महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा समूह उपविजेता बन्दै नेपाल सेमिफाइनलमा

Cricket_women_teamnpl

भदौ २०, काठमाडौं : मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको खेल वर्षाका कारण रद्द भएको छ। वर्षाका कारण टस समेत नभइ खेल रद्द भएपछि दुवै टोलीले समान १–१ अंक बाँडेका छन्। यूएईसँग अंक बाँडेपछि नेपाल समूह ‘ए’को उपविजेतामा सीमित रह्यो।

नेपालले यसअघि लगातार ४ वटा खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो। यूएईले पनि ४ वटा खेल जितेको थियो। दुवै टिमको समान ९ अंक रहे पनि नेट रनरेटका आधारमा यूएई अगाडि रहँदै समूह विजेता बन्यो। समूह चरणको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ५ रन, बहराइनलाई १० विकेट, भुटानलाई ३ विकेट र कतारलाई ९ विकेटले पराजित गरेको थियो। यस्तै, कतार र मलेसिया तथा भुटान र बहराइनबीचको खेल पनि वर्षाका कारण सुर हुन सकेको छैन। तीनवटै खेलको टससमेत हुनसकेको छैन।

नेपालले अब सेमिफाइनलमा समूह ‘बी’को विजेतासँग खेल्नेछ। समूह ‘बी’ अन्तर्गत बुधबार नै हङकङ र थाइल्यान्डबीच खेल हुँदै छ। यो खेलबाट नेपालको प्रतिद्वन्द्वी तय हुनेछ। यूएईले भने समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ। सेमिफाइनलमा जित निकाले नेपाल महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पर्नेछ। फाइनलमा पुग्ने २ टोलीले सन् २०२४ मा हुने महिला टी–२० विश्वकप क्वालिफाइर खेल्न पाउनेछन्।