अचम्मका विद्वान्

असारे झरीमा समय रुझिरहेको बेला तेजमान आङ्देम्बेको मृत्यु भएको खबरले पिउँदै गरेको चियाबाट ध्यान मोडँे। सुरुमा विश्वासै लागेन। फेसबुक खोलेँ। साहित्यकार, पत्रकार, शिक्षासेवीले तेजमानको तेज मुहार भएको तस्बिर राखेर श्रद्धा व्यक्त गरेको देखेँ। अव विश्वास गर्नैपर्‍यो। तेजमान सरसँग पछिल्लो भेट दुई महिनाअघि भएको थियो। चुस्स दाह्री, सर्टपाइन्ट, चप्पल ल्यापटप साथै थियो। घट्नु भएछ नि सर?

‘जन्डिस लागेछ हाउ। खानेकुरा बार्दैछु।’

यही जन्डिसले असार २३ गते बिहीबार साँझ उनको ज्यान गयो। बहुप्रतिभाशाली तेजमान आदर्श प्रतिमूर्ति पनि थिए।  विचार, चेतना, चिन्तनका धनी भएर पनि दूर गाँउमा बसेर विद्यालयमा पढाउने, खेती किसान र चिन्तनमनन् गर्दै भाषा, साहित्य तथा संस्कृतिको सेवामा अनवरत लागेका तेजमान सर अझै धेरै काम गर्ने योजना बनाउँदा बनाउँदै अचानक धर्तीबाट बिदा भए। असाधारण प्रतिभाका धनी उनी धेरै राम्रा अवसर छाडेर गाउँमै बस्न थालेका थिए। भाषा, साहित्य, संस्कृतिका बारेमा विचारोत्तेजक प्रस्तुति राख्न सक्षम उनी ५१ वर्षको अल्पायमै बिदा भए। पाँचथरको लुम्फाबुङमा बसेर आधुनिक प्रविधिको उपयोग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बहस सिर्जना गर्थे उनी।

विद्यालय पढ्दै हामी सुन्थ्यौँ लुम्फाबुङमा अचम्मको विद्वान् छन् रे। धेरै कुरा जान्दछन् रे। भिन्नभिन्न विषयमा बहस गर्ने बौद्धिताको खानी गाउँमै खेती किसानी गर्छन् रे! विदेशको पीएचडी त्यागेर गाउँतिर हानिएको रे। यस्तैयस्तै कुरा सुनिएका तेजमान सरलाई कलेज पढ्ने क्रममा पहिलो पल्ट फिदिममा देखेको थिएँ। एउटा पुस्तकको समीक्षा गर्न आइपुगेका उनको मनोहारी तथा विचारोत्तेजक टिप्पणी सुनेर म मोहित भएको थिएँ। पत्रकारिताको सिलसिलामा तेजमान सरसँग धेरैपल्ट अन्तरंग भेट तथा कुराकानी गरेको छु। हरेक विषयमा गम्भीरतापूर्व कुरा गर्ने उनीसँग प्रतिभाको खानी थियो, जुन दुनियाँले कममात्रै देख्न पाए। उनीसँगका धेरै कुरा मेरा स्मृतिपटलमा ताजै छन्। हरेक पल्ट भेट्दा नयाँ कुरा सोच्नु, बाँचुञ्जेल नयाँ कुरा खोज्नुपर्छ भन्ने सुझाव दिने उनले आफै नयाँ सोच्दासोच्दै अन्तिम बिदाइ लिए।

उनले आफ्नो अर्ध शतकको जीवन भाषा, साहित्य र संस्कृतिको खोजमा बिताए। उनको प्रतिभा र ज्ञान देख्दा जो पनि छक्क पर्थ्यो। तर, कमैमात्र सार्वजनिक हुन्थे उनी। ठूल्ठूला सुविधा तथा सहर छाडेर ग्रामीण लुम्फाबुङ रोजे उनले। गुमनामझैँ बसेका उनको मृत्युले पनि कुनै ठूलो समाचारको आकार प्राप्त गरेन। अमेरिका, युरोप, काठमाडौँ, धरान, फिदिममा पाएका अवसरलाई छाडेर गाउँमा खेती–किसानी गर्दै भाषाको अध्ययन, अनुसन्धान, लेखन र बहसमा दत्तचित्त भएर लागेका थिए उनी। विश्व साहित्यका हाँगाबिँगा कन्ठस्त पारेका उनको मुख्य क्षेत्र भाषा थियो।

नेपालीदेखि विश्व भाषाका विभिन्न तहबारे विमर्श गर्ने दक्षता राख्थे उनी। उनी लुम्फाबुङ माविमा विज्ञान र गणित पढाउँथे, तर निजी स्रोतबाट। विद्वान् भएर पनि गाउँमा शिक्षण गरेको भन्दै जिल्ला शिक्षा कार्यालय पाँचथरले ५० हजार रुपैयँाको पुरस्कार प्रदान गर्दै उनलाई सम्मानसमेत गरेको थियो। भाषाको उत्पत्ति, विकास, निर्माण, पुनःनिर्माण, प्रयोग, उच्चारण, लोपजस्ता विषयमा निरन्तर बहस  गर्ने उनीसँग एकपक्षको मात्र ज्ञान थिएन। भाषा, साहित्य, समाजका विभिन्न पक्षमा दख्खल राख्ने उनी भाषामै बढी रमाए। ग्रामीण क्षेत्रमा जन्मिएर अभावसँग जुध्दै उच्च शिक्षा हासिल गरेका उनले गाउँमै बसेर साधना गरे।

लुवाइखवाइभन्दा पनि निरन्तर गहिरो अनुसन्धान, खोज र सृजनामा उनको ध्यान जान्थ्यो। खोज, अनुसन्धान गर्दा नयाँ कुरा नभेटिन्जेल लागिरहन्छु, सोचिरहन्छु, खोजिरहन्छु, पढिरहन्छु भन्थे उनी। गाउँमै इन्टरनेटको प्रबन्ध गरेका उनले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा आफ्ना लेखरचना पुर्‍याएका थिए। उनको जीवनशैली देखेर कतिपय मान्छे छक्क पर्थे। देश तथा विदेशमा भाषाको खोज, अनुसन्धानमा राम्रो ख्याति बनाएका आङ्देम्बेको जीवनशैली देख्दा धेरैलाई पत्यार लाग्दैनथ्यो। उनका बारेमा गाउँमा अपत्यारिला कतिपय किस्सा छन्।

सरकारी जागिरमा उनको ध्यानै गएन रे। बन्धनमा बस्न नचाहने भएर होला। धाराप्रवाह बोल्ने उनको क्षमता थियो। विश्वका विभिन्न विषयको उदाहरण दिएर तिख्खर टिप्पणी गर्ने गरेकाले यहाँ सञ्चालित कतिपय कार्यक्रममा कार्यपत्रको टिप्पणीकर्ताका रूपमा उनलाई उभ्याइन्थ्यो। उनको टिप्पणीले कार्यत्रपत्रकै ओज बढाएको महसुस हुन्थ्यो। आनन्दले खाने, रमाउने, लेख्न थालेपछि त्यतै हराउने स्वभावका। लेख्न थालेपछि रातभरि नसुत्ने। भैँसीलाई घाँस काट्ने, अलैँची जोगाउने, गोरु जोत्नेदेखि विद्यालयमा पढाउने कामसमेत एकै व्यक्तिबाट हुनु चानचुने काम होइन।

केही वर्ष महेन्द्र बहुमुखी क्याम्पस धरान तथा पाँचथर बहुमुखी क्याम्पसमा प्राध्यापन गरेका थिए। आफूलाई त्यहाँ चित्त नबुझेर गाउँलाई कर्मथलो बनाएका उनले काठमाडौँका दर्जनौँ ठाउँमा पढाए। चित्त बुझेन, छाडिदिए। उनको विदेशयात्रा झन् रोचक छ। ‘गाँउमा के छैन? अध्ययन–अनुसन्धानका लागि समय छ, गहिरो गरी सोच्न पाइन्छ, सडक, विद्युतजस्ता सुविधा पुग्न थालेका छन्,’ गत फागुनमा जोशिलो स्वरमा उनले भनेका थिए ‘सस्तो सुविधाको आशक्तिले मलाई कहिल्यै छोएन। बिहान, साँझ खेती किसानी गरे खान पुग्छ, गाउँको पनि सेवा हुन्छ।’ कतिपय मान्छेका निम्ति उनको यो भनाइ अस्वाभाविक ठहरिन सक्छ।

पूर्वीय र पश्चिममा दर्शनका उनी ज्ञाता नै थिए। कतिपय विषयमा उनी सन्दर्भ सामग्रीबिनै घन्टौँ बहस गर्थे । २०२२ सालमा लुम्बाफुङ –३ मा जन्मिएका आङ्देम्बेले घन्टौँ धाएर तत्कालीन सिद्धदेवी निम्न माध्यमिक विद्यालय, नवमीडाँडामा प्राथमिक तहको शिक्षा लिए। फिदिम व्यावसायिक माविबाट २०४० सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए। हात्तिसार क्याम्पस धरानबाट आईएस्सी उत्तीर्ण गरेका उनलाई डाक्टर बन्ने भूत चढ्यो। बंगालदेशमा एमबीबीएस पढ्नका लागि परीक्षा दिए। तर, फार्मेसीको परीक्षा पास भए। पछि फेरि फार्मेसी नपढ्ने भनेर अर्कोतिर प्रयास गरे, सफल भएनन्। इन्जिनियर बनुँ भनेर गरेको प्रयास पनि सफल भएन। उनी साहित्यको गहन अध्ययनमा लागिसकेका थिए। उनको मनले डाक्टर, इन्जिनियर होइन, साहित्य–कला तथा भाषालाई मन पराएको थियो। यता बाबुले छोरो पढाउनका लागि खेत बन्धकी राख्नुपर्‍यो। अब उनले पढाउने पनि पढ्ने पनि भनेर काठमाडौँमा बीएड अध्ययन सुरु गरे। कलेज नगइ बीएड सकेपछि उनी एमएतिर पनि लागे। २०४९ सालमा त्रिभुवन विश्वविद्यालयवाट अंग्रेजी साहित्य र भाषा विज्ञानमा एमए पास गरे। उनले काठमाडौँका दर्जनौँ बोर्डिङ स्कुल पढाएरै चहारिसकेका थिए। यही बेला विश्व साहित्यका हजारौँ पाना छिचोलिसकेका थिए।

अभि सुवेदीलाई आदर्श तथा गुरु मान्थे तेजमान। उनकै सल्लाहबमोजिम नेदरल्यान्ड्समा छात्रवृत्तिमा पीएचडी गर्नका लागि परीक्षा दिए, पास पनि गरे। तीन वर्षका लागि नेदरल्यान्ड्सतिर लागे। एउटा रिसर्च संस्थाको जागिर खाए। तलब उतिबेलै एक लाख थियो महिनाको। दिनरात घोटिए अध्ययन–अनुसन्धान गरे। अढाइ वर्षपछि उनको  गाइडसँग कुरो मिलेन। गाइड फेर्ने सम्भावना थिएन। पीएचडीका गाइड प्रा.डा.जर्ज भ्यान्डिमसँग भोट–बर्मेलीमा भएको क्रियाको मेल कति पुरानो हो भन्ने उमेर पत्ता लगाउने ‘मर्फिङ अडर थ्यौरी’ अमान्य भएको बताएपछि समस्या आयो। भ्यान्डिमको थ्यौरीका विभिन्न विषय सही नभएको तर्क गरेपछि उनलाई समस्या भयो। उनी ठूलो अप्ठ्यारोमा परे। ‘बौलाएजस्तो भएको थिएँ। कि गाइको कुरा मानेर पीएचडी गरेर युरोप, अमेरिकाको जागिर खाने कि मेहनत गरेर आर्जन गरेको आइडिया बचाउनका लागि पीएचडी त्याग्ने,’ तेजमानले भनेका थिए, ‘आइडिया बच्यो भने पछि पीएचडी गरुँला, जागिर खाउँला भन्ने मतले नै जित्यो।’ उनले पीएचडी त्यागे र फर्किए गाउँ। नेपाल फर्किएपछि पनि आफ्नासामु आएका अवसरलाई अस्वीकार गर्दै उनी गाउँ हान्निए। यति पढेको मान्छे गाउँमा आएको देख्दा धेरैले तेजमान ‘बौलायो’ भनेका थिए। 

उनका ‘भाषा, संस्कृति र इतिहासका क्यान्सरहरू’, ‘नेपाल उपत्यकामा किराँत शासन र शासन समयको सवाल’, ‘किराँत लिम्बु मुन्धुम भाषाको व्याकरण र शब्दकोश'(अंग्रेजी भाषामा), ‘सेभिङ इन्डेन्जर ल्यांग्वेजेज :  जस्ट टु फमुर्ला’ प्रकाशित छन्।

गाउँमा हुनुहुन्छ, दुःख छ, सबैले तेजमानले आफूलाई चिनेन भन्छन्, सम्झेर पश्चात्ताप लाग्दैन? भन्ने प्रश्न एक पटक मैले उनलाई गरेको थिएँ। गीतको श्लोकको उदाहरण दिँदै उनले भनेका थिए, ‘जे हुन्छ राम्रैका लागि हुन्छ।’

मदिराका अम्मली थिए उनी। मदिरा पिउनुलाई उनी ‘फोटो खिच्नु’ भन्थे। मदिरा पिएपछि अन्तरकुन्तरमा लुकेका कुरा निस्कन्छ भनेर फोटो खिच्नु भनेका रे! भाइ फोटो खिच्न जाउँ। जहिले पनि भेट्नेबित्तिकै यसै भन्थे। उनलाई सामान्य कुराभन्दा बौद्धिक कुरा बढी मन पर्थ्यो। मन नपरेको कुरा पचाउनै सक्दैनथे। गाउँमा बसेर उनले लिम्बु भाषा–साहित्यमा मात्र होइन, नेपाली र अंग्रेजी भाषाको पनि खोज–अनुसन्धान गरे।

भेटेको बेला र फोनमा जहिले नयाँ कुराका लागि मेहनत गर्नु भन्ने सुझाव दिने तेजमान सरले मृत्युलाई जित्न सकेनन्। मृत्युसँग हारेका तेजमान विचारमा कहिल्यै हारेनन्। भन्थे– इमान, आदर्श बिक्रीका चिज होइनन्, तिनलाई बचाइराख्नु, मरेपछि पनि सन्तानले सम्भि्कदेलान्।