नवलपुर जिल्ला अस्पतालमा अक्सिजन अभाव हुन सक्ने प्रमुख डाक्टर थापाको संकेत

खगेन्द्र पराजुली, २९ बैशाख, नवलपुर ।

नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा अक्सिजनको अभाव हुने संकेत देखिएको छ । अहिलेसम्म बिरामीको चाप कम भएका कारण अक्सिजन पुगेपनि २ दिन यता कोरोना संक्रमित भई अस्पताल भर्ना हुनैपर्ने अवस्थामा पुगेका बिरामीको संख्या बढेसँगै अक्सिजन अभाव हुने संभावना बढेको अस्पताल प्रमुख डा. बीरबहादुर थापाले बताएका छन् ।

जिल्ला अस्पतालले शुरुमा कोभिड संक्रमितका लागि भन्दै ६ बेडबाट शुरु गरेको आईशोलेशन वेड बिस्तार गर्दै १८ र अहिले २८ सम्म पुर्याएको छ । गत बैशाख १७ गतेदेखि ओपिडी सेवा स्थगित गर्दै इमरर्जेन्सी र कोभिड उपचारका लागि ब्यवस्थापन मिलाएको अस्पतालमा आज बुधवार २५ जना कोभिडका बिरामी र ८ जना पनि संभावित लक्षण भएका कोभिड शंकास्पद बिरामीको उपचार तथा परिक्षण भईरहेको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालमा मौजुदा अवस्थामा रहेका ६५ र कावासोती नगरपालिकाले उपलब्ध गराएको ५ वटा गरी साना–ठूला ७० थान सिलिण्डर रहेको तर दैनिक ३० देखी ३५ वटा सिलिण्डर खाली हुने गरेको डा। थापाको भनाई छ ।

डा। थापाका अनुसार हाई फ्लोमा अक्सिजन दिनुपर्ने एक बिरामीका लागि ५० किलोग्राम अक्सिजन बरावरको एक सिलिण्डर ३ घण्टामै खपत हुँदा एकैदिन एकै जनाका लागि ७ देखी ८ वटासम्म सिलिण्डर आवश्यक परेको अवस्था अस्पतालमा रहेको छ । तर सरदरमा हेर्दा अहिलेसम्म ३०–३५ वटाले एक दिनलाई धानेको छ अहिले अक्सिजन खपत हुने मात्रा बढ्दै गएको छ । अस्पतालमा भएको अक्सिजन सिलिण्डर संख्या एक दिनलाई पनि स्टक रहेको छैन । दैनिक खाली सिलिण्डर भर्न दौडधुप गर्नुपरेको छ । मंगलवारसम्म त १५–२० वटा जोहो भएकै हो । डा। थापाले भने ।

जिल्ला अस्पतालका लागि देवचुलीको दुम्कौलीमा रहेको शंकर डिपोबाट, गैंडाकोटबाट र नवलपुर डिपोबाट अहिलेसम्म अक्सिजन आपुर्ति हुने गरेको तर पर्याप्त मात्रामा भने नपाईएको जनाईएको छ ।
अस्पतालमा रहेका सिलिण्डर भटाभट खाली हुन थालेपछि मंगलवार मात्रै दुम्कौली पठाएका २० मध्ये १० सिलिण्डर र गैंडाकोटबाट ५ सिलिण्डर मात्रै ब्यवस्थापन भएको छ ।
मंगलवारै जिल्ला प्रशासन कार्यालयले गैंडाकोटमा रहेको अक्सिजन उद्योगमा अनुगमन गर्दै नवलपुरमा अक्सिजनको अभाव हुन नदिने गरि आपुर्ति ब्यवस्था मिलाउन भनिएपनि आज बुधवार गैंडाकोटले १३–१४ वटा सिलिण्डर पठाउनुपर्नेमा ५ वटा भन्दा धेरै दिन नसक्ने खवर आएको डा। थापाको गुनासो छ ।

नवलपुरमा दैनिक १ सय भन्दा धेरै नयाँ संक्रमितहरु थपिने क्रम घटेकै छैन । जिल्लामा ९ सय ५० हाराहारी सक्रिय संक्रमित रहेकामा जिल्ला अस्पताल सहित पालिकाहरुले ब्यवस्थापन गरेका आईशोलेशनमा ३५ जना उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । यस्तै, नवलपुरका अधिकांश बिरामीहरु छिमेकी जिल्ला चितवनका अस्पताहरुमा उपचारका लागि जाने उपयुक्त र पायक पर्ने गन्तब्य भएका कारण बास्तबिक तथ्याङ्क स्वास्थ्य कार्यालयसँग नभएपनि सोही अनुपातमा ३५–४० जना जिल्ला बाहिर उपचाररत रहेको हुनसक्ने आकलन गरिएको छ ।