मलाई टिकट नदिनु अन्याय हो, तर दुःखी भएर बसेर मात्रै पनि त भएन : डा मिनेन्द्र रिजाल

dr-Minendra-Rijal d

साउन १९, काठमाण्डौ : १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि कांग्रेस नेता डा. मिनेन्द्र रिजाल गुमनाम जस्तै थिए । पदाधिकारीमा पराजित सबै केन्द्रीय सदस्यमा मनोनीत हुँदा रिजाल परेनन् अनि चुनावको टिकट समेत पाएनन् । तर रिजालले लाइन मिलाएपछि केन्द्रीय सदस्य मनोनीत भए अनि साउन २ देखि १० गतेसम्म भएको केन्द्रीय समिति बैठकमा सहभागी भए । ढिलागरी केन्द्रीय सदस्यमा मनोनीत भएका रिजालले केन्द्रीय समिति बैठकमा कांग्रेस विग्रहको बाटोमा नभई जनअपेक्षा सम्बोधन गर्न लाग्नुपर्ने बताएका थिए । उनै रिजालसँग पछिल्लो राजनीतिक घटनाक्रम र उनका योजनाबारे गरेको कुराकानीको सम्पादित अंश…

१४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि तपाईंंको राजनीतिक सक्रियतामा कमी भएको थियो । पछि चुनावमा टिकट पाउनुभएन । सभापतिको पेलानमा पर्नुभएजस्तो देखिन्थ्यो । पूर्वपदाधिकारी केन्द्रीय सदस्यमा मनोनीत हुँदा पनि तपाईंं छुट्नुभएको थियो । बीचमा कलेज पढाउने काम पनि थाल्नुभयो । डेढ वर्षको अवधि कसरी गुज्रियो ?

राजनीतिबाट हिजो बाहिर आज भित्र भन्ने होइन । राजनीतिको क्रियाशीलतामा डेढ वर्षअघि र अहिले खासै परिवर्तन आएको छैन । मतगणना नसकिँदै महामन्त्रीको चुनाव हार्ने देखेपछि रक्षामन्त्रीबाट राजीनामा गरेँ । त्यो दिनदेखि राजनीतिले कसरी एप्रोच गर्छ भन्ने गम्भीर सोचमा थिएँ । पाँच वर्ष पार्टीमा मेरो भूमिका नहुने सम्भावना स्वीकार गरेँ । एकपटक चुनाव लड्छु भनेर पहिले भनेको थिएँ । टिकट पाउँछुजस्तो लागेको थियो । असोज २३ गते टिकट बाँडियो । भदौ २३ गतेदेखि नै मलाई टिकट पाउँदिनँ भन्ने लाग्यो । त्यसपछि कसैसँग पैरवी गरिनँ । शान्त मनसँग बसेँ । महामन्त्रीमा पराजित भएपछि संसदीय चुनाव लडेर काम गर्ने मनशोभा बाँकी थियो। टिकट बाँड्नु एक महिनाअघिदेखि मैले त्यो बाटो पनि बन्द देखेँ । भदौ २३ मा सभापतिसँगको भेटपछि टिकट दिनुहुन्न भन्ने लाग्यो । मेरो समूहलाई भनिनँ, न त अर्को समूहमा गएर मलाई अन्याय नगर्दिनुस् भनेँ । १० महिनायता त्यसै सिलसिलाको काम हो ।

हप्ताको एक दिन पढाउँछु, सधैँ पढाउने होइन । समाचार बनाउने मान्छेलाई के लाग्न सक्छ भने पूरै पढाउन लाग्यो, मलाई यति धेरै फुर्सद छ । १० महिनादेखि आएको सोचमा काम गर्न कठिनाइ छैन । दुई हप्ताका लागि अर्को हप्तातिर फिलिपिन्स जाँदै छु, नेपाल बसेर काम गर्न मिल्ने कन्सल्टेन्सीका लागि । १० दिनजति त्यहीँ बस्नुपर्ने र ४ दिन भ्याकेसन छ । अनि कसैले भन्ला मिनेन्द्र रिजाल कन्सल्टेन्ट भयो भनेर । यो उमेरमा काम गर्न, पार्टीको केन्द्रीय सदस्यको सीमित भूमिकामा छु । एउटा परिवर्तन भयो महामन्त्रीको चुनाव हारेपछि, अर्को परिवर्तन भयो संसदीय टिकट नपाएपछि ।

फुर्सदको कुरा गर्नुभयो । यसलाई विधायिकाको भूमिकामा निर्वाह गरेर डेलिभरी दिने चाहना त पूरा गर्न सक्नुभएन नि ?

पक्का कुरा हो । मलाई टिकट नदिनु अन्याय हो । त्यो अन्यायका बारेमा केही समय आत्मसात् गर्न समय लाग्यो, त्यो सजिलो थिएन । फ्याक्ट हो नि ‘आई क्यान नट गो ब्याक’ । फिर्ता गएर त्यसलाई परिवर्तन गर्न सक्दिनँ । आजको दिनमा जे गरे पनि टिकट मेरो हातमा हुन्न । ममाथि गरिएको अन्यायबारे मात्र सोचेर बसेँ भने मैले आफ्नो जीवनलाई दुःखी बनाउँछु । म त्यो गर्न तयार छैन । त्यसलाई स्वीकारेर अर्को साढे चार वर्ष मैले बेहोर्नुपर्छ । त्यो बेलासम्म संसद चलिरहन्छ । म बाहिर बसेर हेरिरहेको हुन्छु । यी कुरा भैसक्यो भनेर मैले नबुझ्ने हो भने यो उमेरमा आफ्नो शरीरलाई दुःख दिने काम मात्र हुन्छ ।

तपाईंंको केन्द्रीय सदस्य मनोनीतसँग केही सन्दर्भबारे चर्चा हुन्छ । खासगरी देउवा र शेखर कोइरालालाई मिलाउने पार्टी समीकरण र एमाले–कांग्रेसलाई मिलाएर सत्ता समीकरण गर्ने भूमिकामा तपाईंं हुनुहुन्थ्यो भन्ने चर्चा गरिन्छ । खास के हो, स्पष्ट पार्दिनुस् न ।

जसले मैले शेरबहादुर देउवा र शेखर कोइरालालाई मिलाउन लागेको भन्नुभयो, उहाँहरूले जवाफ दिनुपर्‍यो । उहाँहरूले म केन्द्रीय सदस्य नभइदियोस् भन्ने चाहेको हो ? हामीले नचाहँदा–नचाहँदै केन्द्रीय सदस्य भयो, त्यसैले केही त होला यसमा भन्ने सोचजस्तो देखियो । त्यो त मेरा लागि अझ बढी होसियार हुनुपर्ने देखियो । मेरो समूहका साथीहरू अथवा शेखर समूहका साथीहरू मिनेन्द्र रिजाल केन्द्रीय सदस्य भयो भने त जादुबाट शेखर कोइराला र शेरबहादुर देउवा मिल्छन् भने आकलन हो भने ती साथीहरूसँग बढी ध्यान पुर्‍याउनुपर्ला । यो गठबन्धनबाट कांग्रेस बाहिर जाँदैन भनेको छु । भत्किए प्रधानमन्त्रीबाट भत्किन्छ ।

अर्को, शेखर कोइरालाले भनेका धेरै कुरा मान्नुभएको छ । शेरबहादुर देउवासँग मेरो सामान्य सम्पर्क सम्बन्ध कुनै पनि थिएन । भदौ २३ गतेपछि र तनहुँको उपनिर्वाचनअघिसम्म उहाँसँग मेरो एकपटक पनि कुराकानी र भेट भएको थिएन । तपाईंको कुराले मिनेन्द्र रिजाल केन्द्रीय सदस्य भएकोमा दुस्ख व्यक्त गरेको हो कि हाम्रो समूहबाट महामन्त्री लडेको थियो, जिताउन सकिएन, केन्द्रीय सदस्य भएको भए राम्रो हो भनेको हो, मैले बुझ्न सकिनँ ।

विश्लेषकका लागि मेरो कुरा त्यत्तिको गर्न सक्ने मान्छेलाई विश्वासका साथ काम लगाउने मान्छेलाई किन पार्टीले टिकट दिएन ? त्यो विश्लेषण गर्दिएर निष्कर्षमा पुगे भने म पनि यस्तो रहेछ भनेर बुझौँला । कसैलाई पनि अन्याय भएको भए भन्नुपर्‍यो, मिनेन्द्रलाई केन्द्रीय सदस्य बनाउँदा मलाई अन्याय भयो भनेर । पार्टीको परम्परामा शेरबहादुर देउवाको प्यानलबाट लडेको, रामचन्द्र पौडेलको प्यानलबाट लडेको, कृष्ण सिटौला प्यानलबाट लड्ने पदाधिकारी सबै मनोनीत हुनेछ । मनोनीत हुनेहरू अहिले आफैँ लडेर चुनाव जितेर आउनुभएको छ ।

उदाहरणका लागि ठूलो मतका साथ महामन्त्रीमा निर्वाचित महामन्त्री गगन थापा । अघिल्लोपटक महामन्त्रीमा सिटौला टिमबाट पराजित हुँदा मनोनीत हुनुभएको थियो । यसपालि शेखर टिमको मान्छे मनोनीत भएका छैनन् । शेरबहादुर, प्रकाशमान, विमलेन्द्रको टिमबाट चुनाव लड्ने, स्वतन्त्र रूपमा चुनाव लड्ने सबै मनोनीत भएका छन् । के कुरा हो मिनेन्द्र रिजाल मनोनीत हुन नपर्ने रु ठण्डा दिमागले सोच्ने हो भने मेरोबारेमा भ्रमभन्दा तात्त्विक कुरा ज्ञान होला ।

तपाईंंको केन्द्रीय सदस्यमा मनोनीत र कांग्रेसभित्र सरकारको समीक्षा गरेर शेखर कोइरालालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने चर्चा एकसाथ हुनु संयोग मात्र हो र ?

शेखर कोइरालालाई प्रधानमन्त्री बनाउने चर्चा छ छैन थाहा छैन । छापामा पढेको छु । आमसञ्चार र सामाजिक सञ्जालमा पढेको छु । शेखरजीले पनि त्यो कामका लागि मेरो अभिरुचि छ भन्नुभएको छैन । शेखरजीको कुरा मिडियामार्फत जान्नुपर्दैन उहाँलाई सोधेको छु । यसमा प्रस्ट छु भन्नुभएको छ । मिनेन्द्र रिजाल केन्द्रीय सदस्य भएकोमा दुस्ख व्यक्त गरेको हो कि हाम्रो समूहबाट महामन्त्री लडेको थियो, जिताउन सकिएन, केन्द्रीय सदस्य भएको भए राम्रो हो भनेको हो, मैले बुझ्न सकिनँ ।

समीकरणको कुरामा बाहिर बोलेको छु । यो गठबन्धनबाट कांग्रेस बाहिर जाँदैन भनेको छु । भत्किए प्रधानमन्त्रीबाट भत्किन्छ भनेको छु । सभापति र पदाधिकारीहरू सबैले हामीले गरेको निर्णय हो भन्नुभएको छ । त्यो निर्णयमा कांग्रेस इमानदार रहनुपर्छ । कांग्रेसबाहेक अरु कोही इमानदार भएन भने कांग्रेस इमानदार भैराख्नुपर्छ भन्ने छैन । हिजो गठबन्धनको पक्षमा थिएन तर, गठबन्धन भैसकेपछि इमानदार हुनुपर्छ । कांग्रेसको सम्पत्ति भनेको विश्वसनीयता हो, त्यो गुमाउनुहुँदैन । आज गठबन्धनका पार्टीहरू सबै कम्फर्टेबल देख्छु । गठबन्धन भत्काउन कसैले खोजिरहेको छ भने उहाँसँगै राम्रो कुरा गर्नुभए हुन्छ । म संसदमा पनि छैन । संसदमा भए पो सरकार परिवर्तन हुँदा मन्त्री हुन पाउँछु कि भन्ने हुन्छ । अनि व्यक्तिगत स्वार्थ पनि छैन ।

कांग्रेस आबद्ध रहेको सरकारको समग्र रूपमा समीक्षा गर्दा के पाउनुभयो ?

सरकारको समीक्षा गर्नुपर्ने अवस्था किन देखेको छैन भने विस्तारविस्तार खुट्टा टेक्ने चरणमा छ । सरकारको ध्यान अहिलेसम्म सरकार चलाउनेभन्दा सरकार टिकाउनेमा बढी केन्द्रित देखिन्छ । त्यो चरणबाट बाहिर निस्केको छैन । सरकारलाई टिकाइराख्ने होइन कि सरकारलाई काम गर्ने बनाउने बाटोमा लैजानुपर्छ । मैले केन्द्रीय समितिमा पनि राखेँ, कांग्रेसको २०८४ मा दुईवटा फ्रन्ट छ भनेको छु ।

एउटा सरकारको फ्रन्ट हो, जहाँ मज्जाले घच्चिका साथ कांग्रेस बसेको छ । केन्द्र सरकार छ । ठूलो पार्टी हो कांग्रेस । बिस्तारै प्रधानमन्त्री बन्ने समय पनि आउँछ । चारवटा प्रदेशमा मुख्यमन्त्रीसहित सातै प्रदेश सरकार छ । स्थानीय तह र वडामा सबैभन्दा बढी ठाउँ जितेका छौँ ।

जनताले दिएको सरकार बनाउने सुविधालाई उपयोग गरेर जनतामा भएको निराशा अन्त्य गरेर कांग्रेस र देशप्रति आशा र भरोसा जगाउने काम गर्नुपर्छ । कांग्रेसभित्रको महत्त्वाकांक्षामा को कहाँ पुग्छ भन्दा कांग्रेस सहभागी भएको र नेतृत्व गरेको तीनै तहका सरकारले के गर्छ भन्ने जनताको अभिरुचि हो । जनताको रुचि र स्वार्थअनुसार काम गर्‍यौँ भने निराशा कम हुन्छ । त्यो पूरा गर्न सक्यौँ भने कांग्रेसले फड्को मार्न सक्छ ।

समानुपातिकतर्फ अघिल्लो चुनावमा ३२।८ प्रतिशत मत थियो । अहिले २५।७ प्रतिशत छ । ७।१ प्रतिशत मत हामीले गुमाएका छौँ । त्यो मतको आधार गुमायौँ । निराशा फैलिएको कुरा हामीले मात्र होइन, अरुले गुमाएको कुराले पनि पुष्टि हुन्छ । एमालेले पनि अघिल्लो चुनावमा ६ प्रतिशतले गुमाएको छ । माओवादीले पनि गुमाएको छ । मूलधारका राजनीतिक दलहरूप्रति प्रश्नचिह्न छ । सोच है, तिमीहरूको शैलीमा परिवर्तन आउन सकेन भने सोच्न बाध्य हुन्छौ भन्ने सन्देश दिएका हुन् । एमालेको ६ प्रतिशत र हाम्रो ७ प्रतिशत घटेको हो । यसमा के फरक छ र भन्ने हो भने एमाले फुटेर ३ प्रतिशत माधव नेपालले लगेको हुनाले ‘युरोजन’ कम भएको हो कि भन्ने देखिन्छ । त्यसलाई पनि हामीले ध्यानमा राख्नुपर्छ । मधेशमा मधेशकेन्द्रित दलहरू पनि संकुचित भए । जसपा र लोसपाको आधार संकुचित भएको छ । नयाँ पार्टीहरू जनमत र नागरिक उन्मुक्ति पार्टीको मत बढी छ । सत्ता चलाएको संस्थापनप्रति जनताको निराशा छ ।

जनताले नयाँ विकल्प प्रस्तुत गरेको पनि होइन । चेतावनीको घण्टी बजाएका छन् । चेतावनीको घण्टी आमनिर्वाचमा २० ठाउँमा बजाएको थियो । उपनिर्वाचनमा पुग्दा कांग्रेसले जितेको ठाउँमा पनि घण्टी बजाएको छ । आमरूपमा भन्ने हो भने चेतावनीका घण्टी २१ वटा भएका छन् । उपचुनावलाई हेर्ने हो भने तीन ठाउँमध्ये दुई ठाउँमा बजेको छ । मान्छेको पर्सेप्सनमा जुन अनुपातमा चेतावनीको घण्टी बजेको हो नि, त्योभन्दा निकै चर्को ढंगबाट पर्सेप्सन भएको छ । त्यसबाट अत्तालिएको जस्तो आत्तिएको जस्तो, सबै बिग्रिन थाल्यो, भत्किन थाल्यो, कसरी २०८४ सालमा पुग्ने भनेजस्तो देखिन्छ । त्यो अवस्था होइन, कांग्रेसले आफ्नो समर्थनको आधार विस्तार गर्नलाई ७ प्रतिशत मत बढाउन एउटा सरकार भयो ।

कांग्रेसमा दुईवटा भाव छन् । एउटा केही गर्न पर्दैन, तलदेखि माथिसम्म सरकार छ भन्ने छ । अर्को, केन्द्रीय समितिमा पनि सुन्नुभयो होला, केही पनि भएको छैन भन्ने छ । अंग्रेजीमा ‘कम्प्रोसेन्सी’ भन्छन त्यो ‘कम्प्रोसेन्सी’ को भावबाट पार्टी बन्दैन । जगदेखि बदल्न परे पनि बदलौँ, सबै बिग्र्यो भन्ने आत्तिएको भाव हो ।

एउटा आत्तिएको भाव, अर्को केही गर्न पर्दैन भन्ने भावबाट पार्टी बन्दैन । बजेको घण्टीमा अनुपातको ज्ञान हराउन हुँदैन । २७५ मध्ये २१ ठाउँमा मात्र घण्टी बजेको हो नि । आफ्नो टाउकोमा बजेको जसरी आत्तिन पर्दैन । केही पनि भएको छैन भन्दा ७ प्रतिशत मत कम भएको छ । यी कुरालाई ध्यानमा राख्ने हो भने पार्टीमा विग्रह रहन हुँदैन । विग्रह रहिरह्यो भने २०८४ मा जनमतबाट आफ्नो स्थान पुनर्प्राप्ति गर्न सकिँदैन ।

कांग्रेसको मूल नेतृत्वमा ५ जना लामो राजनीतिक छवि भएका नेता पनि छन् । त्यो अनुभव अर्को कुनै पार्टीमा छैन । ५ जनाभित्र परिवर्तनका लागि जुनसुकै जोखिम उठाउन पनि तयार छन्, अनुभव पनि छ । परिवर्तनका लागि जे सुकै गर्छु भन्ने पक्ष पनि छ । आत्तिएको भाव नकारात्मक पक्ष भयो । अनुभव र जोखिम उठाउन सक्ने ऊर्जा जोड्ने हो भने कांग्रेसको २०८४ मा बहुमत प्राप्त गर्न सक्ने पार्टी, एक्लै चुनाव लड्न सक्ने पार्टीको आधार बन्न सक्छ ।

तपाईंंले संघीय चुनावअघि दिनुभएको अन्तर्वार्तामा भन्नुभएजस्तै सिट समीकरण मिल्यो । अब अर्को चुनावलाई लिएर कांग्रेसले आफूलाई सुधार्नुपर्ने ठाउँ कहाँकहाँ छ ?

समीकरण पहिलोपटक भएको होइन । २०७४ मा पनि शेरबहादुर देउवाको सरकारमा जनार्दन शर्मा गृहमन्त्री हुनुहुन्थ्यो । सबैले छोडेर ओलीजीसँग गएर वामएकता भन्दै एकै घोषणापत्रमा चुनाव लडे । रिस त माधवजीलाई, झलनाथजीलाई, प्रचण्डजीलाई ओलीसँग कति छ, उहाँहरूले मनमा राख्ने हो । योपालि संविधान जोगाउने र मास्नेबीचको प्रतिस्पर्धा भन्यौँ, नारा बनायौँ । अर्कोपटक गठबन्धन बन्छ कि बन्दैन भन्नुहुन्छ भने आज जे छ, यही रूपमा बसिरहने हो भने अर्को चुनावमा गठबन्धन बन्छ । पार्टीको समर्थनका आधार विस्तारित पनि नहुने र संकुचित पनि नहुने छ । कस्तो गठबन्धन हुन्छ, थाहा छैन । जनताकहाँ गएर होइन, कोठामा पार्टीको बैठक बसेर चुनाव कसरी जित्न सकिन्छ भनेर गठबन्धन भयो । त्यसबाट मुक्त हुनका लागि अरुसँग कुरा गरेर आर्टिकल पनि लेखेँ । विचारलाई परिमार्जन गरेर राम्रै अध्ययन गर्ने सोचमा छु ।

२७५ मध्ये ११० जना समानुपातिक प्रणालीबाट आउने आधार रहुन्जेलसम्म र पार्टीहरूको समर्थनको आधार ३०–३५ प्रतिशतभन्दा माथि नजाने अवस्था रहेसम्म गठबन्धन बनाउनु बाध्यता हुन्छ । किनभने एउटाले बनाएन भने अर्कोले बनाइदिन्छ भन्ने छ । गठबन्धन गर्नेले देशैभर चुनाव जित्ने, नगर्नेले बाहिरबाट तमासा हेर्नुपर्ने अवस्था छ । त्यो अवस्थाबाट मुक्ति पाउन २७५ सिटको संसदले गठबन्धन बनाएर चुनावमा जानुपर्नेतर्फ हामीलाई धकेल्छ । कसले कसलाई झुक्याउन सक्छ रु कुनकुन नेताका बीचमा सम्बन्ध न्यायो छरछैन भन्बाने बाट सत्ता निर्धारण हुने भयो ।

त्यस अर्थमा भन्ने हो भने २२० सम्मको संसद हुने हो भने एक्लै पनि बहुमत आउन सक्ने ठाउँमा पुग्न सक्छ । असाध्यै बलियो भएर कुनै पार्टीले ४०–४५ प्रतिशत मत पाउन सक्ने अवस्थामा पुग्यो भने अहिलेको अवस्थामा बहुमत आऊला । ३०–३५ प्रतिशत मत सबैभन्दा ठूलो दलले पाउने अवस्थासम्म कसैको बहुमत आउँदैन । २२० सिट बनाउँदा समानुपातिक घटाउनुपर्छ । कसैकसैले समानुपातिक राष्ट्रियसभामा लैजाऊ भन्ने विचारसँग म सहमत छैन ।

प्रतिनिधिसभा प्रतिनिधिमूलक भएन, दलित, महिला, अल्पसंख्यकले सजिलै चुनाव जित्ने अवस्था छैन, शहरबजारमा प्रतिनिधित्व गरेकाहरू र सीमित जातजातिहरूको मात्र प्रतिनिधित्व हुने भयो भनेर समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरिएको हो । प्रत्यक्ष निर्वाचन प्रणालीबाट आउन नसक्ने समुदायको प्रतिनिधित्वलाई वञ्चित नगरीकन, प्रतिनिधिमूलक चरित्रलाई कायम राखेर समानुपातिक निर्वाचन प्रणालीलाई कायम राख्ने र समानुपातिकको संख्या ठूलो हुँदा कसैको बहुमत नआएर सुशासनभन्दा राजनीतिक विकृत हुने बाटोतर्फ राजनीति गएको छ । त्यसलाई रोक्ने गरी बीचको बाटोबाट समाधान निकाल्नुपर्छ । मेरो आगामी दिनको क्रियाशीलता यसमा बढी रहनेछ ।

अहिले कांग्रेस तुलनात्मक रूपमा दबाबमा देखिन्छ । आउँदो चुनावको चिन्ता मात्र होइन, वर्तमान परिस्थिति र सरकारको निर्णय प्रक्रियाका कारणले पनि । कांग्रेस के गर्दै छ ? कस्तो हुँदै छ ?

अस्तिको केन्द्रीय समिति बैठक हेर्नुभयो भने अन्तिम दिन पारित भएको प्रस्तावमा छलफल गर्ने अभिरुचि देखिएन । आउने ६–८ महिनाका लागि रोडम्याप त्यहाँ छ । त्योभन्दा अगाडिको कांग्रेसको विग्रह फेसबुकमा देखुन्जेल समाचार बन्यो । विग्रहका बाबजुद सर्वसहमतिबाट आगामी बाटो तय गर्‍यो । मेरो आग्रह छ– पार्टीका संरचना त्यतातर्फ परिचालन गर्नुपर्छ । प्रणालीगत रूपमा प्रयास गर्नुपर्छ कि कांग्रेसको मूल सन्देश विग्रहले नढाकोस् ।

यो भनिरहँदा कांग्रेसभित्रको पुस्तान्तरणको कुरा अर्थात् देउवा विस्थापनको अभियान गगन थापाहरूको रहर मात्रै हो कि रणनीतिसँग पनि जोडिन्छ ?

अरुले के गर्छन्, मैले कसरी थाहा पाउने रु केन्द्रीय समितिमा विचार राखेको छु । पार्टी सभापति पनि २०८४ मा मज्जाको कांग्रेस बनाउन चाहनुहुन्छ । महामन्त्री पनि २०८४ सम्ममा यति धेरै काम गर्ने कि मत जित्ने कांग्रेस बनोस् भन्ने चाहनुुहुन्छ । दुईवटाको बीचमा कहाँ कुरा मिलेन भने महामन्त्रीले संसदीय दलको नेतामा मन डुलाउँदासम्म समस्या भयो । अहिलेलाई संसदीय दलको नेतामा मन नडुलाउनुस् भनेँ ।

त्यसो हुँदा सभापति र महामन्त्रीको मन एकैतिर जान्छ । विग्रहको समस्याबाट पार्टी बाहिर निस्कन्छ । पूरक रूपमा भन्नुहुन्छ भने महामन्त्रीसँग भेट हुँदा मैले भनेको थिएँ– संसदीय दलमा कोही चुनाव लड्यो भने धेरैपल्ट भनिरहन पर्दैन, ठूल्ठूलो स्वरमा भनिरहन पर्दैन । जुन दिन बहुमत हुन्छ, नेतृत्व फेर्छु भनेकै हो नि चुनाव लडेपछि । कहिल्यै पनि फेर्दिनँ भन्ने विचार आए पो ठूल्ठूलो स्वरमा भन्नुपर्छ– म कहिल्यै फेर्दिनँ भनेर । एकपटक लडेँ, अब अर्को चुनाव हुँदासम्म लड्दिनँ भन्नुपर्छ ।

देउवाजस्तो लामो राजनीतिक जीवन भएको मान्छेले पनि पटकपटक संसदीय दलको चुनाव लड्नुभयो, पराजित हुनुभयो, सफल पनि हुनुभयो । सबै अनुभव बोकेका देउवालाई संसदीय दलको निर्वाचन लड्ने मान्छेले लड्दा त्यससँग रहेको अन्तरनिहित भाव के हुन्छ भन्दा आमसञ्चारमाध्यमबाट बताइराख्न पर्दैन ।

विग्रह आउन नदिने हो भने अस्ति पारित गरेको प्रस्तावप्रति एकाग्र भएर काम गर्‍यौँ भने २०८४ को अभियानको राम्रो प्रारम्भ हुन्छ भन्ने मलाई लागेको हो ।

महाधिवेशनको समयलाई मान्दा तपाईंंहरूको सस्थापनइतर समूहको नेता शेखर कोइराला हो । तर, पुसको संसदीय दलको चुनावपछि गगन थापा नेता भएको जस्तो देखिन्छ । अस्ति केन्द्रीय कार्यसमितिको बैठकमा पनि सभापति भर्सेस महामन्त्रीजस्तो देखियो । अहिले इतर समूहको नेता को हो ?

यो विषयमा उहाँहरूसँग सोध्नुस् । सहमति भएर गगनजी चुनाव लड्नुभएको हो । भोलि को चुनाव लड्ने भन्ने कुरामा उहाँहरूले केही सहमति गर्नुभएको छ छैन थाहा छैन । अहिले त्यो बेला भएको छैन भनेको छु । शेखरजीको नेतृत्वमा चुनाव लडेको हामी सबैलाई १५औँ महाधिवेशनसम्म सँगै लिएर जाने काम शेखरजीको हो । १५औँ महाधिवेशनमा हाम्रो समूहबाट को उम्मेदवार हुन्छ भन्ने कुरा आज निर्णय गर्ने विषय होइन भन्ने कुरा शेखरजी र गगनजीका अगाडि राखेको छु । हाम्रो समूहको आन्तरिक बैठकमा पनि भनेको छु– अरुले जे सुकै भन्नुहोला, आजका दिनमा हामी त्यो निर्णय गर्ने बेलामा पनि पुगेका छैनौँ । निर्णय गर्नु उचित पनि हुँदैन भन्ने धारणा हो । दोस्रो कुरा, पार्टीमा विग्रह बढी भयो । हामीले यसको व्यवस्थापन गर्न सकेका छैनौँ । समूहमा पनि विग्रह बढाए हुन्छ भन्ने कसैले सोचेको छ भने त्योचाहिँ औषधि होजस्तो लाग्दैन ।

शेखरजी र गगनजीमा के सम्बन्ध छ, त्यो त उहाँहरूले भन्ने कुरा हो । म पनि राजीतिमा क्रियाशील छु, विश्लेषक होइन । मैले उहाँहरूको रसायनका बारेमा विश्लेषण गर्नेभन्दा उहाँहरूलाई नै सोधे हुन्छ । सोधेपछि थाहा भैहाल्छ । उहाँहरूबीचमा सम्बन्ध असाध्यै राम्रो भयो भने मैले दुस्ख मान्नुपर्ने के छ र रु उहाँहरूको सम्बन्ध सहज भएपछि अन्तिमअन्तिममा उहाँहरूसँग गएर जोडिएर चुनाव लडेको हो । सम्बन्ध सहज बनाउनका लागि उहाँहरू आफैँले एकअर्कासँग कुरा गर्नुपर्ने होला नि । त्यहाँ मेरो भूमिका के हाला र रु मेरो भूमिका खोजी गर्नुभयो भने गरौँला ।

आउँदो महाधिवेशनमा कांग्रेस सभापति देउवा र कोइराला मिलेर जाने सम्भावना कत्तिको छ ?

उहाँहरू मिल्ने नमिल्ने उहाँहरूको हातमा हो । यदि उहाँहरू मिले मेरो सबै जान्छ भनेर डराउनेहरूले पनि आफ्नो चिन्ता गरे भयो । मेरो काम त्यो विश्लेषण गर्ने होइन ।

रूपान्तरण अभियान लिएर ग्रासरुटमा एउटा अभियान पुग्यो । त्यहाँबाट आएका सुझावहरू कस्तो लाग्यो ?

सुझाव हेर्दा ठीकै लाग्यो । जस्तो रूपमा कांग्रेस छ, त्यस्तै रूपमा बस्न सक्दैन भन्ने कुरा सबैले गरेका छन् । पुस्तान्तरणले ककसलाई पार्टीको नेतृत्वभन्दा बाहिर गर्छ रु शेरबहादुर देउवा र शेखर कोइराला एउटा पुस्ता हो कि होइन रु शेरबहादुर देउवा र मेरो पुस्ता एउटा हो कि होइन रु मेरो र गगन थापाको पुस्ता एउटा हो कि होइन रु कुन पुस्ताको कुरा गरेको हो, सबैले आ–आफ्नो पुस्ताको कुरा गर्लान् नि । कसैले भएको पुस्ता कायम राख्ला ।

रूपान्तरणमा बिम्बहरू महत्त्वपूर्ण हुन्छ । मलाई कांग्रेसको रूप पनि रङ पनि फेर्नुपर्छजस्तो लागेको होइन । कांग्रेस कांग्रेसजस्तो देखिएन कि, धमिलो देखियो कि, अलिअलि अनुहारमा दाग लागेजस्तो देखियो कि रु धुलोमैलो लागेको जस्तो देखियो कि भन्ने लाग्यो । बीपी कोइरालाको पार्टी हेर्ने मान्छेले यसो हेर्दा बीपीको पार्टीजस्तो छ कि छैन भन्ने मनमा लाग्ने खालको अवस्था छ ।

कांग्रेस पार्टी बीपी कोइरालाको जस्तो, नेताहरूले जहाँसम्म पार्टीलाई पुर्‍याएर हामीलाई छोड्नुभयो, त्यस्तै पार्टी बनाउनका लागि हामीले अनुहारमा लागेको धुलोमैलो पखाल्नुपर्छ । त्यसो भन्दैमा मेरो अनुहार पखाल्दिनँ, अरुलाई पखाल्दिनुपर्‍यो भनेर नुहाइदिन जान थाल्यौँ भने पार लाग्दैन । विग्रह बढ्छ । साझा कांग्रेस बनाउने हाम्रो जिम्मेवारी छ । महामन्त्री थापाले केन्द्रीय समिति बैठकमा दिएको महत्त्वपूर्ण सन्देश के हो भने म कांग्रेसको महामन्त्री हुँ । यो पार्टीलाई बनाउने हो । अर्को विकल्प सोच्ने होइन भन्नुभयो । त्यहाँनेर समताको भाव सभापतिदेखि सबैकोमा देखेको छु । त्यो भावलाई गहिरो बनाएर कांगेसलाई लैजानुपर्ने देख्छु । त्यो भावभित्र शेखरजी पनि अटेको देख्छु । त्यही भाव देउवाको उत्तराधिकारी हुन पाउँछु कि पाउँदिनँ भनेर तँछाडमछाड गर्नेहरूमा पनि पाउँछु । त्यो भावलाई विस्तारित र गहिरो बनाउने काममा म लाग्छु ।

परराष्ट्र नीतिमा कांग्रेसले बीपीको पालामा भएको ओज गुमाउँदै गएको विश्लेषण छ । यो सही हो ?

नेपालमा कुनै पनि विषय अतिरञ्जनाका साथ बुझ्ने चलन छ । राजनीतिकर्मीहरू, सञ्चारकर्मीहरू, विश्लेषकहरू, विद्वान्‌हरूलगायत सबैले अतिरञ्जनापूर्वक बुझ्ने शैली विकसित भएको छ । नेपालमा मात्र होइन, बाहिर पनि त्यो शैली छ । प्रविधिले पनि त्यो शैली नभई आफू टिक्न सकिन्न भन्ने परेको होला । अन्तर्राष्ट्रिय मञ्चमा चीनको उदय भएको छ । चीनको प्रभाव असाध्यै विस्ताति छ । त्यसको पछिपछिजस्तो भारतको प्रभाव छ, उसको विस्तार बढ्दै गएको छ । त्यसले शीतयुद्धको बेलाको भन्दा अन्तर्राष्ट्रिय नीतिलाई हेर्ने दृष्टिकोण फेरिएको छ ।

त्यसमा पनि हामी चीन र भारतका बीचमा भएको मुलुक भएको हुनाले हामीमा झन् परराष्ट्र नीतिलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्ने अवस्था छ । चीन र भारतको महत्त्व अन्तर्राष्ट्रिय रूपमा बढ्दा नेपालले त्यसलाई अवसरको रूपमा बुझ्नुपर्छ । चीन र भारतको उन्नति र प्रभावका कारणले नेपालप्रति पनि आकर्षण बढेको छ । त्यसलाई अवसरको रूपमा लिने हो भने हाम्रो बुद्धिमत्ता हुन्छ । कहिले एउटाको धुरीमा चढेर कहिले अर्काको धुरीमा चढेर आफ्नो राजनीतिक स्वार्थसिद्ध गर्न मात्र थाल्यौँ भने हामी गम्भीर खाडलमा पर्छौं । अवसरको रूपमा लिन हिजोको जस्तो सत्ताका लागि एउटाको धुरीमा चढेर अर्कोलाई गाली गर्ने अर्काको धुरीमा चढेर एउटालाई गाली गर्ने शैलीको सट्टा गाम्भीर्यता अहिलेको परिवेशले खोजेको छ ।