कविता(एक उत्कण्ठा) :- “भुत्भुताएको हुँ”

Poem
ओछ्यान माडिएछ..,
हिजो ऊ र म सँगै थियौँ,
भित्तातिर रित्तै भएर
विछ्याईएको तन्नाले ठाउँ फेरेछ
ओछ्यान माडिएछ..
माडिएको ओछ्यान माडेका ति
पात्रहरुलाई थाहा छैन,
आज माडिएको ओछ्यान,
भोलि अर्को आउँछन्
र माँड्छन्
मेरो हातमा रहेको
चुना मिसाएको सुर्तिले
पुलुक्क हेर्यो
ऊ पनि अब माँडिदै थियो,
च्वास्स यि ओँठ घोँच्न
मिलेको ओँछ्यान हेर्छु,
आँफैमा मुसुक्क हाँसिदिन्छु
आज फेरी ओछ्यान माडिन तयार छ्,
माड्नेको प्रतिक्षा
अहँ..,
वोलाहट..,
सायद चिच्याहट भनुँ त्यसलाई
एक खित्का हाँसो..,
नाच्दा नाच्दै लजाएको प्रहर
त्यो तयार बसेको ओछ्यान
माड्नु अगाडि
भर्नुछ पेट,
झल्याँस्स एक सम्झना
ओछ्यानलाई ढोकाभित्र कैद गरेर
अब लाग्नुछ
फेरी एकपटक त्यता
सोध्नुछ
ति पदचापहरुका प्रत्येक
पाईलाका प्रश्न
यो समय, यो भुत्भुत्याईँ
र तड्पनका प्रश्न
सुन्नु छ…, उहि उस्तै
बजिदिन्छ एक रिल
त्यहि बारबार
हकदार बन्नेछु
ओछ्यान माड्ने
सायद एक्लो शरिरले
त्यो ओछ्यानले
कहिल्यै प्रश्न गरेन
तँ मलाई घरिघरि किन माँड्छस् ?
सायद चुना मिश्रत सुर्ति पनि त्यसै भन्दो हो,
उफ्फ्..,
मनले पनि हाई काडिदिन्छ एक्लो पनमा…,
यहि बेला हो, मौका हो
अब आँफैमा भुत्भुताउँछु म..
सोँचसँग सोँचेर खेलेको भए
यि प्रस्फुटित हुनै मिल्दैन
म बस् भुत्भुताएको हुँ
                               बस् भुत्भुताएको हुँ ……………..जयकार