासमा टेवा पुर्याउछन ।

कुनै पनि क्याम्पसको शिक्षालाई प्रभावकारी बनाउन उक्त क्याम्पसको प्रशासन , संचालक समिती र विधार्थीबिच परस्परको सम्बन्ध हुनु आवश्यक छ । बिद्यार्थीको संलग्नता नभएको ठाउँमा बिद्यार्थीको हक र अधिकारको निमित्त आवाज कम उठ्छ र बिस्तारै बिधार्थी र प्रशासनबिचको सम्बन्ध चिसिदै जाने सम्भावना हुन्छ । यस्तोमा प्रभावकारी भुमिका स्ववियुले खेल्ने भएको हुनाले स्ववियु निर्वाचनको औचित्यमाथी शंकाको नजरले हेर्नू उपयुक्त हुदैन ।

तर स्ववियु अब राजनीतिको लागि मात्र भयो , स्ववियुका नेताहरु विधार्थीको निमित्त भन्दा पनि सिमित व्यक्तिगत स्वार्थमा लागे भन्ने आरोपलाई सत प्रतिशत नकार्न पनि सकिँदैन ।

आजको अवस्थामा व्यवस्था बदल्नु छैन , लोकतन्त्र स्थापित हुने अवस्थामा छ ,शिक्षामा व्यापक परिवर्तन भएको छ , विधार्थीलाई हिजोको तुलनामा पढ्नको लागि सर्वसुलभ छ । उसो भए स्ववियु जितेर के गर्ने ? अहिलेको यक्ष प्रश्न यहीँ हो ।
राणाकालको आम जनताको मानसिकता पढ्न मात्र पाए हुने भन्ने थियो ।

त्यसपछिका अवस्थामा छोराछोरीको शिक्षामा समान हक हुनुपर्छ भन्नेमा संघर्ष भयो । अहिले न पढ्न पाउने कुरामा समस्या छ न छोरालाई काखा छोरीलाई पाखाको अवस्था छ । अहिलेको चुनौती भनेको “पढ्न त पढ्ने तर पढेर के गर्ने ?” भन्ने प्रश्नमा घुमिरहेको छ । युवापुस्तामाझ हाम्रो शिक्षा प्रणालीप्रतिको आक्रोस छ ।

हाम्रो शिक्षा न व्यवसायिक छन न प्राविधिक छन । देशमा भएका प्राविधिक जनशक्ति पनि नेपालमा संभावना नदेखेपछी विदेश पलायन हुने भयावह अवस्था छ । अहिलेको अवस्थामा त्रिविले प्रत्येक वर्ष लाखौंको मात्रामा स्नातक र स्नातकोत्तरमा बेरोजगार उत्पादन गरिरहेको छ भन्दा अतियुक्ती नहोला ।

एउटा क्याम्पसमा स्ववियु जित्दैमा यी तमाम समस्या समाधाम भैहाल्ने भने होइन । तसर्थ स्ववियु जित्नेले सर्वप्रथम आफ्नै क्याम्पसबाट स-साना कुराहरुबाट परिवर्तनको थालनी गर्नुपर्छ । जस्तै क्याम्पसका हरेक बैठकमा बिधार्थीका मुद्दासहित सहभागी हुने र आउने प्रतिफलको समन्वय गर्ने, विधार्थीका भावना समेट्ने र हरेक कुरामा साथ दिने,विधार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउन प्रेरणा दिने, एउटा क्याम्पसको स्ववियुको अधिकार क्याम्पस हाताभित्र मात्र रहने हुदा त्यस क्याम्पसमा रहेका विधार्थीकै काम गर्नको लागि बनाइएका विभिन्न विधार्थी संगठनहरुलाई मिलाएर लैजाने अर्को महत्त्वपूर्ण जिम्मेवारी पनि रहन्छ ।

नेपालभरिका स्ववियु जितेकाबाट स्ववियु काउन्सिल बन्छ । यस्ले चाहिँ माथि उल्लेखित समस्याको समाधान गर्न महत्वपूर्ण भुमिका खेल्नेछ । यस्ले राष्ट्रिय शिक्षाको मुद्दा  बोक्नेछ । अहिले त्रिविका कुनै पनि वर्षका परीक्षा तालिका समयमा आउदैन ,कतिपय संकायमा त परीक्षा आएर अर्को परीक्षा आईसक्दा नतिजा आउदैन । त्यस्को निवारणका निमित्त विभिन्न विधार्थी संगठनहरुले बेलाबेलामा आन्दोलन गरिरहेका छन तर अझै पनि ठोस प्रतिफल भने आउन सकेको छैन ।

२०१६ मा खुलेको त्रिभुवन विश्वविद्यालयको पठनपाठनको अवस्था अझै पनि पुरातन नै छ । २०१६ यता मुलुकले धेरै उपलब्धि हासिल गर्यो । तर शिक्षण पद्धति भने केहि सुधार उन्मुख देखिए पनि शहरी क्षेत्र विशेष गरि उपत्यका लगायतका केही ठाउँमा बाहेक अन्य ठाउँमा भने अझै पुरातन नै छ ।

समग्र नेपालभरी प्रदान गरिने हाम्रो शिक्षाले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति ज्यादै न्यून मात्रामा उत्पादन गर्छ । नेपालको नंवर १ विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय संसारभरिका विश्वविद्यालय अन्तर्गत ८०१ औँ नम्बरमा पर्दछ । विश्वविद्यालयको स्तर उन्नति गर्नको लागि अनुसन्धान , उद्दरण , शिक्षण , अनुसन्धानका उपलब्धि लगायतका विषयहरु प्रमुख हुने गर्छन ।

स्ववियु काउन्सिलले शिक्षण (शिक्षक,विधार्थी , पढाइको उपलब्धि ) तत्वलाई सुधार्न मात्र सक्यो भने विधार्थीको मात्र नभएर त्रिभुवन विश्वविद्यालयको स्तर पनि थप सुदृढ बन्नेछ । यस्ले समग्र विधार्थी सगंठनको भाव बोक्नेछ । यसर्थ पनि स्ववियु चुनाव आजको विधार्थीको लागि आवश्यक छ ।