स्थिरताका नाममा अक्षम सरकारलाई बोकिराख्ने छुट हुँदैन : स्वर्णिम वाग्ले

११ वैशाख, काठमाडौं । कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ मा उपचुनाव लडेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले मतगणनाका क्रममा प्रतिस्पर्धी ठूला पार्टी कांग्रेस र एमालेभन्दा फराकिलो अन्तरसहित अगाडि छन् । उनीसँग गरेको अन्तर्वार्ता :

उपचुनावमा मतदाताको प्रारम्भिक रुझानलाई कसरी लिनुभएको छ ?

एकदमै सकारात्मक छ । अहिलेसम्म गनिएका वडाहरुमा हामीले सोचेभन्दा धेरै राम्रो नतिजा आयो । अब गनिने वडामा त झनै राम्रो हुन्छ । यो ट्रेन्डले निरन्तरता पाउँछ । हामी राम्रो अन्तरले जित्छौं ।

सत्ता गठबन्धनले बढ्ता भोट आउला भनेर अपेक्षा गरेको वडामा पनि तपाईंको अग्रता देखियो नि ?

यो उपचुनावमा खसेको भोटले के देखाउँछ भने ठूला पार्टीहरु जनताबाट धेरै टाढिएका रहेछन् । नेताहरु पनि जनताबाट टाढिनुभएको रहेछ । अहिले हाम्रो पक्षमा यो अन्तरसहित खसिरहेको मत त्यसैको संकेत हो । जगजाहेरै छ, आचारसंहिता उल्लंघन गर्दै चार चार जना पूर्वप्रधानमन्त्री आएर प्रचार गर्नुभयो । वर्तमान प्रधानमन्त्री आएर अर्का उम्मेदवारलाई चुनाव जिताएर पठाए आफ्नो क्याबिनेटमा मन्त्री बनाइदिने प्रलोभन देखाउँदै भोट माग्नुभयो ।

त्यसबाहेक पनि नेपाली कांग्रेसको एकदमै ठूलो तप्का यहाँ सक्रिय भएर लाग्यो । मौन अवधिमा पैसा बाँड्ने लगायत व्यापक दुरुपयोग र अपचलन भए । तर जतिसुकै शक्तिशालीहरु आएर जेसुकै गरे पनि जनताको चेतना स्तर धेरै माथि गइसकेको रहेछ । मैले अस्ति तपाईंसँग अन्तर्वार्तामा भनेको पनि थिएँ, यो चुनावमा परम्परागत मतको जमिन्दारी भत्कनेछ भनेर । अहिले त्यसैको पुष्टि भएको हो । त्यसै अर्थमा बुझ्नुपर्छ ।

मतगणनाको यो रुझान कायम रहेमा तपाईं निर्वाचित हुने देखिन्छ । सांसदका रुपमा तपाईंका के छन् योजना र प्राथमिकता ?

अहिले सुरुमा सांसदकै भूमिका प्रभावकारी रुपमा खेल्ने हो । हाम्रो पार्टी यतिबेला सरकारमा छैन । यस्तो बेलामा संसदमा गएर राम्रो विधायक बन्ने लक्ष्य नै हो । मेरो रुचि अर्थतन्त्र, अन्तर्राष्ट्रिय विकास, कुटनीति, जलवायु परिवर्तन जस्ता कुरामा भएकाले यसमा विशेष चासो देखाउने छु ।

त्यसबाहेक संसदीय समितिहरुमा गरिने काम असाध्यै महत्वपूर्ण हुन्छन् । म तिनमा पनि जोड दिनेछु । मेरो पार्टीले चाह्यो भने मेरो रुचि र विज्ञता अनुकुलकै समितिमा पठाउला । जस्तो कि अर्थ समिति । त्यस सँगसँगै आफू निर्वाचित भएर आएको जिल्ला र क्षेत्रको सरोकारहरुमा पनि मेरो पहल हुन्छ । राष्ट्रका ज्वलन्त विषयहरुमा मेरो ध्यान हुने छ ।

तनहुँसँग सम्बन्धित के कुरामा तपाईंको बढ्ता प्राथमिकता हुन्छ ?

पाँचवटा विषय उठाउँछु । पहिलो, सडक । मेरो प्राथमिकता बाटोको दुरी र लागत घटाउनेमा हुन्छ । तनहुँलाई अन्य भूभागसँग जोड्नु छ । जनतालाई सेवा सुविधाहरुको सन्निकट हुने गरी बाटाहरु बन्नुपर्ने छ यहाँ । राष्ट्रिय सञ्जालकै मेरुदण्डमा जोडिने गरी स्थानीय प्रादेशिक राष्ट्रिय र रणनीतिक सबै किसिमका बाटाघाटा बनाउन पहल गर्नेछु ।

यसबाहेकका प्राथमिकता पनि छन् । दोस्रो, खानेपानी, सिँचाइ र तटबन्ध । तेस्रो शिक्षा, स्वास्थ्य पोषणजस्ता विषय । चौथो, युवाको रोजगारी र उद्यम व्यवसाय । पाँचौं, उल्लेख्य तप्का विकासको मूलप्रवाहबाट पर छुटेको हुनाले आफ्नो थातथलोबाट बसाइसराई गरेर कतै राजधानी या सहज ठाउँमा झरेका छन् ।

असमानता भोगेर पनि पहाडमा बसिरहेका ती समुदाय आजसम्म पछि परेका छन् । ती समुदायलाई अगाडि ल्याउन मेरो पहल हुन्छ । हामी सबैले समन्यायिक समाज बनाउन योगदान गर्ने हो । पृथ्वी राजमार्गभन्दा दक्षिणी तनहुँ भेगमा पनि यस्ता धेरै समुदाय छन्, जो पछाडि परेका छन् । ती सीमान्तकृत समुदायलाई समेत दिगो विकास लक्ष्यमा जोड्ने गरी माथि ल्याउन भूमिका खेल्ने हो ।

उपचुनावपछि सरकार गठन, पुनर्गठनका कुराहरु पनि होलान् । तपाईंहरुको योजना के हुन्छ ?

अहिले छलफल भइसकेको छैन । चुनावको अन्तिम नतिजापछि पार्टीमा छलफल होला ।

सरकारबारे तपाईंलाई व्यक्तिगत रुपमा के लाग्छ ?

अहिले हामी यो (प्रचण्ड) सरकारमा जाने वातावरण छ जस्तो लाग्दैन ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले तपाईं र रास्वपासँग बढ्तै सहज महसुस गरेजस्तो देखिन्छ । उहाँले नयाँ सरकारका लागि पहल लिएमा रास्वपाले साथ दिन्छ ?

(केहीबेर रोकिँदै) अहिले त्यसका बारेमा कुनै छलफल भइरहेको छ जस्तो मलाई सूचना छैन ।

अर्थतन्त्र समस्या छ भन्ने रिपोर्टहरु आइरहेका छन् । सरकारलाई दैनन्दिन काम गर्न कठिन पर्न थालेको छ । तपाईं सांसद भएर आउँदै हुनुुहुन्छ । यस्तो बेलामा सरकारले के गर्नुपर्छ ?

तत्कालिन, मध्यकालीन र दीर्घकालीनमा टुक्र्याएर प्राथमिकता छुट्याउनुपर्छ । त्यसै अनुसार रातदिन काम गर्न थाल्नुपर्यो । तपाईंले भन्नुभएजस्तै अहिले देशमा राजस्व नउठिरहेको समस्या छ । अर्कातिर भएको रकम पनि खर्च नगरिरहेको, अनि चालु खर्चमा चाहिँ एकदमै चाप परिरहेको छ । तुरुन्तै राजस्व कहाँँकहाँ चुहावट भइराखेको छ, कहाँ कहाँ वृद्धि गर्न सकिन्छ, त्यता काम गर्न थालिहाल्नुपर्‍यो ।

अर्को महत्वपूर्ण कुरा मितव्ययिताको एजेन्डा हो । यो तुरुन्तै लागु गर्नुपर्छ । सार्वजनिक खर्च पुनरावलोकन आयोगका पछिल्ला रिपोर्टका सुझावहरु डिल्लीराज खनालले दिनुभएको छ, त्यसका निष्कर्ष लागु गर्नुपर्छ । त्यो अहिलेसम्म भएको छैन ।

त्यस रिपोर्टमा २१६ वटा विभागमध्ये ८३ वटा मात्रै राखे पनि देशलाई पुग्ने भन्ने खालका एकदमै कामलाग्दा सुझाव छन् । यस्तो कदम चाल्न अरुले सक्दैनन् । यसका लागि राजनीतिक निर्णय नै आवश्यक पर्छ । यस्तो कदम चाल्नका लागि नेतृत्वले बोल्ड डिजिसन गर्न सक्नुपर्छ ।

अर्थतन्त्रको संकटमा कुनै बाह्य चुनौती देख्नुहुन्छ ?

बाह्य क्षेत्रमा त्यस्तो ठूलो चाप छैन । कसैले नेपाललाई श्रीलंका र पाकिस्तानसँग तुलना गरेर कुरा गरेको सुुन्छु । तर त्यसरी चिन्ता लिनुपर्ने गरी हामीकहाँ बाह्य चुनौती छैन नै भने हुन्छ । बरु मैले अघि भन्दै थिएँ, प्रारम्भिक कामहरु सकिसकेपछि मध्यकालमा चाहिँ आर्थिक वृद्धि, आर्थिक सुधारका कार्यक्रम चाहिन्छ । अर्थतन्त्र मजबुत गराउन त्यो अनिवार्य रुपमा चाहिन्छ ।

तर यी सब कामहरु गर्नुपहिले त मनोवैज्ञानिक सुधार नै चाहियो । युवाहरुलाई यहाँ देशमा केही राम्रो भइरहेको छ भनेर आशा जगाउने कुराहरु दिन सक्नुपर्छ । यहाँ अर्थतन्त्र, उद्योगधन्दा खोल्नका लागि केही प्राविधिक तयारीहरु पनि गर्नुपर्छ । अहिले नागरिकहरुमा आशाको सञ्चार गर्नका लागि यस्ता कुरामा ध्यान पुगेजस्तो मलाई लाग्दैन ।

किन ध्यान पुगेन ?

किनभने त्यसका लागि विश्वसनीय अनुहारहरु, विश्वसनीय विचारहरु अघि सरेर काम गर्नुपर्ने हो । आशा गरिएका पात्रहरुले अगाडि सरेर बोल्दा जनतामा प्रभाव पर्छ । अहिले त्यस्तो भएको छ र ?

बजेट आउँदैछ । तपाईं के सुझाव दिनुहुन्छ सरकारलाई ?

आशा जगाउने खालको बजेट आउनुपर्छ । देशको अर्थतन्त्रमा यतिबेला जताततै लथालिंग भएको अवस्था छ । त्यसैले धराशयी भएका क्षेत्र, उपक्षेत्रहरुलाई उकास्ने गरी बजेट बनाउनुपर्छ । लगानीको माहोल बन्नेगरी सुधारको अनुभूति हुनुपर्‍यो ।

‘ओम्निबस प्याकेज’ सहितको सुझबुझपूर्ण (सबैतिर एकैपल्ट सुधारको अनुभूति गराउने) बजेट ल्याउनुपर्छ । समष्टिगत अर्थतन्त्रलाई टुक्र्याएर उत्पादनमा तुरुन्तै नतिजा देखाउन सक्ने क्षेत्रहरु किटान गरेर लो ह्यांगिङ फ्रुटहरु, जसलाई उभिएरै भुइँबाट टिप्न सकिने, त्यस्ता खालका क्षेत्र किटान गरेर बजेट ल्याउनुपर्छ । मध्यकालीन र दीर्घकालीन प्राथमिकता त्यसपछि दिलाउन सकिन्छ । आशा जगाउने क्षेत्रहरु नै अहिले प्राथमिकतामा हुनुपर्छ ।

अर्थतन्त्र सुधारका लागि राजनीतिक स्थिरता चाहिन्छ भन्छन् । अहिले संसदमा धेरैवटा दललाई तेस्रो दलले बहुमत पुर्याएर सरकार चलाइरहेको छ । यस्तो बेला तपाईंहरु माओवादी केन्द्र नेतृत्वको सरकारलाई नै साथ दिनुहुन्छ कि अर्को विकल्पमा लाग्नुहुन्छ ?

हुन त म पार्टीमा नयाँ छु । विश्वासको मत त्यसबेला किन दिइयो भन्दाखेरि केन्द्रीय समितिले हामी अस्थिरताको कारक बन्न चाहँदैनौं भन्ने बुझाइका आधारमा नै सरकारलाई समर्थन दिएको थियो । त्यो बुझाइ यथावत पनि छ ।

तर स्थिरता साधन हो । साध्य चाहिँ नेपाल राष्ट्रको प्रगति हो । स्थिरता हुँदा पनि विकास नभएका दृष्टान्त छन् । स्थिरताका नाममा अक्षम सरकारलाई बोकिराख्ने छुट हुँदैन । त्यसका लागि उसका कामहरुको ट्र्याक रेकर्ड पनि हेर्नुपर्ने हुन्छ । यही अवस्थामा तुरुन्तै सरकारमा जाने हाम्रो कुरा छैन । आधिकारिक निर्णय केन्द्रीय समितिले गर्छ ।

मतको रुझान हेर्दा तपाईंहरुमाथि ठूलो जनअपेक्षा देखिन्छ । विगतमा विभिन्न पार्टीलाई यस्तै जनअपेक्षा थियो, जो पछि तुषारपात भयो । तपाईहरु पनि त्यस्तो नागरिक आशालाई तुषारपात नगर्नुहोला भन्ने के ग्यारेन्टी छ ?

एउटा व्यक्तिले आएर लोकतन्त्रमा चमत्कार गर्न सक्दैन । हामी त्यस्तो विश्वास पनि गर्दैनौं । हामी प्रणालीलाई बलियो बनाएर यसैमा प्रभावकारी काम गर्न चाहन्छौं । तर धेरै लथालिंग भएका बेला व्यक्ति वा समूह विशेषमा आकर्षण रहने गर्छ । यस्तो प्रचलन विश्वव्यापी नै हो । यस्तो आशालाई न्याय गर्न मेरो इमानदार प्रयास हुनेछ ।

तपाईंका प्रतिस्पर्धीहरुलाई केही भन्न चाहनुहुन्छ ?

मैले आफ्नो तर्फबाट एकदमै मित्रवत् प्रतिस्पर्धा गरें । कहिले पनि नामसमेत नकिटी, आलोचना नै नगरी सुसंस्कृत व्यवहार गरें । राजनीति त्यस्तै हुनुपर्छ भन्ने म ठान्छु । उहाँहरु खुइल्याउने र गालीगलौजमा उत्रिनुभयो । उहाँहरुले एकदमै नेगेटिभ क्याम्पेन गर्नुभयो ।

उहाँहरुले हुँदै नभएका काल्पनिक आरोपहरु लगाउनुभयो । तर जनताले त्यस्तो कुरा मन पराएनन् । गतिलो झापट पनि दिए । राजनीतिमा सुधार चाहिएको छ भन्ने यो एउटा दृष्टान्त पनि हो ।