वार्षिक झण्डै १ लाखले गर्भपतन गराउने गरेकाे तथ्य सार्वजनिक

पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ । महिनावारी भएको पहिलो दिनबाट २८ साताभित्र गर्भमा रहेको विकसित भ्रुण कुनै पनि कारणले बाहिर निस्किने प्रक्रिया नै गर्भपतन हो ।

२०५९ सालमा नेपालमा सुरक्षित गर्भपतनको सेवालाई कानुनी मान्यता दिइएको थियो । त्यसयताको तथ्यांक हेर्ने हो भने सुरक्षित गर्भपतन गराउने महिलाको संख्या केही बढेको देखिन्छ ।

सामान्यतया २ तरिकाबाट गर्भपतन गराउने गरिन्छ । औषधीको सेवन र औजार प्रयोग गरेर गर्भपतनको मुख्य तरिकाहरु हुन् ।यसरी औजारको प्रयोगबाट गरिने गर्भपतनलाई मेडिकल भाषामा मेडिकल क्याक र सर्जिकल क्याक भन्ने गरिन्छ ।

सामान्यतया ८ हप्तासम्मको गर्भ औषधीको सेवन गराई पतन गराउने गरिन्छ भने त्यसपछि १२ सातासम्मको गर्भपतन औजारको प्रयोग गरेर गरिन्छ । सामान्य अवस्थामा महिलाले सन्तान जन्माउन अनिच्छा देखाएमा १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था छ । त्यसबाहेक महिलामा गम्भीर स्वास्थ्य समस्या देखिएमा भ्रुणमा असामान्य समस्या देखिएमा र गर्भपतन नगराएमा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउन सक्ने देखिएमा डाक्टरको सिफारिसमा जुनसुकै समयमा पनि गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ ।

त्यसका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीबाट इजाजतप्राप्त स्वास्थ्य संस्थामा गर्भपतन गराउन पाइन्छ । सरकारी तथा निजी अस्पताल, सुरक्षित गर्भपतन सेवा केन्द्र आदि स्थानमा गई स्वास्थ्य परीक्षण गराएर गर्भपतन गराउन पाउने कानुनी व्यवस्था छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले उपलब्ध गराएको तथ्यांक अनुसार गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भइरहेको देखाएको छ । सोही तथ्यांकले आधार मान्ने हो भने २० वर्ष मुनिका किशोरीहरुको गर्भपतनको संख्या समेत बढिरहेको छ ।

सरकारी अस्पतालमा औषधी प्रयोग गरी गर्भपतन गराउनेको संख्यामा वृद्धिः

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९–०८० मा ९३ हजार ४ सय ६३ जनाले सुरक्षित गर्भपतन गराएको पाइयो । जसमध्ये ६६ हजार ९ सय १७ जनाले औषधीको प्रयोग गरेर गर्भपतन गराएका थिए । २६ हजार ५ सय ४६ जनाले सर्जिकल माध्यमबाट गर्भपतन गराएका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७५–०७६ मा ९५ हजार ६ सय ७३ मध्ये ६३ हजार ५ सयले औषधीको प्रयोगबाट गर्भपतन गराएका थिए । भने ३२ हजार १ सय ७३ जनाले सर्जिकल माध्यमबाट गर्भपतन गराएको तथ्यांकले देखाउँछ ।

२०७६–०७७ मा ८७ हजार ८८० जना मध्ये ६० हजार ३४७ जनाले औषधीको प्रयोग गरी गर्भपतन गराएको पाइएको छ भने २७ हजार ५३३ जनाले सर्र्जिकल गरेका थिए । २०७७–०७८ मा ७९ हजार ९५२ जनाले सुरक्षित गर्भपतन गराउँदा ५७ हजार ३५० जनाले औषधी खाएर गर्भपतन गराएको पाइएको छ भने २२ हजार ६०२ जनाले सर्जिकल माध्यबाट गर्भपतन गराएका छन् ।

२०७८–०७९ मा ९० हजार ७३३ जनाले गर्भपतन गराएकामा ६२ हजार ३५१ जनाले औषधीको प्रयोग गरी र २८ हजार ३८२ ले सर्जिकल माध्यमबाट गराएको पाइएको छ । परिवार कल्याण महाशाखाको ५ वर्षको तथ्यांक हेर्ने हो भने औषधीको प्रयोगबाट गर्भपतन गराउने महिलाको संख्यामा उल्लेखनीय वृद्धि भएको देखिन्छ ।

प्रदेश अनुसार गर्भपतन गर्ने महिलाको अवस्थाः

प्रदेश अनुसार गर्भपतन गर्ने महिलाको अवस्था हेर्ने हो भने २०७५–०७६ मा कोशीमा गर्भपतन गर्ने महिलाको संख्या १८ हजार ९२१ मधेशमा ९ हजार ५१६, बागमतीमा १८ हजार ५०५, गण्डकीमा १४ हजार ४७, लुम्बिनीमा १७ हजार ३३१ कर्णालीमा ६ हजार १२, सुदुरपश्चिममा ११ हजार ३५९ रहेको थियो ।

त्यस्तै ०७६–०७७ मा कोशिमा १५ हजार ९५७, मधेशमा ७ हजार १३४, बागमतीमा १८ हजार ५३६, गण्डकीमा १२ हजार ६९१, लुम्बिनीमा १८ हजार ७८५, कर्णालीमा ५ हजार २३५, सुदुरपश्चिममा ९ हजार ५४२ जनाले सुरक्षित गर्भपतन गराएका थिए ।

यसैगरि ०७७–०७८ मा कोशिमा १५ हजार ४०४, मधेशमा ६ हजार १५६, बागमतीमा १४ हजार ६२३, गण्डकीमा ११ हजार ३०४, लुम्बिनीमा १७ हजार४९७, कर्णालीमा ४ हजार , सुदुरपश्चिममा १० हजार ८० जनाले गर्भपतन गराएका थिए ।

त्यस्तै ०७८–७९ मा कोशिमा १५ हजार ९११, मधेशमा ७ हजार ५१३, बागमतीमा १८ हजार ४६३, गण्डकीमा १२ हजार ४५०, लुम्बिनीमा १८ हजार४१५, कर्णालीमा ४ हजार ८६०, सुदुरपश्चिममा १३ हजार १२१ ले गर्भपतन गराएका थिए ।

त्यस्तै ०७८–०७९ कोशिमा १६ हजार २२९, मधेशमा ८ हजार २०३, बागमतिमा १९ हजार २२५, गण्डकीमा ११ हजार ३०४, लुम्बिनीमा १८ हजार १०७, कर्णालीमा ५ हजार ४१०, सुदुपश्चिममा १३ हजार४९३ रहेका छन् ।

बागमती प्रदेशमा गर्भपतन गराउने महिलाको संख्या बढ्दोः

५ वर्षको तथ्यांकलाई हेर्ने हो भने बागमती प्रदेशमा गर्भपतन गराउने महिलाको संख्या अरु प्रदेशमा भन्दा बढ्दो अवस्थामा रहेको देखिन्छ । मधेश, लुम्बिनी, कोशी र सुदुरपश्चिम प्रदेशमा बढ्दो अवस्थामा देखिए पनि गण्डकी र कर्णाली प्रदेशमा भने घट्दो अवस्थामा रहेको तथ्यांकले देखाउँछ ।

२० वर्षभन्दा मुनिका गर्भपतन गराउने महिलाको अवस्थाः

तथ्यांक अनुसार आर्थिक वर्ष २०७८–०७९ मा गर्भपतन गराउने महिलाको कुल संख्या मध्ये ६ हजार ६ सय ४५ जना २० वर्ष भन्दा मुनिका रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार कोशी प्रदेशको कुल जनसंख्या ४९ लाख ६१ हजार ४१२ रहँदा गर्भपतन गराएकामध्ये ९२२ जना २० वर्ष भन्दा कम उमेरका रहेका छन् । मधेशको कुल जनसंख्या ६१ लाख १४ हजार ६०० मध्ये ५३१ जनाले २० वर्ष भन्दा कम उमेरमै गर्भपतन गराएका छन् । बागमतीको कुल जनसंख्या ६१ लाख १६ हजार ८६६ मध्ये १४०७ जना २० वर्ष भन्दा कम उमेरका रहेका छन् । गण्डकीको कुल जनसंख्या २४ लाख ६६ हजार ४२७ मध्ये ७९८ जना २० वर्ष भन्दा कम उमेरका रहेका थिए । लुम्बिनीको कुल जनसंख्या ५१ लाख २२ हजार ७८ मध्ये १७७० जना २० भन्दा कम उमेरका रहेका छन् । कर्णालीको कुल जनसंख्या १६ लाख ८८ हजार ४१२ मध्ये ५६९ जना २० वर्ष भन्दा कम उमेरका रहेका छन् । सुदुरपश्चिमको कुल जनसंख्या २६ लाख ९४ हजार ७८३ मध्ये ६४८ जना २० वर्ष भन्दा कम उमेरका रहेका छन् । २० वर्ष भन्दा कम उमेरमा गर्भपतन गराउने महिलाहरुको सख्ंयाको आधारमा कर्णाली प्रदेश पहिलो नम्बरमा परेको छ । त्यसपछि दोस्रो नम्बरमा सुदुरपश्चिम, तेस्रोमा गण्डकी, चौथोमा कोशि, पाँचौमा लुम्बिनी, छैठौमा मधेश र सातौमा बागमती प्रदेश परेको छ ।

नेपालको कानुनले २० वर्ष पुगेपछि मात्रै विवाह गर्न पाइन्छ भने पनि समाजमा अहिले पनि छिट्टै विवाह गर्ने परम्परा रहेको छ । त्यसबाहेक विवाहपूर्वकै यौन सम्पर्कबाट गर्भ रहन गएमा पनि गर्भपतन गराउने गरेको पाइएको छ । तर विवाहपूर्व नै गर्भ रहेमा अधिकांश गर्भपतन निजी स्वास्थ्य संस्थाबाट गराइने भएकाले सही तथ्यांकसमेत उपलब्ध हुन सक्दैन । त्यसबाहेक पनि मेडिकलबाट ब्ल्याकमा गर्भपतन गराउने औषधी किनेर खाने र गर्भपतन गराउने क्रम पनि बढिरहेको कारण यकिन तथ्यांक पाउन भने मुस्किल नै छ ।

प्रसुती रोग विशेषज्ञ तथा परोपकार प्रसुती गृहका पूर्व निर्देशक जागेश्वर गौतमले सरकारी निकायमा गर्भपतन गराउनेको मात्र संख्या रहेको बताउँदै धेरैले निजी संघसंस्थाहरुबाट समेत गर्भपतन गराउने गरेको र त्यसको रेकर्ड नभएको बताए ।

‘हाम्रो तथ्यांक भनेको सरकारी निकायमा गर्भपतन गराउनेहरुको मात्र रहेको बताउँछन् । प्राइभेट सस्ंथाहरुमा पनि धेरैले गर्भपतन गराउने गर्छन् । तर तिनीहरुको तथ्यांकमा त्यति राम्रोसँग रेकर्ड हुन सकेको छैन ।’ गौतमले  भने ।

त्यस्तै कम उमेरमा गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको बताउँदै उनले नयाँ पुस्तामा परिवार नियोजनको साधन प्रयोग गर्नका लागि अनिच्छा नदेखिएको समेत जिकिर गरे ।

‘कम उमेरमा गर्भपतन गराउने महिलाको सख्ंयामा वृद्धि भएको देखिएको सरकारी तथ्यांकले देखाएको छ । नयाँ पुस्तामा परिवार नियोजनका साधन प्रयोग गर्ने अनिच्छा भएको भने होइन ।’ उनले भने

त्यस्तै समयको विकासक्रमसँगै लिंग पहिचान गरेर गर्भपतन गराउनेको संख्या समेत कम भएको उनले बताए ।
‘पहिलेको तुलनामा अहिले लिंग पहिचान गराएर गर्भपतन गराउनेको सख्ंया धेरै नै कम भएर गएको छ । २५ वर्ष पहिले म भएको ठाउँमा पनि मानिसहरुले छोरा/छोरी के हो भनेर सोध्ने गरेका थिए । तर अहिले मानिसहरुलाई छोरा भए पनि छोरी भए पनि एउटा बच्चा भए पुग्छ भन्ने प्रतिक्रिया आउने गरेको छ । तर कुनैकुनै समाजमा अहिले पनि त्यस्तो प्रवृत्ति भने नभएको होइन ।’ उनले भने ।