लोकप्रिय इमरान र सेना समर्थित नवाजको प्रतिस्पर्धा

८ माघ, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जेलमा छन्, चुनावी प्रतिस्पर्धाबाट पनि बाहिर छन् । अर्का पूर्वप्रधानमन्त्री नवाज शरिफ लण्डनबाट स्वदेश फर्केर चुनावी अभियानमा जुटेका छन् । र, कतिपय राजनीतिक विश्लेषकहरुको दाबी छ कि अबको प्रधानमन्त्री शरिफ हुने लगभग पक्का छ ।

यसको फैसला ८ फेब्रुअरीमा हुने आम चुनावमा १२ करोड ८५ लाख मतदाताले गर्ने छन् ।

तर पाकिस्तानमा सत्तामा पुग्न मतदाताको भोट मात्र होइन शक्तिशाली सेनाको समर्थन पनि चाहिन्छ भन्ने मान्यता छ । सेनाले शरिफलाई सत्तामा विराजमान गराउन भरमग्दुर प्रयत्न गरिरहेको देखिन्छ ।

क्रिकेटरबाट नेता बनेका ७१ वर्षीय खान  पनि सन् २०१८ मा  अनौपचारिक रूपमा संस्थापन भनेर चिनिने सेनाको मौन समर्थनमा सत्तामा आएका थिए । आलोचकहरूले अक्सर खानलाई ‘सेनाको कठपुतली’ भने ।

तर सरकारमा रहँदा सुरक्षा क्षेत्रमा प्रमुख सुधार प्रयासमा ‘हस्तक्षेप’ गर्ने प्रयास गरेपछि खानको सैनिक जनरलहरूसँग मतभेद बढ्यो, अप्रिल २०२२ मा विश्वासको मत नपाएसँगै उनी प्रधानमन्त्रीबाट हट्न पुगे ।

सेनाका उच्च अधिकारीहरुलाई लागेको थियो कि प्रधानमन्त्रीबाट हटाएपछि खानको राजनीतिक करियर समाप्त हुन्छ । तर सत्ताबाट बाहिर आएसँगै सैन्य सत्ताको उनी प्रखर आलोचक बने । निर्वाचनको माग गर्दै निरन्तर प्रदर्शन गर्दै ठूलठूला भेला र सभा गरे । भीड जुटाउने अद्भूत क्षमता देखाउँदै आएका खानले सेनाप्रति नभएर नागरिकप्रति उत्तरदायी सरकार हुनुपर्ने भाषण गर्न थाले ।

पाकिस्तानमा कुल जनसंख्याको ६४ प्रतिशत ३० वर्षमुनि उमेर समूहका छन् । युवा जमात खानतिर आकर्षित भएसँगै सामाजिक सञ्जालमा उनका भाषण लाइभ गर्न प्रतिबन्ध लगाइयो । उनीमाथि गोली प्रहार भयो । उनले आफ्नो हत्या प्रयासमा आईएसआईका वरिष्ठ अधिकारी मेजर जनरल फेसल नसीरको हात रहेको दाबी गरे ।

आरोप पुष्टि गर्न उनले टिभी प्रस्तोता अर्शद शरीफको हत्या र नेता आजम खान स्वातीलाई दिएको यातनामा नसीरको संलग्नता पुष्टि गर्न प्रयास गरे । विवाद ९ मेमा उत्कर्षमा पुग्यो, जुन दिन उनी नाटकीय रुपमा गिरफ्तार भए । दंगादेखि आतंकवादसम्मका १८० भन्दा बढी आरोप लगाएर ९/११ को जेलमा कोचियो । कथित सरकारी उपहार बेचेको आरोपमा ५ अगष्टमा भ्रष्टाचार मुद्दामा दोषी ठहर भए ।

त्यसयताका महिनाहरुमा खानको पाकिस्तान ताहरिक ए–इन्साफ (पीटीआई) का हजारौं पक्राउ परेका छन् । लामो सोधपुछपछि उनको दलका दर्जनौं नेताले राजीनामा दिए, विरोधीहरुलाई सहज हुने गरी निर्वाचन क्षेत्र पुनर्संरचना गरिएको छ । त्यसका बाबजुद इमरानको लोकप्रियता कम भएन । निर्वाचनको एक महिना पहिला भएको एक सर्वेक्षणले ५७ प्रतिशत मतदाताले खानलाई रुचाएको देखाएको थियो, जबकी नवाज शरिफलाई ५२ प्रतिशतले मात्र रुचाएका छन् ।

सर्वेक्षणको नतिजा सार्वजनिक भएसँगै खानको दलबाट क्रिकेट ब्याट चुनाव चिह्न खोसिएको छ । १३ जनवरीमा पाकिस्तानको सर्वोच्च अदालतले पीटीआईको चुनाव चिह्न ब्याट नरहने फैसला गरेसँगै अब त्यस दलका उम्मेदवारहरुको चुनाव चिह्न फरक–फरक हुनेछ । साक्षरता दर करिव ६० प्रतिशत मात्र भएको पाकिस्तानको चुनाव पीटीआईका उम्मेदवारलाई सहज हुने छैन ।

स्वतन्त्र मनोनयन गर्न खोज्दा खान समर्थकको मनोनयन पत्र सुरक्षाकर्मीबाट च्यातिएका छन् । निर्वाचन अगावै व्यापक धाँधली गरेको भन्दै पीटीआईका प्रवक्ता रावफ हसनले भनेका छन्, ‘खान समर्थित ९० प्रतिशतभन्दा बढीको मनोनयन पत्र षड्यन्त्रपूर्वक अस्वीकार गरिएको छ । प्रस्तावक र समर्थक अपहरित भएका छन् ।’

तर इमरानले हार मानेका छैनन् । चुनाव चिह्न खोसिएपछि पनि इमरानले निर्वाचनमा उत्कृष्ट नतिजा निकाल्ने दाबी गरेका छन् । उनले भनेका छन्, ‘प्लान ए र बी असफल भएपनि पार्टी पंक्तिसँग प्लान सी बाँकी छ । निर्वाचनमा हामी आश्चर्यजनक परिणाम निकाल्ने छौं ।’

उनले प्लान सीबारे बताएका छैनन् । केही विश्लेषकका अनुसार अझै पनि इमरान खानलाई सेनाको एउटा हिस्साको समर्थन छ । यद्यपि उनी धेरै मोर्चामा कमजोर छन् ।

नवाजको फर्किएको दिन

तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका नवाजको सेनासँग सम्बन्ध उतारढतावपूर्ण रह्यो । राजनीतिमा उनको प्रवेश सेनाको रुचिमा भएको थियो । ८० को दशकमा तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टोलाई चुनौती दिन पाकिस्तानका फौजी शासक मोहम्मद जिया उलहकले पञ्जाबमा नवाजलाई चुनेको थियो । पञ्जाबको मन्त्री, मुख्यमन्त्री हुँदै दुई पटक प्रधानमन्त्री भए ।

तर कारगिल युद्धसँगै सेना प्रमुख जनरल परवेज मुसरर्फसँग उनको सम्बन्ध यति खराब भयो कि नवाजलाई जेलमा हालेर मुसरर्फले सत्ता कब्जा गरे । जेलमा रहेको केही समयपछि १० वर्षसम्म देश बाहिर रहने डिल गरेर साउदी अरब गए । तर सेनासँग टसल कायम रह्यो ।

२००६ मा लण्डनमा पाकिस्तानका सबै विपक्षी दलहरुसँग मिलेर मुसर्फको तानाशाही अन्त्य गर्न चार्टर अफ डेमोक्रेसीमा हस्ताक्षर गरे । २००७ मा नागरिक सर्वोच्चताको एजेण्डा बोलेर उनी पाकिस्तान फर्किए, जतिबेला मुसर्फ निकै कमजोर भइसकेका थिए ।

२०१३ मा तेस्रो पटक प्रधानमन्त्री भएपछि नवाजले सत्ताच्यूत भएका जनलर मुसर्फमाथि मुद्दा नै चलाए । तर उनी प्रधानमन्त्री रहेकै बेला पानामा पेपर्स सार्वजनिक भयो, अनि सर्वोच्च अदालतले अयोग्य घोषित गर्दै सत्ताबाट हटायो । भ्रष्टाचार विरोधी अदालतले उनलाई १० वर्ष जेल सजाय समेत सुनाएको थियो, तर उपचारका लागि धरौटीमा छुटेर देश छाडे । लण्डनमा रहँदा पनि नवाज शरिफले पाकिस्तानी सेनामाथि निरन्तर प्रश्न गरिरहे ।

तर २०२२ मा जब सेनासँग इमरान खानको सम्बन्ध विग्रियो, फौजबारे नवाजको रवैया बदलियो । अवस्था यतिसम्म बन्यो कि केही महिनाभित्रै देश फर्किने बाटो खुल्यो र पाकिस्तान आएसँगै फौजसँग बदला नलिने संकेत गरे ।

इमरान खान नेतृत्वको दलबाट चुनाव चिह्न खोसिएको दुई दिनपछि नवाजकी छोरी मरियमले पञ्जाब प्रान्तको ओकाराबाट पाकिस्तान मुस्लिम लिगको चुनावी अभियान सुरु गरिन्, अनि त्यहाँको निर्वाचन आयोगले नवाजको उम्मेदवारी पनि निर्वाचन आयोगले स्वीकार गरिसकेको छ ।

जबकी २०१७ मा सर्वोच्च अदालतले छोराको कम्पनीबाट भएको आम्दानी नखुलाएको आरोपमा नवाजलाई चुनाव लड्न अयोग्य घोषित गरेको थियो ।

७३ वर्षका नवाजले अब लाहौर र पख्तुनवाको मनराहरा सहर गरी दुई क्षेत्रमा चुनाव लड्ने छन् । उनका भाइ एवं पूर्वप्रधानमन्त्री सहबाज शरिफले चुनावपछि आफ्ना दाइ चौथो पटक प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । विश्लेषक वजाद मसुद पनि नवाजलाई फौजले नै घर बोलाएको र प्रधानमन्त्री बनाउने आश्वासन दिएको बताउँछन् ।

‘हाम्रो राजनीतिक परिदृश्य उचाल्ने र पछार्नेमै केन्द्रत हुने भयो’, उनले भने, ‘२०१८ मा इमरान खानलाई सत्तामा पुर्‍याएको सेनाले यसपटक शरिफलाई उकाल्न भ¥याङ हालिरहेको छ ।’

पाकिस्तानका मतदाताले इमरानको राजनीतिक पतन स्वीकार गरेमा, अनि नवाज शरिफलाई सैन्य सरकारको कठपुतली ठानेमा सबभन्दा सुरक्षित हुनेछन् असिफ अलि जरदारी । सुमधुर सम्बन्ध कायम राख्न सत्ता बाहिर रहेर सहयोग गर्दा पनि सन्तोष मानेका उनी नेतृत्वमा जाने उपयुक्त समयको पर्खाइमा छन् ।

१२ करोड ८५ लाख बढी मतदातासँग मताधिकार छ । निर्वाचनमा १७५ राजनीतिक दल सहभागी छन् । ३३६ सिटको पाकिस्तानी संसदमा एकल बहुमतका लागि १६९ सांसद चाहिन्छ ।

३३६ सिटको पाकिस्तानी संसद (नेशनल एसेम्बली) मा एकल बहुमतका लागि १६९ सांसद चाहिन्छ ।

१२ करोड ८५ लाख  भन्दा बढी मतदातासँग छन् भने १७५ दल चुनावी मैदानमा छन् । यसअघि नेशनल एसेम्बली ३४२ सिटको थियो, यो पटक निर्वाचन क्षेत्र हेरफेर गरेर ३३६ कायम गरिएको छ ।

यसलाई साधारणतर्फ ३३६, महिला आरक्षणतर्फ ६० र नन मुस्लिमतर्फ १० सिट छुट्याइएको छ । साधारण सिटमध्ये पञ्जाब प्राप्तसँग सबभन्दा बढी १४१ छ । सिन्धमा ६१, नस्ट–वेस्ट फ्रन्टियर प्रोभिन्ससँग ४५, बलोचिस्तानसँग १६ र इस्लामावादसँग ३ सिट छ ।

एजेन्सीको सहयोगमा