नसा, पेट, मुटु र छालाका बिरामीलाई माटो दलेर गरिने उपचार प्रभावकारी

नारायण शर्मा, नवलपुर — गायक रमेशराज भट्टराई लामो समयदेखि नसा, ढाड र खुट्टा दुख्ने समस्याबाट पीडित थिए । नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा करिब तीन साताको उपचारपछि निको भएका छन् । ‘मलाई केही समयदेखि नसासम्बन्धी समस्याले दैनिकीमा असर पारिरहेको थियो ।
यहाँ उपचार गरेपछि निकै सहज महसुस गरेको छु,’ उनले फेसबुकमा लेखेका छन्, ‘खानपानमा अनुशासित भइयो र हरेक दिन व्यायाम गरियो भने दीर्घरोगी भएर बस्न पर्दैन भन्ने पाठ पनि सिकें ।’ उपचारपछि उनी आइतबार डिस्चार्ज भएका छन् ।
चिकित्सालयमा नसा, पेट, मुटु र छालाका बिरामीलाई माटो दलेर उपचार गर्ने गरिन्छ । चिकित्सालयका निर्देशक डा. विनोद पौडेलका अनुसार यस्ता रोगले ग्रस्त भएकालाई माटो दलेर गरिने उपचार निकै प्रभावकारी देखिएको छ । खेती नगरिएको जमिनभन्दा ६ फिट तलको माटो ल्याएर त्यसको फोहोर हटाएर दीर्घरोगीको शरीरमा दलेर उपचार गर्ने गरिएको उनको भनाइ छ । त्यसले शरीरभित्रको फोहोर सोसेर निरोगी बनाउने गरेको पौडेल बताउँछन् ।
पौडेलका अनुसार खनेर ल्याएको माटोको फोहोर हटाएर १२ घण्टा भिजाएर स्वस्थ बनाइसकेपछि दल्न योग्य हुन्छ । त्यसपछि शरीरमा ४५ मिनेटदेखि एक घण्टा माटो दलेर राख्ने गरिन्छ ।
शरीरको कुनै भागमा दुखाइको समस्या भएको खण्डमा माटो तताएर लगाउने गरिन्छ । सहन सक्ने तातो बनाएपछि पट्टीमा बाँधेर पनि राख्ने गरिन्छ । दुखाइको समस्या नभएको अवस्थामा भने चिसो माटो दल्ने गरिन्छ । रोग निर्मूल गर्न कतिपयलाई माटोमा निम र बेसार मिसाएर पनि दल्ने गरिएको पौडेलले बताए । ‘यो चलन वैदिककालकै उपचार हो । शुद्ध पानी र माटो जत्तिको शुद्ध पदार्थ नै छैन । माटोमा जिंक हुन्छ । शरीरमा दल्दा सोझै छालाले शोषण गर्छ र खनिज तत्त्वले रोगको प्रतिरोधात्मक क्षमता बढाउँछ,’ चिकित्सक पौडेल भन्छन्, ‘मुटु रोगीलाई पनि यही विधिबाट उपचार गरिन्छ । माटो दल्दा शरीरभित्रको फोहोर तान्छ र रोग निर्मलीकरण हुन्छ ।’ रोगअनुसार मसाज थेरापी विधिबाट पनि उपचार गराइने उनले बताए ।
डेढ महिनाअघि माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले यही विधिबाट १३ दिन उपचार गराएका थिए । ‘विभिन्न देशमा उपचार गरे पनि समस्या उस्तै रहेको थियो । ‘चिकित्सालयको उपचारपछि धेरै आराम भएको छ,’ महराले भने, ‘यस्तो विधि यहीं हुँदाहुँदै हामी महँगो अस्पतालमा दौडिन्छौं ।’ उनी समय मिलाएर फेरि आफू तीन साताका लागि चिकित्सालयमा आउने बताउँछन् । सांसदहरू शान्ता चौधरी, बिन्दा पाण्डे, मुमाराम खनाल, राम कार्की, जनवादी गायक जीवन शर्मा समेत यो विधिबाट उपचारपछि निको भएर फर्केका निर्देशक पौडेल बताउँछन् ।
स्थानीयको अगुवाइमा २०६४ सालमा धान्याञ्चल महायज्ञ गरेर चिकित्सालय स्थापना गरी उपचार सुरु गरिएको हो । त्यसयता ५९ हजारभन्दा बढीले उपचार गराइसकेका छन् । कोभिड महारमारीका समयमा चिकित्सालयमा ८ सय संक्रमित राखेर उपचार गराइएको थियो । त्यतिबेला रोग प्रतिरोधात्मक क्षमता बढाउन योगा तथा ध्यानका साथै खानपानमा विशेष ध्यान दिइएको थियो । संक्रमितमध्ये सबैजना निको भएका थिए । चिकित्सालय चितवनको नारायणगढबाट १४ किलोमिटर पश्चिम रजहर बजारबाट करिब डेढ किलोमिटर दक्षिणमा छ ।

सोमवार, भदौ २५, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको