सुरक्षित वैदेशिक रोजगार

१. परिचय: 

रोजगारीको शाब्दिक अर्थ जीवन निर्वाहको लागि गरिने सेवामूलक काम, जो तलव, भत्ता र ज्यालामा आधारित हुन्छ भनेर बुझिन्छ । रोजगारीका अवसर स्वदेश भित्र मात्र नभई विदेशमा पनि उपलब्ध हुनसक्छन् । यसरी आफ्नो देश भन्दा वाहिर उपलब्ध रोजगारीका अवसरहरुको अवलम्बन गरी अर्थोपार्जन गर्ने कार्य नै वैदेशिक रोजगारी हो।

नेपालीहरु भारत, मलेसिया, खाडी राष्ट्र मात्रै नभई अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूरोप, जापान तथा कोरिया जस्ता देशहरुमा वैदेशिक रोजगारी, अध्ययन भिषा तथा बसाईसराई गरेर जाने प्रवृत्ति बढेको देखिन्छ। स्मरण रहोस्, नेपाल सरकारले श्रम सम्झौता नगरेको देशमा वैदेशिक रोजगारीमा जानु कानुन विपरितको कार्य हो ।

नेपालमा वैदेशिक रोजगार ऐन २०६४ को दोश्रो संसोधन २०७५ क्रियाशील रहेको अवस्था छ । देशमा पर्याप्त रोजगारीका अवसर निमार्ण हुन नसक्दा सरकारले नै विभिन्न देशसँग श्रम सम्झौता गरी देशबाट जनशक्ति विदेशतिर निकासी गर्नु आँफैमा अल्पकालिन हिसाबले र बैदेशिक मुद्रा उपार्जनका हिसाबले सकारात्मक भएपनि दीर्घकालिन रुपमा यो जनशक्ति पलायनको नकारात्मक परिणाम निम्त्याउने कार्य हो ।

वि.सं. २०६८ र २०७८ को जनगणनाको तथ्यांक ले समेत नेपालमा जनसंख्या दर घटदै गएको यो तितो यथार्थलाई अंकित गर्न थालेको छ ।
नेपालको वैदेशिक रोजगारीको ईतिहास चौधौं शताब्दीमा अरनिको चीनमा गएको तथ्यबाट शुरुभएको मानिन्छ । तर आर्थिक हिसाबले वैदेशिक रोजगारी चुन्ने प्रवृत्ति भने प्रथम र दोश्रो विश्वयुद्धमा नेपाली युवाले देखाएको वीरतासंगै वि.सं. १८७२ को सुगौली सन्धिपछि ब्रिटिश र भारतीय सेनामा लाहुरे बन्ने प्रचलनले प्रश्रय दियो ।

करिब दुईसय बर्ष यता नेपालीहरु भारतमा काम खोज्न जाने र लाहुरे बनेर रेडियो बजाउँदै फर्कने प्रबृत्तिलेपनि महत्व पायो। त्यसपछि बर्मा, भुटान, थाइल्याण्ड, तिब्बत, मलेसिया अहिले यो लहर ११० देशहरुमा फैलिएको छ । ब्यक्तिगत प्रयासमा भने नेपालीहरु १६७ देशहरुमा जान र काम गर्न सक्छन् । ईराक, अफगानिस्तान र लिवियामा जान भने नेपालको सरकारले नै प्रतिबन्ध लगाएको छ ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने जनसंख्या २४.५ प्रतिशत रहेको छ भने दैनिक पन्ध्र्रसय भन्दा बढी युवा त्रिभुवन विमानस्थलको बाटो भएर विदेशिने प्रवृत्तिपनि बढीरहेको छ ।

२. वैदेशिक रोजगारी फाइदा र बेफाइदाः

देशलाई चरम गरिवीको रेखामुनि धकेल्नु आँफैमा असल कार्य हुने कुरा भएन । देशमा व्याप्त बेरोजगारीका कारण आउन सक्ने सामाजिक विकृति र विसंगती लाई नियन्त्रण गर्न विदेशी बजारमा उपलब्ध अवसरको सदुपयोग गर्नु आजको अल्पकालीन आवश्यकता हो ।

नागरिकका आवश्यकता परिपूर्ति गर्न र विदेशी मुद्राको आर्जन गर्न वैदेशिक रोजगारी महत्वपूर्ण वैकल्पिक आर्थिक क्रियाकलाप हो । जसका कारण राज्यले कर तथा राजश्व संकलन गरी विकासको लागि बजेट निमार्ण गर्न सक्छ ।

विदेशमा सिकेको सैदान्तिक तथा प्राविधिक ज्ञान तथा संकलित पूँजी नेपालमा उत्पादनशील क्षेत्रमा लगानी गरी उद्यमशीलता अभिवृद्धि गरी रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ । देशमा पूर्वाधारको विकास गर्न सकिन्छ। देशमा कृषिको आधुनिकीकरण गरी नागरिकको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ । फलस्वरूप सापेक्ष गरिवी नियन्त्रण गर्न सकिन्छ ।

अर्कोतर्फ वैदेशिक रोजगारीले घरपरिवारमा विचलन, सम्बन्ध विच्छेद, वहुबिवाह जस्ता समस्या समेत निम्त्याएको छ। अझै अर्कोतर्फ एचआइभी तथा यौनजन्य रोगको संक्रमण बढ्ने तथा अन्य प्राणघातक रोग निम्तने संभावना पनि बढाएकोछ । विदेशमा कलकारखानामा वा अन्य निर्माण स्थल वा साइट क्षेत्रमा काम गर्दा असावधानी र दुर्घटनाका कारण मर्ने वा घाईते भई अंग भंग भएर बाँकी जीवन दुःख कष्ट र पिडामा विताउनु पर्ने अवस्था आँउछ ।

विदेशको प्रतिकूल हावापानीका कारण अनेक रोगब्याधि निम्तने र मृत्युवरण समेत हुन सक्छ। विदेशमा सांस्कृतिक तथा भाषिक समस्या तथा विभिन्न यातनाको शिकार भई शारिरीक र मानसिक समस्याको शिकार हुने अवस्था छ। उर्जावान युवा विदेशींदा देशमा जनशक्तिको अभाव तथा विकास निमार्णमा बाधा उत्पन्न हुन जान्छ।

आफ्नो संस्कृति र परम्परा बिर्सी विदेशी संस्कृति र परम्परा अवलम्वन गर्नाले स्वदेशमा विकृती बढेर जान सक्छ । त्यसको अलावा मेनपावर कम्पनी तथा दलालले ठग्ने, भने बमोजिमको तलब नपाउने, कामको अनुभव र दक्षता नभएको कारण राम्रो काम नपाउने, असुरक्षित कार्यस्थलमा जोखिम युक्त काम गर्नुपर्ने वाध्यता, विदेशमा हुने अपराधको मतियार बनाइनु वा अपराधको आरोप लगाई जेल, कैद वा मृत्युदन्डको शिकार हुनुपर्ने जस्ता जोखिमहरु समेत वैदेशिक रोजगारीका प्रतिनिधी समस्या हुन् ।

३. वैदेशिक रोजगारी र सुरक्षाः

क. सरकारी निकायको कार्यक्षेत्र र मौजुदा कानुनी दायित्वः
झोला बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा लाइन लागेर दैनिक पन्ध्र सय बढीको लस्कर जहाज चढेर उड्ने, धन कमाउने र परिवारको खुशीमा रमाउने सबैको सपना पूरा हुन्छ भन्ने छैन ।

बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत श्रम विभाग, वैदेशिक रोजगार विभाग, तथा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड जस्ता सरकारी निकाय अनवरत रुपमा क्रियाशील छन्। वैदेशिक रोजगारलाई सुरक्षित बनाउन यी निकायले निम्न कार्य गर्ने गराउने गर्छन् ।
.नेपाली श्रमिकहरूको हकहितको संरक्षण र सामाजिक सुरक्षाका लागि श्रम कूटनीति अवलम्बन गर्ने
.विदेशमा रहेका सेवा प्रदायक संस्था, गैरआवासीय तथा प्रवासी नेपाली सङ्घ, सङ्गठन र रोजगारदाता कम्पनीसँग समन्वय गरी कार्य गर्ने,
.वैदेशिक रोजगार परिषद्को स्थापना गरी प्रभावकारी कार्य गर्ने,
.भारतमा रोजगारीका लागि जाने कामदारलाई परिचयपत्र जारी गर्ने र बिमा कल्याणकारी कोषमा आबद्ध गराउने कानुनी व्यवस्थाको कार्यान्वयन गर्ने,
.वैदेशिक रोजगारका लागि जानेहरूको पूर्व अभिलेख राख्ने र सबैखाले विकृतिहरूको कडाइका साथ नियन्त्रण गर्ने,
.नेपालमा वैदेशिक रोजगार ऐन २०६४, दोस्रो संशोधन २०७५ ले वैदेशिक रोजगारका सम्बन्धमा गरेका नीतिगत व्यवस्थाहरूलाई अक्षरसः पालना गर्ने गराउने । जसअन्तर्गत देहायका विषयवस्तुहरु पर्दछन् ।
.नेपाल सरकारले वैदेशिक रोजगारमा जान पाउने मुलुक तोक्नुपर्ने र ती मुलुकसँग दुई पक्षीय सम्झौता गर्नुपर्ने छ।
. वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र लिनुपर्ने र व्यक्तिलाई वैदेशिक रोजगारमा पठाउनु पूर्व श्रम विभागबाट स्वीकृति लिनुपर्ने छ। वैदेशिक रोजगारमा जाँदा स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने छ।
. कामदार छनोट गर्दा १५ दिनको सूचना प्रकाशन गर्नुपर्ने र निवेदकको नाम सूचनापाटीमा टाँस गर्नुपर्ने छ।
. वैदेशिक रोजगारका लागि लैङ्गिक विभेद बिना १८ वर्ष उमेर पुगेकालाई खुला प्रतिस्पर्धाबाट छनोट गर्नुपर्ने छ।
.वैदेशिक रोजगारमा जाने महिला, दलित, आदिवासी, जनजाति, उत्पीडित, दैवी प्रकोप पीडित तथा दुर्गम क्षेत्रका व्यक्तिलाई नेपाल सरकारले विशेष सुविधा प्रदान गर्न सक्ने छ।
. विभागबाट स्वीकृति लिई कुनै पनि व्यक्तिको निजी प्रक्रियाबाट वैदेशिक रोजगारीमा जान सक्ने गरी व्यवस्था गर्ने ।
.सम्झौता बमोजिम गएको देशमा रोजगारी नभएमा कामदारले विद्युतीय माध्यमबाट वा सोझै श्रम विभाग वा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सक्ने छ ।
.यसरी उजुरी पर्न आएमा र उजुरी मनासिव देखिएमा इजाजतपत्र वालाले खर्चको क्षतिपूर्ति भर्नुपर्ने हुन्छ।
.विदेशमा रहेका कामदारले सम्बन्धित मुलुक हेर्ने नेपाली कूटनीतिक नियोगबाट बढीमा दुईपटक श्रम स्वीकृति लिन सक्ने गरी व्यवस्था मिलाउने ।
. कामदारलाई वैदेशिक रोजगारमा पठाउनुअघि इजाजतपत्र वालाले कामदारको करार अवधिभर कायम रहने गरी कम्तीमा पाँच लाख रुपैयाँको बिमा गराउनुपर्ने छ ।
. वैदेशिक रोजगारमा जानुअधि विभागले तोकेअनुसार अभिमुखीकरण (जानकारी) तथा आवश्यक तालिम लिनु पर्ने ।
. इजाजत पत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा वैदेशिक रोजगारका लागि झुटो आश्वासन वा प्रलोभन देखाएमा वा यसरी रकम लिएमा, लिएको रकम र सोको ५० प्रतिशतले हुने गरि क्षतिपुर्तिको व्यवस्था गराउने ।
ख. नागरिकको दायित्वः
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन आम नागरिककोपनि उत्तिकै दायित्व रहेको छ । सो कार्यको लागि वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि आम नागरिकले निम्नानुसारका उपायहरू अवलम्बन गरेमा सुरक्षित हुन सकिन्छ ।
.श्रम मन्त्रालय, श्रम विभाग, वैदेशिक रोजगार विभाग वा वैदेशिक रोजगार प्रवर्धन बोर्डमा सम्पर्क गरेर रोजगारीको बारेमा पर्याप्त जानकारी लिनुपर्छ ।
.मान्यताप्राप्त वैदेशिक रोजगार कम्पनी मार्फत सबै जानकारी लिएर मात्र वैदेशिक रोजगारीका लागि आवेदन गर्नुपर्छ ।
.आफू जाने देशको हावापानी, प्राकृतिक बनावट, भाषा, संस्कार, संस्कृति, जीवनशैली, कानुन लगायतका कुराहरू राम्ररी बुझेर आफूलाई अनुकूल हुने भएमात्रै जानुपर्छ ।
. वैदेशिक रोजगारीमा जानुपूर्व आफूले गर्नुपर्ने काम सम्बन्धमा आवश्यक सिप र दक्षता हासिल गरेर मात्र जानुपर्छ ।
. आफूले गर्नुपर्ने काम, लाग्ने शुल्क, प्राप्त हुने पारिश्रमिक, काम गर्ने अवधि, अतिरिक्त समय सुविधा, बिदा, बिमा आदिको राम्ररी जानकारी लिएर र लिखित सम्झौता गरेर मात्र जानुपर्छ ।
. सरकारले मान्यता दिएको स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरी आफू निरोगी भएमा मात्र वैदेशिक रोजगारीमा जानुपर्छ ।
.वैदेशिक रोजगारीका नाममा हुने ठगी, तस्करी, बेचविखन जस्ता कार्यबाट सचेत हुँदै श्रम स्वीकृति लिएका मेनपावर कम्पनीमार्फत विदेश जानका लागि प्रक्रिया अगाडि बढाउनुपर्छ ।
.सम्भव भएमा आफू जान लागेको देशको नेपाली दूतावासमा सम्पर्क गर्ने, आवश्यक प्रक्रियाको बारेमा बुझ्ने र त्यहाँबाट पठाइएको कामदारहरूको श्रम स्वीकृति वैध भए नभएको यकिन गरेर मात्र जानुपर्छ ।

४. निश्कर्ष:

वैदेशिक रोजगारीलाई एक अत्युत्तम विकल्प मानेर बस्ने हो भने त्यो पतनमुखी सोंच हुन जान्छ। देशभित्र रोजगारीका अवसरहरू वृद्धि नगर्ने हो भने देशको दिर्घकालीन आर्थिक समृद्धि संभव छैन । त्यसको लागि सरकारले निम्न उपायहरू अवलम्बन गरी बढदो जनशक्तिको विदेश पलायनलाई रोक्न सकिन्छ ।
.विद्यार्थीहरूले आफ्नो पढाइ पूरा गरेपछि शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, उद्योग लगायतका क्षेत्रमा सजिलै काम पाउने शिक्षा प्रणाली विकास गर्नुपर्छ ।
.सरकारले देशमा कृषि, उद्योग, पर्यटन आदि क्षेत्रको विकासमा विशेष योजना र कार्यक्रम बनाई कार्यान्वयन गर्नुपर्छ ।
.अत्यधिक सम्भावना बोकेको जलस्रोत, जडीबुटी, जङ्गलको सही सदुपयोग गर्ने वैज्ञानिक नीति बनाउनुपर्छ ।
.सम्पूर्ण नेपालीहरूको घर आँगनसम्म विकासका पूर्वाधारहरू पुऱ्याई रोजगारीका अवसरहरू वृद्धि गर्नुपर्छ ।
.मानिसहरूलाई स्वरोजगार बन्न प्रेरित गर्नुका साथै उपयुक्त वातावरण सिर्जना गर्नुपर्छ ।
.विप्रेषणको रूपमा प्राप्त ठुलो धनराशिलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नुपर्छ ।
.कृषिमा आधुनिकीकरण र व्यावसायीकरणलाई प्रमुख प्राथमिकतामा राखी आवश्यक प्रबन्ध मिलाउनुपर्छ ।
.स्वदेशमै कच्चापदार्थ उत्पादन गरी गुणस्तरीय सामान उत्पादन गर्ने उद्योग कलकारखानाहरू स्थापना गर्नुपर्छ ।हस्तकला, स्थानीय प्रविधिको विकासका लागि ।सरकारले विशेष प्राथमिकता दिई आवश्यक नीति र योजना बनाई कार्यान्वयन गर्नुपर्छ ।
. गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्ने वातावरणको सिर्जना गर्नुपर्दछ ।
धन्यवाद ।।
समृद्धि भट्टराई
गण्डकी आवासीय माध्यमिक विद्यालय
कावासोती ८, नवलपरासी पूर्व