मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना शनिबारसम्मै

  • मौसम
  • २०८० भाद्र २८, बिहीबार १२:१६

२८ भदौ, काठमाडौं । गएराति काठमाडौं र आसपासका क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भयो । मनसुनको समयमा सामान्यतया मेघगर्जन र चट्याङ पर्दैन तर बुधबार राति सुतिरहेका मानिसहरुलाई तर्साउने गरी बिहानपखसम्मै मेघगर्जन र वर्षा भइरह्यो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी वर्षा काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने धाप ड्याममा रेकर्ड भएको छ । १२ घण्टाको अवधिमा धाप ड्याममा ८१ मिलिमिटर वर्षा मापन भएको छ । त्यसपछि दोस्रो धेरै नुवाकोटको ककनी क्षेत्रमा ६४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

हिजोआज ठूलो पानी पार्ने प्रणाली पनि छैन । तर राति मेघगर्जन र चट्याङसहित घनघोर पानी किन पर्यो होला ? मौसमविद् रोजन लामिछाने भन्छन्, ‘दिनभर चर्को घामका कारण विकसित स्थानीय प्रणालीलाई भारत र बंगालको खाडी आसपासको न्यूनचापीय प्रणालीले सपोर्ट गरेका कारण मेघ गर्जन र चट्याङसहित वर्षात भयो ।’

लामिछानेका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । यसको अर्थ पानी पार्ने प्रणाली भारततिर बढी छ । नेपालमा भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र त्यस आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्रै छ । यस्तै बंगालको खाडीको उत्तरपश्चिम क्षेत्रमा रहेको न्यूनचापीय रेखाको पनि नेपालमा आंशिक प्रभाव छ ।

मनसुनको समयमा जलवाष्पयुक्त हावा धेरै हुन्छ र पानी पर्छ । सामान्यतया मनसुनको समयमा मेघगर्जन र चट्याङ कम हुन्छ । तर हुँदै नहुने भन्ने चाहिँ हुँदैन । २०७९ साउन २४ गते र २०७८ भदौ २० गते पनि काठमाडौंमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा भएको थियो ।

नेपालमा यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला ३१ जेठ (१४ जुन) मा मनसुन भित्रिएको थियो । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ हो । सरदर मिति अनुसार मनसुनको अवधि अझै १५ दिन -यसमा केही दिन तलमाथि हुनसक्छ) बाँकी छ । अर्थात् अहिले ‘पोष्ट मनसुन’को समय छ । पोष्ट मनसुनको बेलामा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना हुने मौसमविद लामिछानेको भनाइ छ । मेघगर्जन र चट्याङ प्रि-मनसुनको समयमा बढी हुन्छ ।

यद्यपि आज राति पनि मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा लेखिएअनुसार आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी भदौ २९ गते शुक्रबार र ३० गते शनिबार पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २८, आईतवार ०८:३०
    • 22 views
    हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात, पहाडी भेगमा वर्षाको सम्भावना

    २८ पुस, काठमाडौं । सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रका धेरै ठाउँहरुमा आज हल्का हिउँ पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी…

    विस्तृत.....

    • २०८१ आश्विन १६, बुधबार १२:१९
    • 103 views
    विपद् प्राधिकरण भन्छ : शुक्रबारसम्मै भारी वर्षाको सम्भावना छ, यात्रामा सावधानी अपनाउनुस्

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बुधबारदेखि बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले शुक्रबारसम्म नै भारी वर्षाको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *